© २०२३
बुटवल, ७ फागुन ।
भित्री बुटवलको भविष्यसँग जोडिएको बेल्वास–बेथरी नमुना सडक जति सुन्दर छ, त्यसको सुन्दरतालाई कुरुप बनाउँदै छन् यस क्षेत्रका स्थानीयबासीले । सडक छेउँमा निर्माण गरिएको फूटफाथमा स्थानीयले तरकारी खेती, भैँसीपालन, निर्माणका सामग्री राख्ने ठाउँको रुपमा दुरुपयोग गरेका छन् । सडकको सुन्दरतालाई यस क्षेत्रका स्थानीयले बनाएका संरचनाले लज्जित बनाएको छ ।
सडकमै परालका थुप्रा छन् । माटाका भाडा बनाउने थलेको रुपमा समेत यस सडकलाई दुरुपयोग गरिएको छ । कपडाले घेरेर बनाएका अस्थायी संरचनामा लसुन, धनियाँ उम्रेका छन् । नजिक पुगेर हेर्दा लाग्छ यहाँ व्यावसायिक तरकारी खेती हुँदैछ । करोडौँ खर्चेर बनाएको सडकको संरक्षणमा यस क्षेत्रका नागरिकले चासो देखाएका छैनन् ।
बेल्वास–बेथरी सडक क्षेत्रमा बुटवल उपमहानगरपालिका, शुद्धोधन गाउँपालिका, सियारी गाउँपालिका, मायाँदेवी गाउँपालिका पर्छन् । शुद्धोधन, सियारी र मायाँदेवी गाउँपालिका क्षेत्रका सडक छेउँका स्थानीयले सडकलाई बढी कुरुप बनाएका छन् । सम्वन्धित स्थानीय तहले सडक मिचेर जथाभावी बनाएका संरचना हटाउन र कुरुप बनेको सडकको संरक्षणमा चासो देखाएका छैनन् ।
सडक निर्माणको सुरुवातमा यो सडक संघीय सरकार अन्तर्गत सडक डिभिजन बुटवलको क्षेत्राधिकारभित्र थियो । तर, अहिले यसको निर्माण लुम्बिनी प्रदेश सरकार अन्तर्गत सडक पूर्वाधार विकास कार्यालय रुपन्देहीले गरिरहेको छ । यो सडक अहिले निर्माणको अन्तिम चरणमा छ ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनी दर्शन गर्न जानेहरुका लागि यसलाई महत्वपूर्ण सडकको रुपमा लिइएको छ । बेल्वास झोलुंगेपुलदेखि बेथरीसम्मको सडक २२ किलोमिटर दुरीको छ । दायाँबायाँ दुई–दुई लेनको सडक र बीचमा नहर सहितको नमुना सडक निर्माणको योजना अनुसार बेल्वास–बेथरी सडक निर्माण गरिएको हो । नेपालकै नमुना सडकको रुपमा समेत यसलाई हेरिएको छ ।
सडक निर्माणका लागि हालसम्म करिब १ अर्ब २० करोढ बढी बजेट खर्च भइसकेको सडक पूर्वाधार विकास कार्यालय रुपन्देहीका सिनियर डिभिजनल इन्जिनियर ललित न्यौपानेले जानकारी दिए । ‘बनेको सडकलाई संरक्षण गर्नु स्थानीय सरकार र स्थानीयबासीको पनि दायित्व हो’, उनले भने, ‘अरबौं बजेट लगानी भएको छ । सधैभरी कार्यालयले यसको रेखदेख नगर्न सक्छ, उपभोक्ताले पनि आफ्नै विकास भनेर मायाँ गर्नुपर्छ ।’ चालु आर्थिक वर्षभित्र सडक निर्माण सम्पन्न गर्ने कार्यालयको योजना रहेको उनले सुनाए ।