Butwal Today

कतारमा गुञ्जियो मेलिनाको स्वर, सांगीतिक माहोलमा झुमे नेपाली

१२ मंसिर २०८३, शनिबार
अ
अ+
अ-

कतार।

साँझको ६ बज्नै लाग्दा कार्यक्रमस्थल दर्शकले खचाखच भरिएको थियो। सुनुवार समुदायको परम्परागत पहिरन र वेशभूषाले सजिएको सभाहलमा नेपालको पूर्वी भूभागको मौलिक कला र संस्कृतिको झल्को देखिन्थ्यो। चर्चित गायिका मेलिना राईको प्रस्तुतिको प्रतीक्षामा रहेका दर्शक उनी स्टेजमा उक्लिनेबित्तिकै उत्साहित बने। चर्को हुटिङ र तालीसहित स्वागत गरेका दर्शकले उनको प्रस्तुतिमा भरपूर साथ दिएका थिए।

मेलिना राईले ‘तिमीले बाटो फेरेउ अरे’ बोलको गीतबाट आफ्नो सांगीतिक प्रस्तुति सुरु गरिन्। कतारमा दोस्रोपटक सांगीतिक प्रस्तुति दिन पाउँदा खुसी व्यक्त गर्दै उनले दर्शक तथा आयोजकप्रति आभार प्रकट गरिन्।

प्रस्तुतिका क्रममा उनले ‘कम्मरमाथि पटुकी’, ‘माछीले खाने खोलीको लेउ’, ‘झ्याम पारम’, ‘मैयाँ राम्री हो कि रेशम’, ‘मै प्यारो हो कि रेशम’, ‘कुटुमा कुटु’, ‘लाली ओठैमा’, ‘मायालुको माया मिठो’, ‘तिमीसँग पिरिम नलाउने’, ‘तिमीले खाएको कसम’ र ‘माया बिरानी’ लगायतका दर्जनौँ लोकप्रिय गीत सुनाइन्। उनका चर्चित गीतमा दर्शकहरू पनि उनीसँगै छमछमी नाच्दै रमाएका थिए। करिब एक घण्टासम्म चलेको उनको सांगीतिक प्रस्तुतिले कार्यक्रमस्थललाई संगीतमय बनाएको थियो।

सुनुवार सेवा समाज शाखा कतारले आफ्नो १७औँ स्थापना दिवसको अवसर पारेर बृहत् सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको हो। कार्यक्रमको उद्घाटन समाजका अध्यक्ष गंगाबहादुर सुनुवार र नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष राकेश श्रेष्ठले संयुक्त रूपमा गरेका थिए।

किराती समुदायको मौलिक संस्कृति, पहिचान र परम्परालाई झल्काउने कार्यक्रममा विशिष्ट व्यक्तित्वहरूलाई सेतो फेटा लगाएर विशेष सम्मान गरिएको थियो। कार्यक्रमको उद्देश्यबारे संस्थाका संस्थापक तथा संरक्षक पुरुषोत्तम सुनुवारले प्रकाश पारेका थिए।

कार्यक्रममा द्वितीय उपाध्यक्ष दीपा सुनुवारले स्वागत मन्तव्य राखेकी थिइन् भने कलाकारहरू सीमा मगर, सिर्जना तामाङ, सोनिका तामाङ र कञ्चन शेर्पाले सामूहिक स्वागत नृत्य प्रस्तुत गरेका थिए। औपचारिक कार्यक्रमलाई शुभकामना मन्तव्यमा सीमित राख्दै आयोजना गरिएको बृहत् सांस्कृतिक कार्यक्रममा कतारमा रहेका दुई दर्जनभन्दा बढी स्थानीय कलाकारले गायन, नृत्य तथा सामूहिक नृत्य प्रस्तुत गरेका थिए। कलाकारहरूको विविध सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक र आकर्षक बनाएको थियो।

नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष राकेश श्रेष्ठले संस्थाले स्थापनाकालदेखि नै निरन्तर सक्रिय रहेर आफ्नो पहिचान र संस्कृति संरक्षणका क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरे। उनले यस ऐतिहासिक तथा भव्य सांस्कृतिक कार्यक्रमले संस्थाको इतिहासमा अर्को महत्त्वपूर्ण उपलब्धि थपेको बताउँदै आयोजक टोलीलाई धन्यवाद व्यक्त गरे।

कार्यक्रमको समापन गर्दै सुनुवार सेवा समाज शाखा कतारका अध्यक्ष गंगाबहादुर सुनुवारले १७औँ वार्षिकोत्सव सफल बनाउन साथ र सहयोग पुर्‍याउने सबैप्रति आभार व्यक्त गरे। उनले आगामी दिनमा पनि सबैको साथ, सहयोग र सद्भावको अपेक्षा व्यक्त गरे।

कार्यक्रममा गायिका मेलिना राईलाई तमु गुरुङ समाज कतारले स्टेजमै मायाको चिनोसहित सम्मान गरेको थियो। कार्यक्रमको सहजीकरण बिनिता सुनुवार, कमल विक्रम सुनुवार र एकराज राईले संयुक्त रूपमा गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?