© 2026
बुटवल ।
पुस्तौँदेखि जग्गा भोगचलन गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाण नपाएका रूपन्देहीको मायादेवी गाउँपालिका–७ का १४८ जनाले ५६ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाएका छन् ।
२०२७ सालमा नापीका क्रममा गाउँब्लकका रूपमा कायम भएका जग्गाको बिहीबार गाउँपालिका र नापी कार्यालय रूपन्देहीको समन्वयमा लालपुर्जा वितरण गरिएको हो । लामो समयदेखि जग्गाको स्वामित्व प्रमाणित गर्न नपाउँदा विभिन्न प्रशासनिक तथा आर्थिक समस्या भोग्दै आएका स्थानीय लालपुर्जा पाएपछि खुसी भएका छन् ।
गाउँपालिकाका अमिन हृदयदेशकुमार बनियाका अनुसार वडा नम्बर ७ का विभिन्न गाउँब्लकका कित्ताको लालपुर्जा वितरण गरिएको हो ।
लालपुर्जा वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष ध्रुवनारायण चौधरीले वितरण प्रक्रियामा केही ढिलाइ भए पनि विभिन्न वडामा लालपुर्जा वितरणको काम अघि बढेको बताए । गाउँपालिकाका अन्य वडामा पनि प्रक्रिया अगाडि बढिरहेको उल्लेख गर्दै उनले वर्षौंदेखि जग्गा जोतभोग गरे पनि कानुनी स्वामित्व नहुँदा नागरिकले भोग्नुपरेका समस्या क्रमशः समाधान हुँदै गएको बताए ।
उपाध्यक्ष नर्वदा देवी उपाध्यायले सामूहिक प्रयास र सहकार्यबाट लालपुर्जा वितरण सम्भव भएको बताउँदै प्रमाणपुर्जा प्राप्त गर्ने नागरिकलाई बधाई दिइन् ।
नापी कार्यालय रूपन्देहीका प्रमुख नापी अधिकृत मणिप्रसाद रेग्मीले गाउँपालिकाभित्रका सबै गाउँब्लकको काम सम्पन्न गर्ने लक्ष्यसहित स्थानीय सरकारसँग समन्वय भइरहेको बताए । गाउँब्लकका रूपमा रहेका जग्गामा नागरिकले लामो समयदेखि भोगचलन गरे पनि कानुनी स्वामित्व नहुँदा विभिन्न अधिकारबाट वञ्चित हुनुपरेको उनको भनाइ छ ।
१४८ जनालाई लालपुर्जा वितरण गरिएको सङ्ख्या तुलनात्मक रूपमा कम देखिए पनि प्राप्त गर्ने नागरिकका लागि यो ठूलो उपलब्धि भएको उल्लेख गर्दै उनले बाँकी गाउँब्लकको काम सम्पन्न गर्न गाउँपालिकाको सहयोग आवश्यक रहेको बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालले करिब ५६ वर्षपछि नागरिकले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेको बताए । लालपुर्जा केवल रातो कागजको टुक्रा नभई नागरिकको जग्गामाथिको कानुनी स्वामित्व सुनिश्चित गर्ने महत्त्वपूर्ण प्रमाण भएको उल्लेख गर्दै उनले यसले सम्पत्तिसम्बन्धी अधिकार र सुरक्षालाई बलियो बनाउने बताए ।
मायादेवी गाउँपालिकामा भू–उपयोग वर्गीकरणको काम सम्पन्न भइसकेको र जग्गा कित्ताकाटसमेत सुरु भएको उनले जानकारी दिए ।
गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का अध्यक्ष शैलेन्द्रकुमार पाण्डेयले लामो समयपछि लालपुर्जा पाउँदा स्थानीयमा खुसी छाएको बताए । वडाका बाँकी गाउँमा पनि लालपुर्जा वितरणका लागि प्रक्रिया तत्काल अघि बढाउनुपर्नेमा जोड दिँदै उनले कर्मचारीको निरन्तर प्रयासले यो उपलब्धि हासिल भएको बताए ।
नापी कार्यालयका नापी अधिकृत सूर्यबहादुर कार्कीले पुस्तौँदेखि जग्गाको कानुनी स्वामित्व र पहिचानको प्रतीक्षामा रहेका नागरिकका लागि लालपुर्जा प्राप्त हुनु ऐतिहासिक उपलब्धि भएको बताए । यसले नागरिकको सम्पत्तिमाथिको अधिकार सुनिश्चित गर्नुका साथै आर्थिक तथा सामाजिक हैसियत बलियो बनाउन सहयोग पुग्ने उनको भनाइ छ ।
लालपुर्जा प्राप्त गरेका स्थानीय राकेशकुमार पाण्डेयले वर्षौंदेखिको प्रयासपछि जग्गाको स्वामित्व प्रमाणित गर्ने कागजात पाउँदा खुसी लागेको बताए । लालपुर्जा नहुँदा विभिन्न कठिनाइ भोग्नुपरेको स्मरण गर्दै उनले भने, ‘लालपुर्जा पाउँदा हामी एकदमै खुसी भएका छौँ, खुसीको कुनै सीमा नै छैन ।’