© 2026
एउटा सानो कोठा । कोठाभरि पुस्तकका चाङ । भित्तामा नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाका ठूला तस्बिर र बीपीका विचार झल्काउने सामग्री । एउटा कुनामा बीपीको मूर्ति । विवाह गरेर नयाँ घरमा प्रवेश गरेकी बुहारीलाई त्यो दृश्य कुनै सामान्य घरको जस्तो लागेन । यति धेरै पुस्तक कसले पढ्छ होला भन्ने जिज्ञासा मनमा उब्जियो । तर समय बित्दै जाँदा उनले थाहा पाइन्, आफू कुनै सामान्य व्यक्तिको घरमा होइन, अध्ययन, विचार र दर्शनलाई जीवनको अभिन्न हिस्सा बनाएका एक विद्वान्को घरमा भित्रिएकी रहिछन् । ती व्यक्ति थिए–नेपाली कांग्रेसका नेता स्व. हरिप्रसाद पोखरेल ।
उनको भौतिक शरीर हामीमाझ नरहेको १३ वर्ष बितिसकेको छ । तर उनले जीवनभर आर्जन गरेको ज्ञान, विचार, राजनीतिक निष्ठा, सामाजिक सम्बन्ध र पारिवारिक संस्कार अझै आफन्त, समकालीन र शुभेच्छुकका सम्झनामा उत्तिकै ताजा छन् । यही जीवनयात्रा र व्यक्तित्वलाई भावी पुस्तासम्म पु¥याउने उद्देश्यले प्रकाशित ‘स्व. हरिप्रसाद पोखरेल स्मृतिग्रन्थ–२०८३’ ले उनको जीवनका अनेक पाटा सार्वजनिक गरेको छ ।
सामान्य पारिवारिक अवस्थाबाट उठेर शिक्षा, राजनीति, दर्शन, समाजसेवा र लेखनका क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका पोखरेलको जीवन एउटा व्यक्तिको व्यक्तिगत संघर्षको कथा मात्र होइन, सिद्धान्त र निष्ठामा अडिग रहँदा राजनीतिक तथा सामाजिक जीवनमा भोग्नुपर्ने चुनौतीको दस्तावेज पनि हो । करिब २४० पृष्ठको स्मृतिग्रन्थमा समकालीन, आफन्त, शुभेच्छुक तथा विभिन्न क्षेत्रका ४८ व्यक्तिका लेख र संस्मरण समेटिएका छन् । यसले पोखरेलको व्यक्तित्वलाई पारिवारिक स्मृतिबाट बाहिर ल्याएर सार्वजनिक अध्ययनको विषय बनाउने प्रयास गरेको छ ।
कठिन परिस्थितिबाट बनेको जीवनयात्रा
१९९७ साल भदौ ८ गते गुल्मीको पराल्मीमा पिता श्रीधर पोखरेल र माता रमा पोखरेलका सन्तानका रूपमा जन्मिएका हरिप्रसादको बाल्यकाल सहज थिएन । सानै उमेरमा मातृत्वको वात्सल्यबाट वञ्चित हुनुपरेको र पारिवारिक जिम्मेवारीका कारण अध्ययनलाई निरन्तरता दिन कठिन भएको परिस्थितिले उनको जीवनलाई सुरुदेखि नै संघर्षपूर्ण बनायो ।
तर कठिनाइले उनको ज्ञानप्रतिको रुचि र अध्ययनशील स्वभावलाई कमजोर बनाउन सकेन । उनले बनारसबाट शास्त्रीसम्मको अध्ययन गरे । तत्कालीन सामाजिक तथा शैक्षिक परिवेशमा संस्कृत र शास्त्रीय शिक्षाको अध्ययनले उनको बौद्धिक विकासमा महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ । धार्मिक ग्रन्थ, दर्शन, राजनीति र समाजका विषयमा उनको गहिरो रुचि थियो ।
अध्ययनपछि सरकारी सेवामा प्रवेश गरेका पोखरेलले केही समय सरकारी जिम्मेवारी निर्वाह गरे । त्यसपछि राजनीतिक जीवनमा प्रवेश गरी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भए । सरकारी सेवाको अनुभव, शास्त्रीय अध्ययन र सामाजिक परिवेशको नजिकबाट गरिएको अवलोकनले उनको राजनीतिक सोचलाई परिपक्व बनाउन सहयोग गरेको देखिन्छ ।
पारिवारिक आर्थिक अवस्था सुदृढ थिएन । दुई परिवारको जिम्मेवारीसमेत निर्वाह गर्नुपर्ने अवस्था थियो । त्यस्तो परिस्थितिमा पहाडबाट खाली हात तराई झरेर जीवनलाई नयाँ ढङ्गले अघि बढाउनु उनका लागि सहज थिएन । तर साहस, मेहनत, दूरदृष्टि र व्यवहारकुशलताका आधारमा उनले विस्तारै आर्थिक अवस्था सुधार गरे । परिवारको जिम्मेवारी पूरा गर्दै राजनीतिक र सामाजिक गतिविधिमा समेत सक्रिय रहनु उनको जीवनको अर्को महत्त्वपूर्ण पक्ष थियो ।
छोरी सीता खनालले स्मृतिग्रन्थमा बुवाको जीवनलाई सम्झँदै अभिभावकको त्याग र जिम्मेवारीलाई गहिरो रूपमा व्याख्या गरेकी छन् । उनका अनुसार सन्तानलाई जन्म दिएर हुर्काउनु मात्र अभिभावकको दायित्व होइन, उचित संस्कार, शिक्षा र सही मार्गमा डो¥याउनु पनि उत्तिकै महत्वपूर्ण हुन्छ । बुवाले आफ्नो परिवारलाई सुखी र व्यवस्थित बनाउने जिम्मेवारीसँगै सन्तानलाई संस्कार र विचारको जग दिनुभएको उनको स्मरण छ ।
स्वभावमा खरो भए पनि पोखरेलभित्र करुणा, दया, सहयोग र सेवाको भावना प्रबल रहेको सीताको भनाइ छ । पारिवारिक सुखका लागि निरन्तर चिन्तित रहने उनी छोरी शारदा अमेरिका पुगेपछि पटकपटक त्यहाँ बोलाउँदासमेत जान मानेनन् । यहाँ रहेका परिवार र सन्तानलाई छोडेर जान नसक्ने उनको जवाफले पारिवारिक सम्बन्धप्रतिको आत्मीयता र जिम्मेवारीलाई प्रस्ट पार्ने सीताको स्मरण छ ।

पदभन्दा सिद्धान्तलाई महत्व दिने राजनीति
पोखरेलको जीवनको सबैभन्दा महत्वपूर्ण पक्ष उनको राजनीतिक निष्ठा थियो । नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहे पनि उनी पद, प्रतिष्ठा र व्यक्तिगत लाभका लागि आफ्नो विचारसँग सम्झौता गर्ने स्वभावका थिएनन् । राजनीतिक जीवनमा सिद्धान्त र व्यवहारबीच तालमेल हुनुपर्ने उनको मान्यता थियो ।
राजनीतिमा अवसर प्राप्त गर्न चाकडीचाप्लुसी गर्ने, गुटगत स्वार्थका आधारमा अघि बढ्ने र व्यक्तिगत लाभका लागि विचार परिवर्तन गर्ने प्रवृत्ति उनलाई स्वीकार्य थिएन । त्यसैले पार्टीभित्रको तत्कालीन राजनीतिक परिवेशसँग उनको सधैँ सहज सम्बन्ध रहन सकेन । विचारमा स्पष्टता र व्यवहारमा स्वाभिमान राख्ने उनको स्वभावका कारण कतिपय अवस्थामा पार्टीबाट उपेक्षा र अवहेलना सहनुपरेको पारिवारिक संस्मरणमा उल्लेख छ ।
तर राजनीतिक असहजताले उनलाई आफ्नो मान्यताबाट विचलित बनाउन सकेन । उनी निरन्तर अध्ययन, लेखन र वैचारिक चिन्तनमा सक्रिय रहे । राजनीतिलाई व्यक्तिगत पद प्राप्त गर्ने माध्यमभन्दा समाज परिवर्तनको साधनका रूपमा हेर्ने उनको दृष्टिकोण थियो ।
उनी नेपाली कांग्रेसका नेता भए पनि कांग्रेसभित्रका सबै गतिविधि र प्रवृत्तिसँग सहमत हुनैपर्छ भन्ने मान्यता राख्दैनथे । पार्टीको सिद्धान्त र व्यवहारमा अन्तर देखिएमा त्यसबारे प्रश्न उठाउने उनको स्वभाव थियो । यही कारण उनलाई विद्रोही नेताका रूपमा पनि स्मरण गरिएको छ ।
उनलाई २०५० सालदेखि चिनेका हरि आचार्यले पोखरेललाई आध्यात्मिक ज्ञान भएका, कम बोल्ने तर ठोस कुरा गर्ने व्यक्तिका रूपमा स्मरण गरेका छन् । भैरहवामा बस्दा ठुटेपिपलस्थित उनको घरमा बेलाबखत आउजाउ भइरहने आचार्यले पोखरेलको व्यक्तित्वमा गहिरो अध्ययन र वैचारिक स्पष्टता पाएको बताएका छन् ।
आचार्यका अनुसार पोखरेल चाकडीचाप्लुसी मन पराउँदैनथे । तत्कालीन राजनीतिक परिवेशले उनलाई उपयुक्त स्थान दिन नसकेको भए पनि उनी नेपाली कांग्रेसका इमानदार र निष्ठावान् नेता थिए । आचार्यले पोखरेलको विचार र चिन्तनलाई नेपाली कांग्रेसका नेता प्रदीप गिरीसँग तुलनायोग्य मानेका छन् । उनका विचार, दर्शन र शालीन बोलीलाई आत्मसात् गर्दै अघि बढ्नु नै उनीप्रतिको वास्तविक सम्मान हुने आचार्यको भनाइ छ ।
पोखरेलको राजनीतिक जीवनलाई प्रजातन्त्र प्राप्तिका लागि संघर्ष गरेको इतिहासका रूपमा हेर्नेहरू पनि छन् । शरद शर्माले उनलाई जिउँदो सहिदका रूपमा सम्मान गरिने व्यक्तित्व भन्दै प्रजातन्त्रका लागि उनले गरेको संघर्ष र योगदानलाई स्मरण गरेका छन् । उनको जीवनमा देखिएको साहस र निडरताले प्रजातान्त्रिक आन्दोलनप्रतिको प्रतिबद्धता झल्काउने शर्माको भनाइ छ ।
समाजको पूर्ण परिवर्तन र समतामूलक समाज निर्माणको पक्षमा उभिएका पोखरेलको व्यक्तित्वलाई उनका समकालीन त्रैलोक्य प्रताप सेनले असाधारण रूपमा चित्रण गरेका छन् । उनका अनुसार सामान्य र सरल मानवीय स्वरूपभित्र असाधारण विचार र चेतना बोकेका व्यक्ति थिए पोखरेल । नेपाली कांग्रेसका नेता भए पनि उनको चिन्तन समाजको व्यापक रूपान्तरणसँग जोडिएको थियो । सेनले पोखरेलको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको जीवन र योगदानलाई स्मरण गर्ने परिवारको प्रयासको प्रशंसा गरेका छन् ।
बीपी विचार, विज्ञान र चार्वाक दर्शनको प्रभाव
पोखरेलको व्यक्तित्व बुझ्न उनको राजनीतिक जीवन मात्र पर्याप्त हुँदैन । उनको अध्ययनशीलता, दार्शनिक चिन्तन र जीवनप्रतिको दृष्टिकोणले पनि उनलाई फरक पहिचान दिएको छ । घरभरि पुस्तक, बीपीका तस्बिर र मूर्ति राख्नु उनको राजनीतिक आस्था र वैचारिक लगावको प्रतीक मात्र थिएन, जीवनभर अध्ययन र विचारलाई महत्व दिएको प्रमाण पनि थियो ।
उनको जीवनदर्शनको विश्लेषण गर्ने क्रममा स्मृतिग्रन्थमा समावेश नारायण भट्टराईको लेख विशेष महत्वपूर्ण देखिन्छ । भट्टराईले पोखरेललाई प्रजातान्त्रिक संघर्षका सुदृढ सारथि, निष्ठापूर्ण राजनीतिका सशक्त इतिहास, सत्यवादी, मानवतावादी र बीपी विचारका प्रखर संवाहकका रूपमा चित्रण गरेका छन् ।
भट्टराईका अनुसार पोखरेलको चिन्तन परम्परागत धार्मिक मान्यतामा मात्र सीमित थिएन। उनी मानिसको वास्तविक जीवन, आवश्यकता र अस्तित्वलाई केन्द्रमा राखेर संसारलाई बुझ्न चाहन्थे । यही क्रममा उनको जीवनदर्शनलाई चार्वाक अर्थात् लोकायत दर्शनसँग जोडेर व्याख्या गरिएको छ ।
स्मृतिग्रन्थको पृष्ठ ५० मा पोखरेललाई आधुनिक बृहस्पतिका रूपमा उल्लेख गरिएको छ । प्राचीन भारतीय दर्शनमा चार्वाक सिद्धान्तसँग जोडिने बृहस्पतिको प्रसंगलाई आधार बनाएर भट्टराईले पोखरेलको वैज्ञानिक र यथार्थवादी चिन्तनको चर्चा गरेका छन् ।
चार्वाक दर्शनले प्रत्यक्ष अनुभव र भौतिक संसारलाई महत्व दिन्छ । पारलौकिक कल्पनाभन्दा यही लोकको जीवन र मानिसका वास्तविक आवश्यकतामा केन्द्रित हुने यसको मूल भावनासँग पोखरेलको चिन्तन नजिक रहेको भट्टराईको विश्लेषण छ ।
पोखरेलको दृष्टिमा मानिसले जन्मेको संसारलाई नै सुन्दर बनाउनुपर्छ । मानिसले सुरक्षित, सम्मानित र सुखी जीवन बिताउन पाउनुपर्छ । समाजलाई उत्तरदायी, समृद्ध र सुसंस्कृत बनाउन सके यही पृथ्वीलाई सुन्दरतम बनाउन सकिन्छ भन्ने उनको सोच थियो ।
यस्ता विचारका कारण कतिपयले उनलाई नास्तिकका रूपमा व्याख्या गर्ने गरेको प्रसंग पनि भट्टराईले उठाएका छन् । तर पोखरेलको वैज्ञानिक चिन्तन र यथार्थवादी जीवनदर्शनलाई नजिकबाट बुझ्ने संस्कृतका विद्वान् पण्डित दिव्यदेव ज्ञवालीले उनलाई त्यसरी व्याख्या नगरेको प्रसंगले उनको विचारलाई सतही रूपमा बुझ्न नहुने संकेत गर्छ ।
पोखरेलको अध्ययन र चिन्तनको अर्को महत्वपूर्ण पक्ष बीपी कोइरालाको मानवतावादी राजनीतिक दर्शनसँगको सम्बन्ध हो । बीपीको राजनीतिक चिन्तन मानिसको स्वतन्त्रता, सम्मान र मानवीय आवश्यकतामा केन्द्रित थियो । पोखरेलले पनि यही जगतमा मानिसको जीवनलाई सुन्दर र अर्थपूर्ण बनाउने विचारलाई महत्व दिएको भट्टराईको विश्लेषण छ ।
यसरी हेर्दा पोखरेलको राजनीतिक आस्था र दार्शनिक चिन्तन एकअर्काका परिपूरक देखिन्छन् । राजनीति समाज परिवर्तनका लागि हुनुपर्छ र त्यसको केन्द्रमा मानिस हुनुपर्छ भन्ने उनको मान्यताले उनको सम्पूर्ण जीवनलाई निर्देशित गरेको बुझ्न सकिन्छ ।

अध्ययन र लेखनलाई जीवनको कर्मक्षेत्र बनाउने व्यक्ति
पोखरेलको व्यक्तित्वको अर्को उल्लेखनीय पक्ष उनको अध्ययनशीलता थियो । उनी राजनीतिमा सक्रिय भए पनि अध्ययन र लेखनबाट टाढा भएनन् । विभिन्न पत्रपत्रिकामा उनका दर्जनौँ लेख प्रकाशित भएका थिए । सामाजिक, राजनीतिक, धार्मिक र दार्शनिक विषयमा रुचि राख्ने उनी निरन्तर पढ्ने र आफ्नो विचारलाई लेखनमार्फत सार्वजनिक गर्ने गर्थे ।
परिवारका सदस्यका अनुसार राजनीतिक जीवनमा उपेक्षा र अवहेलना सहनुपरेका बेला पनि उनले अध्ययन र लेखनलाई छोडेनन् । जीवनको उत्तरार्धसम्म पुस्तक र विचारसँगको उनको सम्बन्ध कायम रह्यो। उनको घरमा रहेका पुस्तकहरू केवल व्यक्तिगत संग्रह थिएनन्, ती उनको जीवनभरको बौद्धिक यात्राका साक्षी पनि थिए ।
पोखरेल विद्यालय तथा दर्जनौँ संघसंस्थासँग आबद्ध थिए । सामाजिक गतिविधिमा सहभागिता, संस्थागत सम्बन्ध र लेखनका माध्यमबाट उनले आफ्नो विचारलाई समाजसँग जोड्ने प्रयास गरेका थिए । उनको जीवनलाई केवल राजनीतिक नेताको परिचयमा सीमित गर्नु उनको बौद्धिक पक्षलाई ओझेलमा पार्नु हुनेछ ।
यही पक्षलाई स्मृतिग्रन्थले सार्वजनिक गर्ने प्रयास गरेको छ । ग्रन्थमा समावेश विभिन्न व्यक्तिका लेखहरूले पोखरेललाई फरकफरक कोणबाट चिनाएका छन् । कसैले उनलाई निष्ठावान् राजनीतिकर्मीका रूपमा सम्झेका छन्, कसैले दर्शन र आध्यात्मिक ज्ञानका धनीका रूपमा, त कसैले परिवारप्रति समर्पित अभिभावकका रूपमा । यी सबै संस्मरणले उनको व्यक्तित्वको बहुआयामिकता उजागर गर्छन् ।
परिवारका सन्तानमा बाँचेको संस्कार र विचार
मानिसको व्यक्तित्व उसको परिवार र सन्तानको व्यवहारमा पनि प्रतिबिम्बित हुन्छ । पोखरेलको परिवारका सदस्यहरूले व्यक्त गरेका संस्मरणमा यही पक्ष स्पष्ट देखिन्छ ।
उनकी छोरी सीता खनालले बुवाको जीवन र संघर्षलाई आफ्नै बाल्यकालदेखि नजिकबाट अनुभूत गरेकी थिइन् । बुवाका समकक्षी साथीहरू र नजिकका व्यक्तिहरूका अनुभव समयमै संकलन गर्न नसकिए ती महत्वपूर्ण इतिहास हराउने चिन्ताले उनलाई स्मृतिग्रन्थ प्रकाशनको काममा लाग्न प्रेरित ग¥यो ।
बुवाको निधन भएको धेरै वर्ष बितिसकेको र कतिपय समकालीन व्यक्तिको निधन भइसकेको अवस्थामा बाँकी रहेका अनुभव र सम्झनालाई समेट्नु चुनौतीपूर्ण थियो । कोही विदेशमा थिए भने कोहीसँग सम्पर्क स्थापित गर्न कठिन थियो । तर पाँचै जना सन्तानले आआफ्नो क्षेत्रबाट सम्पर्क र सहयोग जुटाएर पुस्तक प्रकाशनलाई पूर्णता दिएको सीताको भनाइ छ ।
उनले आफ्ना बुवाको व्यक्तित्वलाई करुणा, सहयोग, सेवाभाव, सिर्जनशील सोच र निष्ठापूर्ण राजनीतिक यात्राको संयोजनका रूपमा चित्रण गरेकी छन् । परिवारको सुख र सन्तानको भविष्यप्रति चिन्तित रहने बुवा राजनीतिक तथा सामाजिक जिम्मेवारीबाट पनि कहिल्यै विमुख नभएको उनको स्मरण छ ।
नाति प्रान्जल पोखरेलले हजुरबुवाको सम्झना र विरासतलाई भावी पुस्तासम्म पु¥याउने प्रयासप्रति गर्व व्यक्त गरेका छन् । हाल क्यानडामा रहेका कारण उनी लोकार्पण कार्यक्रममा उपस्थित हुन सकेनन् । तर हजारौँ किलोमिटर टाढा रहेर पनि परिवारको यो विशेष अवसरसँग भावनात्मक रूपमा जोडिएको उनको भनाइ छ ।
उनका अनुसार मानिसको वास्तविक परिचय उसले जीवनमा के कमायो भन्ने कुराले मात्र निर्धारण गर्दैन, उसले अरूको मनमा कस्तो स्थान बनायो भन्ने कुराले पनि निर्धारण गर्छ । भौतिक रूपमा मानिस टाढिँदै गए पनि उसले छोडेका सम्झना, विचार र संस्कार कहिल्यै पुराना हुँदैनन् । हजुरबुवासँग धेरै समय बिताउन नपाए पनि उहाँको नाम, इतिहास र विरासतसँग जोडिन पाउनु आफ्नो गर्वको विषय भएको उनले उल्लेख गरेका छन् ।
नातिनी बुहारी आकृति भुषाल पोखरेलको संस्मरणले पोखरेलको घरभित्रको वातावरण र पारिवारिक व्यक्तित्वलाई अर्को कोणबाट प्रस्तुत गर्छ । विवाह गरेर घरमा प्रवेश गर्दा पुस्तकको ठूलो संग्रह, बीपीका विचार झल्काउने तस्बिर र मूर्ति देखेर आफू आश्चर्यचकित भएको उनले उल्लेख गरेकी छन् । बिस्तारै परिवारका सदस्यसँगको सम्बन्ध र कुराकानीबाट त्यो घरमा पुस्तक र विचारको महत्व बुझ्दै गएको उनको भनाइ छ ।
उनले पोखरेलका सन्तानमा देखिने साहस, धैर्य, मर्यादा, उदारता र संस्कारलाई उहाँकै व्यक्तित्वको प्रतिबिम्बका रूपमा व्याख्या गरेकी छन् । उहाँको नाति, बुहारी र छोरीहरूमा देखिने फरकफरक गुणले आफूले पोखरेललाई प्रत्यक्ष भेट्न नपाए पनि उहाँको व्यक्तित्व बुझ्ने अवसर पाएको उनको अनुभूति छ । उनका अनुसार पोखरेल शरीरले नरहे पनि आफ्ना सन्तानका विचार, व्यवहार र संस्कारमा जीवित छन् ।
नातिनी बुहारी स्वाती रेग्मीले स्मृतिग्रन्थ प्रकाशनका लागि सीता खनालले गरेको मेहनतलाई विशेष रूपमा स्मरण गरेकी छन् । दुई वर्षसम्म निरन्तर फोन सम्पर्क, सामग्री संकलन, लेखन, सम्पादन र प्रकाशनको तयारीमा खटिएको उनले नजिकबाट देखेकी छन् । के गर्ने, कसरी गर्ने र कहाँबाट सुरु गर्ने भन्ने अन्योलका बीच पनि आफैँ समाधान खोज्दै अघि बढेको सीताको प्रयासले आज सार्थकता पाएको उनको भनाइ छ । उनले यस कार्यलाई परिवारको मात्र नभई आगामी पुस्ताका लागि पनि महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएकी छन् ।
स्मृतिग्रन्थ: व्यक्तिगत सम्झनादेखि राजनीतिक इतिहाससम्म
स्व. पोखरेलको निधनपछि लामो समयसम्म उनको जीवन र योगदानलाई समेटेर पुस्तक प्रकाशन हुन सकेको थिएन । उनका विचार र अनुभवलाई सार्वजनिक अभिलेखका रूपमा सुरक्षित गर्नुपर्ने आवश्यकता महसुस भएपछि परिवारले यस दिशामा पहल गरेको हो ।
सीता खनालको संकलन तथा सम्पादनमा तयार भएको २४० पृष्ठको स्मृतिग्रन्थमा ४८ जनाका लेख तथा संस्मरण समावेश छन् । पुस्तकले पोखरेलको पारिवारिक जीवन, राजनीतिक यात्रा, सामाजिक योगदान, दार्शनिक चिन्तन र व्यक्तिगत स्वभावका विभिन्न पक्षलाई समेटेको छ ।
ग्रन्थको समीक्षा गर्दै विजय सागर श्रेष्ठले पुस्तकका सामग्रीबारे चर्चा गरेका थिए । कार्यक्रममा उपस्थित वक्ताहरूले पोखरेलले समाजमा पु¥याएको योगदान र उनको निष्ठापूर्ण जीवनयात्राको चर्चा गरेका थिए ।
स्मृतिग्रन्थका विषयवस्तुलाई विश्लेषण गर्दा यसले एउटा व्यक्तिको जीवन परिचय मात्र दिएको छैन । यसले तत्कालीन राजनीतिक परिवेश, नेपाली कांग्रेसभित्रको वैचारिक अवस्था, सिद्धान्त र व्यवहारबीचको दूरी तथा राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्ने व्यक्तिहरूले भोगेका चुनौतीलाई पनि उजागर गरेको छ ।
नारायण भट्टराईले आफ्नो समीक्षामा यस ग्रन्थलाई समाजशास्त्री, राजनीतिज्ञ र समाज सुधारकका लागि उपयोगी सामग्रीका रूपमा व्याख्या गरेका छन् । सामाजिक कुरीति, जटिलता र थिचोमिचोविरुद्ध उभिने मानवतावादी राजनीतिक विचारलाई व्यवहारमा उतार्दा इमानदार कार्यकर्ता र नेताले भोग्नुपरेका अप्ठ्यारा यसमा समेटिएको उनको निष्कर्ष छ ।
विशेषगरी राजनीतिक पद र सत्ताको प्रतिस्पर्धामा विचारभन्दा व्यक्तिगत स्वार्थ हाबी हुँदा निष्ठावान् व्यक्तिहरूले भोग्नुपरेको उपेक्षा र पीडाको इतिहास बुझ्न यो पुस्तक उपयोगी हुन सक्छ । राजनीतिक इतिहासमा औपचारिक पद प्राप्त गर्ने व्यक्तिको मात्र चर्चा हुने प्रवृत्तिका बीच पदमा नपुगे पनि विचार र सिद्धान्तमा अडिग रहेका व्यक्तिहरूको योगदानलाई अभिलेखित गर्नु आफैँमा महत्वपूर्ण काम हो ।
यद्यपि स्मृतिग्रन्थका सामग्रीलाई अझ व्यापक ऐतिहासिक अध्ययनसँग जोड्न सके पोखरेलको राजनीतिक योगदान र तत्कालीन राजनीतिक परिवेशलाई थप गहिराइमा बुझ्न सकिने ठाउँ पनि छ । उनका प्रकाशित लेख, राजनीतिक दस्तावेज र समकालीन राजनीतिक घटनाक्रमसँग संस्मरणलाई तुलना गर्दै अध्ययन गर्दा उनको वैचारिक योगदानको वस्तुनिष्ठ मूल्यांकन गर्न थप आधार प्राप्त हुन सक्छ ।
विचारको निरन्तरता नै वास्तविक श्रद्धाञ्जली
२०७१ साल भदौ ११ गते भैरहवास्थित आफ्नै निवासमा निधन भएका पोखरेलको जीवनको अन्तिम समयसम्म अध्ययन र लेखनसँगको सम्बन्ध कायम थियो । उनले जीवनभर आर्जन गरेको ज्ञान, अनुभव र विचारलाई समेट्ने प्रयास अहिले स्मृतिग्रन्थमार्फत सार्वजनिक भएको छ ।
उनलाई स्मरण गर्ने समकालीनहरूका लागि यो ग्रन्थ एउटा पुरानो सहयात्रीको सम्झना हो । परिवारका लागि यो बुवाको जीवन र संघर्षको अभिलेख हो। नयाँ पुस्ताका लागि भने राजनीतिक निष्ठा, अध्ययनशीलता, विचारप्रतिको प्रतिबद्धता र सामाजिक उत्तरदायित्वबारे बुझ्ने अवसर हो ।
पोखरेलको जीवनलाई हेर्दा उनी पद र प्रतिष्ठाको राजनीतिभन्दा विचार र सिद्धान्तको राजनीतिमा विश्वास गर्ने व्यक्ति देखिन्छन् । राजनीतिक जीवनमा अपेक्षित सम्मान र अवसर नपाए पनि उनले आफ्नो अध्ययन, लेखन र मान्यतालाई त्यागेनन्। समाजमा परिवर्तन ल्याउन मानिसको सोच र चेतना बदलिनुपर्छ भन्ने उनको दृष्टिकोणले उनको राजनीतिक तथा दार्शनिक यात्रालाई जोडेको देखिन्छ ।
उनको निधनको १३ वर्षपछि प्रकाशित स्मृतिग्रन्थले एउटा महत्त्वपूर्ण प्रश्न पनि उठाएको छ—राजनीतिक इतिहास लेख्दा सत्तामा पुगेका र पद प्राप्त गरेका व्यक्तिहरूको मात्र चर्चा गर्ने कि सिद्धान्तका लागि संघर्ष गरेर जीवन बिताउने व्यक्तिहरूको योगदानलाई पनि समान महत्व दिने ?
हरिप्रसाद पोखरेलको जीवनले दोस्रो प्रश्नको महत्व सम्झाउँछ । समाजले कुनै व्यक्तिलाई उसको पदका आधारमा मात्र होइन, उसले छोडेर गएको विचार, व्यवहार र योगदानका आधारमा पनि मूल्यांकन गर्नुपर्छ । मानिसको जीवन सीमित हुन्छ, तर उसले समाजमा छोडेको असल विचार र संस्कारको आयु लामो हुन सक्छ ।
सायद यही कारण १३ वर्षपछि उनको स्मृतिमा प्रकाशित पुस्तक केवल विगतको सम्झना बनेर सीमित रहने छैन । यो निष्ठाको राजनीति, अध्ययनशील जीवन र मानवतावादी चिन्तनको खोजी गर्ने नयाँ पुस्ताका लागि एउटा सन्दर्भ सामग्री बन्न सक्छ । भौतिक रूपमा हरिप्रसाद पोखरेल नरहे पनि उनका विचार, लेखन र जीवनका अनुभवलाई सार्वजनिक स्मृतिमा सुरक्षित गर्ने यो प्रयासले उनको व्यक्तित्वलाई नयाँ पुस्तासम्म पु¥याउने अपेक्षा गरिएको छ ।