© २०२३
पाल्पा फागुन- साहित्यकार पुस्कर अथक रेग्मीका दुुई कृति काठमाडौंमा विमोचन भएका छन् । रेग्मीद्वारा लिखित शीत बालकथा ‘अर्ती’ र षडऋतु बालकाव्य संग्रह ‘अक्षमाला’ को एक भव्य समारोहका बिच विमोचन गरिएको हो ।
शीत काव्य समाज बागमती प्रदेश र षडऋतु काव्य समाज नेपालको आयोजनामा अथकका दुुई कृति विमोचन भएको छ । कृतिको टोखा नगरपालिका –११ का निवर्तमान वडा अध्यक्ष उत्तम अधिकारीले विमोचन गरेका थिए । कृतिको विमोचन गर्दै प्रमुख अतिथि समेत रहेका अधिकारीले कृतिहरू बालबालिकाका लागि उपयोगी र सहयोगी शैक्षिक सामग्रीको रूपमा रहेको बताए । दुवै कृतिमाथि समीक्षा गर्दै पण्डित÷पुराण वाचक÷ साहित्यकार÷ समीक्षक नारायणचार्य कौशिकले शीत कृति अर्तीभित्र चारवटा शीत कथा रहेको र षडऋतु कृति अक्षमालाभित्र २५ वटा बाल षड्रितुहरू रहेकामा दुवै कृति बाल पाठ्यसामग्रीको रूपमा रहेको बताए । उनले गद्य र पद्य दुवै शैलीले कृति पृथक रूपमा रहेको र शैक्षिक, सामाजिक र आध्यात्मिक महत्व समेत कृतिमा उजागर भएको बताए ।
लेखक रेग्मीले उपन्यास कविता, कथा, जीवनी, गजल, अनुसन्धान लगायतका एक दर्जन बढी कृतिहरु प्रकाशित गरिसकेका छन्, भने दर्जानौ साहित्यिक सम्मानबाट सम्मानित भएका छन् । तानसेन बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख समेत रहेका साहित्यकार रेग्मी जिल्लाका विभिन्न समाजिक संघ संस्थाहरुमा पनि क्रियाशील छन् । कृति विमोचपछि पछि रेग्मीले अगामी दिनमा पनि पाठकहरुको रुची र आवश्यकता अनुसार कृतिहरु प्रकाशित गर्दै जाने बताएका छन् ।
शीत काव्य समाज बागमती प्रदेशले रेग्मीलाई सम्मान समेत गरेको छ ।
साहित्यको चारवटै विधामा कृति प्रकाशित गरी कविता साहित्यमा लघुतम उपविधा शीतको परिकल्पना सहित शीत बालकथा प्रकाशन गरेका उनलाई प्रदेशले सम्मान गरेको हो । शीत काव्यको परिकल्पना भएपछि छिटो भन्दा छिटो यसको व्यापिकरण भएकोमा आफू निकै नै गौरवान्वित भएको भन्दै साहित्यकार रेग्मीले पाल्पाको साहित्य र ऐतिहासिक योगदानको समेत प्रसंग उठान गरे ।