Butwal Today

१२औँ नेपालगञ्ज म्याराथनको उपाधि केन्याली धावक मुरिउकीलाई

१२ मंसिर २०८३, शनिबार
अ
अ+
अ-
नेपालगञ्ज ।
१२औँ धारा नेपालगञ्ज म्याराथनको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले जितेका छन् । शनिबार नेपालगञ्जमा सम्पन्न प्रतियोगितामा मुरिउकीले निर्धारित ४२ किलोमिटर दूरी २ घण्टा २० मिनेट २५ सेकेन्डमा पूरा गर्दै उपाधि आफ्नो नाममा पारेका हुन् ।
उपाधिसँगै उनले नगद दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरे । प्रतियोगितामा नेपाली धावक कुलबहादुर बस्नेत दोस्रो भए । उनले २ घण्टा २२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पार गर्दै एक लाख रुपैयाँ पुरस्कार हात पारे। त्यस्तै, २ घण्टा २४ मिनेट २९ सेकेन्डमा दौड पूरा गरेका कृष्णबहादुर परियार तेस्रो भए। उनले ५० हजार रुपैयाँ प्राप्त गरे ।
यसैगरी, हाफ म्याराथनको महिलातर्फ राज्यलक्ष्मी रावतले उपाधि जितेकी छन् । उनले २१ किलोमिटर दूरी १ घण्टा २७ मिनेट ३६ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हासिल गरेकी हुन् । उपाधिसँगै उनले ५५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।
हाफ म्याराथनमा सम्झना लिम्बु दोस्रो र सरस्वती भट्टराई तेस्रो भए । लिम्बुले १ घण्टा २८ मिनेट ३० सेकेन्ड र भट्टराईले १ घण्टा ३० मिनेट ३७ सेकेन्डमा निर्धारित दूरी पूरा गरेका थिए। उनीहरूले क्रमशः ३० हजार र १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताका विजेताहरूलाई मिस नेपाल दीपमाला ढकाल, नेपालगञ्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरी र दुगड ग्रुपका प्रबन्ध निर्देशक प्रदीप छाजेडलगायतले पुरस्कार तथा सम्मान प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?