Butwal Today

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सङ्घीयताको मर्मअनुसार सञ्चालन हुने

१२ मंसिर २०८३, शनिबार
अ
अ+
अ-

कर्णाली।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ सङ्घीयताको मर्मअनुसार सञ्चालन हुने बताएका छन्।

सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश रङ्गशालामा राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले प्राविधिक तथा भौतिक संरचनाका कारण पौडी र टेनिस खेल लुम्बिनी प्रदेशको बाँके र बर्दियामा सञ्चालन हुने जानकारी दिए। अन्य २२ विधाका खेल सुर्खेतमै सञ्चालन हुने उनले बताए।

कर्णाली प्रदेश रङ्गशाला हुँदाहुँदै पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेल जुम्लामा सञ्चालन गर्न लागिएको विषयमा पत्रकारले राखेको जिज्ञासामा मन्त्री पोखरेलले सुर्खेतलाई मात्र कर्णालीका रूपमा बुझ्न नहुने बताए।

उनले सङ्घीयताको मर्मअनुसार कर्णालीवासीको खुसीका लागि प्रतियोगिता काठमाडौंको सट्टा कर्णालीमा आयोजना गरिएको र जुम्लावासीको खुसीका लागि पुरुष फुटबलको सेमिफाइनल तथा फाइनल खेल जुम्लामा सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिए। महिला फुटबलको सेमिफाइनल र फाइनल खेल भने प्रदेश रङ्गशालामै सञ्चालन हुने उनले बताए।

मन्त्री पोखरेलले खेलकुदको कुम्भमेलाका रूपमा रहेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन कर्णालीवासीसहित सबै सरोकारवालालाई सहयोग गर्न आग्रह गरे। मङ्सिर १६ गते हुने प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने जानकारीसमेत उनले दिए।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले प्रतियोगिता कर्णालीसहित सिङ्गो राष्ट्रको प्रतिष्ठासँग जोडिएकाले भव्य रूपमा सम्पन्न गर्न कर्णालीवासीलाई आग्रह गरिन्। उनले अपाङ्गता भएका व्यक्ति, सुत्केरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई प्रतियोगिता अवलोकन गर्न आवश्यक सहयोग गर्नसमेत अनुरोध गरिन्।

पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहत्ताले प्रदेश रङ्गशालालगायत कर्णालीका विभिन्न स्थानमा आठ विधाका खेल अनौपचारिक रूपमा सञ्चालन भइरहेको जानकारी दिए। उनले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ को सम्पूर्ण तयारी पूरा भएको बताए।

प्रतियोगिताको तयारीमा भएको थप प्रगतिबारे मङ्सिर १५ गते जानकारी गराइने सदस्यसचिव मेहत्ताले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?