© 2026
बुटवल ।
चिकित्सा तथा प्राविधिक शिक्षाका विभिन्न विधामा छात्रवृत्तिमा नाम निकाल्न सफल मणिमुकुन्द माध्यमिक विद्यालय तथा कलेजका विद्यार्थी सम्मानित भएका छन् ।
विद्यालयमा अध्ययनरत कक्षा १२ का विद्यार्थीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गर्न आयोजना गरेको कार्यक्रममा छात्रवृत्तिमा सफलता हासिल गर्ने पूर्वविद्यार्थीलाई सम्मान गरिएको हो ।
एमबीबीएसतर्फ अंगद यादवले १५५औँ, सन्दीप यादवले १७६औँ, अजयकुमार यादवले २२१औँ, युवराज चौधरीले २६६औँ र धीरेन्द्रकुमार प्रजापतिले ४१५औँ स्थान हासिल गरेका छन् ।
त्यस्तै, बीएस्सी एमएलटीतर्फ सन्दीप यादवले आठौँ र अजयकुमार यादवले छैटौँ स्थान प्राप्त गरेका छन् । बीडीएसतर्फ सन्दीप यादव र शिवगोपाल बढईले समान ४३औँ स्थान हासिल गरेका छन् ।
अन्य विधातर्फ आकाश यादवले बी अप्टोमेट्रीमा ६१औँ, राजकपूर रैदासले बीएस्सी एमएलटीमा १९औँ र रामरतन यादवले बी फार्ममा २५७औँ स्थान प्राप्त गरेका छन् । वर्षा आचार्यले बीएस्सी नर्सिङमा ४२२औँ र बी फार्ममा २८५औँ, मणिका खत्री क्षेत्रीले बीएस्सी नर्सिङमा ५६९औँ, सन्ध्या न्यौपानेले बीपीएचमा २५२औँ र बिबिका बस्नेतले बीपीएचमा २९०औँ स्थान हासिल गरेका छन् ।
कार्यक्रमको उद्घाटन राष्ट्रिय परीक्षा बोर्ड बुटवलका अधिकृत कमल अर्यालले गरेका थिए । उनले शिक्षा क्षेत्रमा बुटवलले आफूलाई अब्बल बनाउँदै लगेको र मणिमुकुन्दमा अध्ययन गरेका विद्यार्थीले प्राप्त गरेको सफलताले त्यसलाई पुष्टि गरेको बताए ।
विद्यार्थी सफल हुन अनुशासन, लगनशीलता र मेहनत आवश्यक पर्ने उल्लेख गर्दै उनले आफ्नो व्यवहार र आचरणमा सुधार गर्नुपर्नेमा जोड दिए । ‘नखाने चिज नखाऔँ, नबोल्ने कुरा नबोलौँ र नगर्ने काम नगरौँ । यति गर्न सके सफल हुन सकिन्छ,’ उनले भने ।
विद्यालयका प्राचार्य टुकबहादुर क्षेत्रीले विभिन्न क्षेत्रमा छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीको नतिजाले कलेजको शैक्षिक गुणस्तर पुष्टि गरेको बताए । शैक्षिक वातावरण, विद्यार्थीको मेहनत र शिक्षकको प्रयासका कारण विद्यार्थीको आकर्षण बढ्दै गएको उनको भनाइ थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गमप्रसाद रेश्मी मगरले शिक्षक, विद्यार्थी र अभिभावकबीचको सहकार्यले शैक्षिक सफलता प्राप्त भइरहेको बताए । आपसी समझदारी र सहकार्यकै कारण विद्यालय तथा कलेजले शैक्षिक क्षेत्रमा उपलब्धि हासिल गर्दै गएको उनले उल्लेख गरे ।
विज्ञान संकाय संयोजक लक्ष्मण गैरेले सफल विद्यार्थीलाई सम्मान गर्नुको उद्देश्य अन्य विद्यार्थीलाई अध्ययनमा प्रोत्साहन र प्रेरणा दिनु रहेको बताए । सफल विद्यार्थीको मेहनत र उपलब्धिले नयाँ पुस्ताका विद्यार्थीलाई पनि लक्ष्य प्राप्तिका लागि प्रेरित गर्ने उनको भनाइ थियो ।
कार्यक्रममा कक्षा १२ का विद्यार्थीले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै शैक्षिक यात्रामा अनुशासन, मेहनत र निरन्तरता कायम राख्न आग्रह गरेका थिए ।