© 2026
कपिलवस्तु ।
कपिलवस्तु नगरपालिका वडा नम्बर ८ दोहनीमा आयोजित एक दिने निशुल्क आँखा शिविरमा ३ सय ३२ जनाको आँखा परिक्षण गरिएको छ । दोहनी सामुदायिक अध्ययन केन्द्र कपिलवस्तु नगरपालिका वडा नम्बर ८ दोहनीको आयोजना तथा नेपाल नेत्र ज्योती संघ तौलिहवा आँखा अस्पतालको प्राबिधिक सहयोगमा सम्पन्न आँखा शिविरमा सो संख्याका बिरामीको आँखा परिक्षण गरिएको हो । सो क्रममा ६१ जनामा मोतिया बिन्दुको समस्या देखिएको थियो भने बिभिन्न आँखाका समस्या देखिएका २ सय ३२ जना बिरामीलाई निशुल्क औषधी उपलब्ध गराईएको थियो । अस्पतालका दृष्टि बिशेषज्ञ प्रमोद यादवको नेतृत्वको ३ सदस्यिय स्वास्थ्यकर्मीहरुको टोलीले बिरामीको आँखा परिक्षण गरेको थियो । शिविरमा आएका बिरामीहरुमा मोतियाबिन्दु, दृष्टीदोष, आखाँमा चोटपटक तथा रातोपना, आँशु बग्ने समस्या देखिएको बिशेषज्ञ यादवले जानकारी दिए । शिविरमा मोतियाबिन्दु फेला परेका बिरामीको निशुल्क शल्यक्रिया गरिने अस्पतालका अध्यक्ष मनोज कुमार श्रीवास्तवले जानकारी दिए । जनचेतनाको अभावमा मोतियाबिन्दु सहितका आँखाका समस्या भोग्दै आएका नागरिकलाई लक्षित गरि बिभिन्न सामाजिक संस्थाको सहकार्यमा शिविर आयोजना गरिदै आएको श्रीवास्तवले जानकारी दिए ।
वडाबासीमा आँखा रोगको उपचारमा सहजताका लागी निशुल्क शिविरको आयोजना गरिएको दोहनी सामुदायिक अध्ययन केन्द्र कपिलवस्तु नगरपालिका वडा नम्बर ८ दोहनीका अध्यक्ष देवेन्द्र कुमार पाण्डेयले बताए । कपिलवस्तु नगरपालिकाले शिक्षा, स्वास्थ्य र सामाजिक बिकासका कार्यक्रमलाई प्राथमिकता दिदै आएको जनाउदै दृष्टिबिहिनता मूक्त नगर बनाउन कार्यक्रमले सहयाग पुर्याएको कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले बताए ।