© 2026
सल्यान ।
सल्यानमा युवा मानव अधिकार रक्षकको आवाज बलियो बनाउन रणनीति तयार हुँदैछ । मानव अधिकार र सामाजिक न्यायका सवालमा आवाज उठाउँदा युवाहरूले भोग्दै आएका सामाजिक दबाब, दुव्र्यवहार र सुरक्षा चुनौती सम्बोधन गर्न सञ्चार तथा पैरवी रणनीति निर्माण गरिने भएको हो । यसका लागि युवा मानव अधिकार रक्षकहरूले तथ्यमा आधारित सूचना प्रवाह, सञ्चार माध्यमसँगको सहकार्य र योजनाबद्ध पैरवीलाई प्राथमिकता दिने भएका छन् । रोयम नेपालद्वारा सञ्चालित एकता परियोजना अन्तर्गत शुक्रबार सल्यानको खलंगामा आयोजित परामर्श कार्यशालामा युवा मानव अधिकार रक्षकहरूको आवाज प्रभावकारी बनाउने उपायबारे छलफल गरिएको हो ।
कार्यशालामा मानव अधिकार उल्लंघन, विभेद, सामाजिक अन्याय र सुशासनका सवाल उठाउँदा युवाहरूले भोग्नुपरेका सामाजिक दबाब, गलत सूचना, डिजिटल असुरक्षा र मनोसामाजिक तनाव लगायत चुनौतीबारे छलफल भएको थियो । जिल्ला समन्वय समिति सल्यानका उपप्रमुख असवीर बुढाथोकीले युवाहरूले उठाएका सवाललाई स्थानीय सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताउँदै उनीहरूको अभियानमा आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाए ।
सिद्धकुमाख गाउँपालिकाका उपाध्यक्ष रामबहादुर बस्नेतले युवाहरूको क्षमता र सम्भावनालाई सही दिशामा परिचालन गर्न स्थानीय सरकार, सामाजिक संस्था र समुदायबीच सहकार्य आवश्यक रहेको बताए । शारदा नगरपालिका, ४ का वडाध्यक्ष किशोर हमालले तथ्य र प्रमाणका आधारमा नागरिकका सवाल सम्बन्धित निकायसम्म पु¥याउन युवाहरू सक्रिय हुनुपर्नेमा जोड दिए । कार्यशालामा सहभागी सरोकारवालाहरूले मानवअधिकार संरक्षण राज्य, नागरिक समाज, सञ्चार माध्यम र समुदायको साझा जिम्मेवारी भएको उल्लेख गर्दै युवा मानव अधिकार रक्षकको सुरक्षा र उनीहरूले उठाएका सवालको सम्बोधनमा सम्बन्धित निकाय जिम्मेवार हुनुपर्ने धारणा राखेका थिए ।
रोयम नेपालका कर्णाली प्रदेश संयोजक सन्तोष विकले सञ्चार तथा पैरवी रणनीति निर्माण र कार्यान्वयनका विषयमा सहजीकरण गरेका थिए ।