© २०२३
काठमाडौँ ।
नौदलीय गठबन्धनमा रहेको जनता समाजवादी पार्टीको संसदीय दलका नेता रामसहाय प्रसाद यादवले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका छन्। नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय पुगेर यादवले शनिबार उम्मेदवारी दिएका हुन्।
साझा उम्मेदवार चयन गर्न भनेर आज बिहान बालुवाटारमा आम जनता पार्टीका अध्यक्ष प्रभु साहसमेत १० दलका शीर्ष नेताको बैठक बसेको थियो। तर बैठकमा एउटै उम्मेदवार चयन गर्ने विषयमा सहमति हुन नसकेपछि जसपा र जनमत पार्टीले आआफ्ना उम्मेदवारलाई उपराष्ट्रपतिमा उठाएका हुन्।
जनमत पार्टीबाट केन्द्रीय सदस्य ममता झाले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दिएकी छन्।
जसपाबाट महिलाले पनि उम्मेदवारी दिने बताइएको छ। अहिले तीनै जनाले उम्मेदवार दिने र भोलि पुनः छलफल गरेर एउटाको मात्र कायम गर्ने गठबन्धनका नेताहरूको भनाइ छ।
उपराष्ट्रपतिमा उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। आज बिहान ९ बजेदेखि खुला दर्ताको समय दिउँसो २ बजेसम्मलाई तोकिएको छ।
दर्ता भएका उम्मेदवारको सूची प्रकाशन आजै दिउँसो २ बजेदेखि ३ बजेसम्म, उम्मेदवारको विरोधमा उजुरी दिने दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म रहने गरी निर्वाचन कार्यक्रम छ।
यस्तै मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्न यही फागुन २८ गते १२ बजे, उम्मेदवारको नामावली प्रकाशन गर्ने सोही दिन १२ बजेदेखि १ बजेसम्म, उम्मेदवारको नाम फिर्ता लिने २८ गते दिउँसो १ बजेदेखि ४ बजेसम्म र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने सोही दिन ४ बजेदेखि ५ बजेसम्म गर्ने गरी कार्यक्रम तय भएको छ।
राष्ट्रपतिमा भने नौदलीय गठबन्धनबाट रामचन्द्र पौडेले चयन भइसकेका छन्। उनले आगामी सोमबार शपथ खाई पद सम्हाल्नेछन्। राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल भने भोलि फागुन २८ गते सकिँदै छ।