Butwal Today

देशका १३ जिल्लाबाट लागुऔषधसहित ३१ जना पक्राउ

१२ मंसिर २०८३, शनिबार
अ
अ+
अ-

काठमाडौँ ।

लागुऔषध ओसारपसार तथा कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले देशका विभिन्न जिल्लाबाट ३१ जनालाई पक्राउ गरेको छ । शुक्रबार र शनिबार सञ्चालन गरिएको नियमित गस्ती तथा विशेष निगरानीका क्रममा उनीहरूलाई लागुऔषधसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ, रौतहट, सुनसरी, पर्सा, रोल्पा, बाँके, मोरङ, दाङ, डोटी, कञ्चनपुर, रुकुम पश्चिम, सङ्खुवासभा र झापाका विभिन्न स्थानबाट उनीहरू पक्राउ परेका हुन् ।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट गाँजा १६ किलो २०० ग्राम, चरेसजस्तो देखिने पदार्थ सात किलो ८५ ग्राम, ब्राउनसुगर तथा खैरो हेरोइनजस्तो देखिने पदार्थ, विभिन्न प्रकारका नियन्त्रित लागुऔषधका ट्याब्लेट र नगद बरामद गरेको छ ।

काठमाडौँबाट मात्रै दुई जना पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका–५ गुर्जुधाराबाट ट्रामाडोल एक हजार ४८९ ट्याब्लेट र नगद ६२ हजार रुपैयाँसहित बाराका ३३ वर्षीय प्रेमबहादुर आले पक्राउ परेका छन् । त्यस्तै, महानगरपालिका–२६ कपुरधाराबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ १२ ग्राम ११० मिलिग्रामसहित सिन्धुपाल्चोकका ३२ वर्षीय अजय थापा पक्राउ परेका छन् ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट १६ किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुम्बईका ५३ वर्षीय सइद अहमद सबिर अहमद, २६ वर्षीय मोहम्मद कादिर मोहम्मद हनिफ शेख र ४८ वर्षीय राहत फारुक शेख छन् । थाइल्यान्डबाट बङ्गलादेश हुँदै नेपाल आएका पहिलो दुई जनालाई गाँजासहित नियन्त्रणमा लिइएको हो । भारत निकासी गर्ने उद्देश्यले दिल्लीबाट एयर इन्डियामार्फत नेपाल आएका राहतलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ ।

सुनसरीका विभिन्न स्थानबाट पनि उल्लेख्य सङ्ख्यामा लागुऔषधसहित व्यक्ति पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका–११ सिमरबना चोकबाट गाँजा करिब २०० ग्राम, ट्रामोल २७८ ट्याब्लेट, स्पास्पेन २५८ ट्याब्लेट र नगद आठ हजार ४०० रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । त्यस्तै, रामधुनीको शिवचोकबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ ७६० मिलिग्रामसहित दुई जना, इनरुवाबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ दुई ग्राम ३५० मिलिग्रामसहित एक जना पक्राउ परेका छन् ।

बराहक्षेत्र नगरपालिका–६ ठाकुरबारीबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ दुई ग्राम ३७० मिलिग्रामसहित चार जना तथा सोही नगरपालिकाको सुनसरीपुलबाट तीन ग्राम ६५० मिलिग्राम पदार्थ र डिजिटल तराजुसहित एक जना पक्राउ परेका छन् ।

अन्य जिल्लामा पनि प्रहरीले लागुऔषधसहित व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ । रौतहटको चन्द्रपुरबाट टापेन्टाडोल ८९ ट्याब्लेटसहित एक जना, पर्साको वीरगञ्जबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ चार ग्राम ४८० मिलिग्रामसहित एक जना तथा रोल्पाबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ १८० मिलिग्रामसहित एक जना पक्राउ परेका छन् ।

बाँकेको कोहलपुरबाट सात ग्राम ९०० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित एक जना, मोरङको लेटाङ र विराटनगरबाट क्रमशः चार ग्राम ६२ मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थ र ९०० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन् ।

दाङको तुलसीपुरबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ २९० मिलिग्रामसहित दुई जना पक्राउ परेका छन् । डोटीको जोरायलबाट चरेसजस्तो देखिने पदार्थ सात किलो ८५ ग्रामसहित बझाङका २८ वर्षीय वीरेन्द्र जप्रेल र ४८ वर्षीय ओमजङ्गबहादुर कडायत पक्राउ परेका छन् । उनीहरू मोटरसाइकलमा सवार रहेको प्रहरीले जनाएको छ ।

यसैगरी, कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ तीन ग्राम ५६० मिलिग्रामसहित एक जना, रुकुम पश्चिमको मुसिकोटबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ ४३० मिलिग्राम र नगद २५ हजार रुपैयाँसहित एक जना तथा सङ्खुवासभाको खाँदबारीबाट दुई ग्राम ३५० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् ।

झापाको मेचीनगरस्थित एक होटलबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ तीन ग्राम ७२० मिलिग्रामसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगरका २३ वर्षीय सचिन राई तथा दमकका ३० वर्षीया मिना राई र २६ वर्षीया प्रतिमा राई रहेका छन् । होटलमा तलासी गर्दा उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेका सबैमाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?