© २०२३
बुटवल, १७ फागुन ।
नेकपा एमालेले सुरु गरेको ‘मिसन ग्रासरुट अभियान’ अन्तर्गत लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका स्थानीय तहमा केन्द्रीय नेताहरु पुगेका छन् । एमालेले उक्त अभियान संचालनका लागि पोलिटब्यूरो, केन्द्रीय कमिटी, प्रदेश कमिटी जिल्ला कमिटी, नगर कमिटीलगायत मातहतका कमिटीलाई अभियानमा परिचालन गरेको छ । रुपन्देहीमा मात्रै पोलिटब्यूरो र केन्द्रीय कमिटी सातजना नेता १६ वटा पालिकामा खटाइएको छ । उनीहरुले १६ वटै स्थानीय तहमा एकैसाथ कार्यक्रम अघि बढाएका छन् ।
एमाले जिल्ला कमिटी रुपन्देहीका जिल्लामा खटिएका नेताहरुले सदस्यता नवीकरण, कार्यकर्ता प्रशिक्षण, जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध सुधार गर्नुका साथै सुझाव संकलन गरिरहेका छन् ।
पार्टीको पछिल्लो नीति जानकारी गराउनुका साथै स्थानीय तहमा विजयी भएका जनप्रतिनिधिलाई पार्टीको नीति अनुसार कार्य गर्न निर्देशन दिने योजना रहेको पार्टीका जिल्ला अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिए ।
एमालेले अभियान सुरु गर्नुअघि जिल्लामा रहेका पार्टीका केन्द्रीय सदस्य, केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटी र जनवर्गीय संगठनका जिल्ला अध्यक्षहरुलाई अभिमुखीकरण गरेको थियो ।
ग्रासरुट अभियान अन्तर्गत अहिले सवै जिल्ला कमिटीका भेला, बैठक र प्रशिक्षण सञ्चालन भैरहेको अध्यक्ष केसीले बताए । कार्यकर्तालाई प्रशिक्षण दिंदै वडा र टोलसम्म पार्टी संगठन विस्तार गर्न ग्रामीण क्षेत्रमा पार्टीपंक्ति परिचालित गरिएको एमाले केन्द्रीय सदस्य एवं रुपन्देहीका इन्चार्ज भूमिश्वर ढकालले बताए ।
“पार्टीको दशौं महाधिवेशनले पारित गरेका दस्तावेज र निर्णयहरु तल्लो तहका कार्यकर्तामाझ पु¥याउंदै दक्षिणपन्थी बिसर्जनवाद र संगठनात्मक अराजकताको अन्त्य गर्न पनि ग्रासरुट अभियान प्रभावकारी हुने छ”–उनले भने ।
केन्द्रीय नेताहरू विभिन्न बहानामा सहरमा, राजधानीमा केन्द्रित हुने प्रवृत्तिका कारण पार्टीको सांगठनिक काम उठ्न नसकेको भन्दै एमालेले यो अभियान चलाएको हो । एमाले केन्द्रीय प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङ नेताहरू सुविधाभोगी भएको कार्यकर्ता र जनताको जनगुनासो पनि बताउँदै भन्छन्, “त्यसैले सबै केन्द्रीय सदस्यलाई काममा लगाएर सांगठनिक क्षमता परीक्षण गर्न खोजिएको हो ।”
विभिन्न बहानाबाजीमा राजधानीमै बस्ने केन्द्रीय सदस्यहरूको कामको वास्तविक परीक्षा अब सुरु भएको उनको भनाइ छ । “कार्यादेशसहित काममा खटाइएपछि पार्टी कामप्रति को कति जिम्मेवार छ, कसले मिसन पूरा गर्छ कि गर्दैन भन्ने वास्तविक परीक्षा अब सुरु भएको छ”, गुरुङले भने ।
स्थानीय तहका जनप्रतिनिधिहरु र नेताहरुबीच समन्वयको अभाव र असमझदारी बढेकोले यसलाई तत्काल समाधान गर्ने गरी अभियान सञ्चालन गरिएको पनि ढकालले बताए । उनले पार्टी नेता कार्यकर्तालाई बैचारिक खुराकको कमी भएको, शिक्षित र सक्षम युवा पुस्तालाई पार्टीमा जोड्न र नेतृत्वमा स्थापित गर्न नसकिएकाले यसतर्फ पार्टी नेतृत्व गम्भीर बन्नुपर्ने पनि औंल्याए ।
मिसन ग्रासरुटका लागि देवदहमा खटिएकी एमाले केन्द्रीय सदस्य सरिता भुसालले यो अभियानमा सिंगो पार्टी परिचालन भएको बताइन् । “हामीले यसका लागि दुई महिने योजना, कार्यक्रम र कार्यतालिका निर्माण गरेर गाउँ, टोलहरुमा अभियान चलाइरहेका छौ”–उनले भनिन् ।
लुम्बिनी प्रदेशमा अभिमुखीकरणको जिम्मा उपाध्यक्ष रामबहादुर थापाले पाएका छन् । अनुगमन संयोजक सचिव छविलाल विश्वकर्मा र सदस्यहरूमा स्थायी कमिटी सदस्यहरू भीम आचार्य, राजन भट्टराई र शिवमाया तुम्बाहाङ्फे छन् ।