© २०२३
काठमाडौ, ७ फागुन ।
आज फागुन ७ अर्थात ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाईदैछ । २००७ सालको प्रजातान्त्रिक आन्दोलनको फलस्वरुप १०४ वर्षे लामो निरङ्कुश जहानीया राणाशासन अन्त्य भएको स्मृतिमा हरेक वर्ष फागुन ७ लाई प्रजातन्त्र दिवसको रुपमा मनाउने गरिएको छ ।
प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले वि.सं. १९९७ माघमा बलिदानी दिएका थिए । प्रजा परिषद् नामक राजनीतिक दल भूमिगत रुपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरूलाई मृत्युदण्ड दिइएको थियो ।
वि.सं. २००० पछि स्थापना भएको नेपाल प्रजातन्त्र काँग्रेस र नेपाल राष्ट्रिय काँग्रेसको २००६ सालमा एकीकरणपछि नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा सुरु भएको आन्दोलनको राप र तापका कारण जहाँनियाँ राणा शासक जनतासमक्ष घुँडा टेक्न बाध्य भई २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको घोषणा गरिएकोे थियो ।
त्यसलगत्तै तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भयो । फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले केन्द्रमा प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेषरूपमा यो दिवस मनाउँने गरिएको हो ।