Butwal Today

विपद्ले रोक्यो सिद्धबाबा सुरुङमार्ग सञ्चालनको तयारी

१२ मंसिर २०८३, शनिबार
अ
अ+
अ-

बुटवल ।
असोज अन्तिम सातादेखि गाडी सञ्चालन गर्ने तयारी गरिएको सिद्धबाबा सुरुङमार्गको काम विपद्का कारण प्रभावित भएको छ । भोटेकोशी र कालीगण्डकीमा आएको बाढीले निर्माण सामग्री ढुवानीमा अवरोध पु¥याएपछि सुरुङमार्ग सञ्चालनको लक्ष्य करिब तीन महिना पछाडि धकेलिएको छ ।
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबामा निर्माणाधीन सुरुङमार्गमा भौतिक प्रगति ७० दशमलव २६ प्रतिशत पुगेको छ । आयोजनाको वित्तीय प्रगति भने ६३ दशमलव ५५ प्रतिशत छ । सुरुङभित्रका अधिकांश संरचनागत काम सम्पन्न भए पनि सवारी सञ्चालनका लागि आवश्यक विद्युतीय तथा सुरक्षा प्रणाली जडानको काम बाँकी छ ।
आयोजनाले दसैँअघि नै निर्माण सम्पन्न गरी सुरुङमार्गबाट सवारी आवागमन सुरु गर्ने तयारी गरेको थियो । तर, सुरुङ सञ्चालनका लागि आवश्यक विद्युतीय उपकरण र सुरक्षा सामग्री ढुवानीमा समस्या भएपछि निर्धारित लक्ष्य पूरा हुन नसकेको आयोजनाकी सूचना अधिकारी तथा इन्जिनियर सौम्या आनन्दले बताइन् ।
उनका अनुसार भदौ १० गतेअघि चीनबाट ल्याइने निर्माण सामग्री रसुवा नाकामार्फत ढुवानी हुँदै आएको थियो । पछिल्लो समय विद्युतीय प्रणाली, सुरक्षासम्बन्धी सामग्री र आवश्यक उपकरण पनि यही नाकाबाट ल्याइँदै थियो । तर, भोटेकोशीमा आएको बाढीले सडक अवरुद्ध भएपछि सामग्री बाटोमै रोकियो । त्यसपछि ती सामग्री फर्काएर कोराला नाकातर्फ पठाउनुपरेको थियो ।
सुरुङमार्ग सञ्चालनका लागि आवश्यक प्रकाश व्यवस्था, हावा आवतजावत गराउने प्रणाली, ध्वनि नियन्त्रण प्रणाली र आपत्कालीन टेलिफोन जडानको काम बाँकी छ । सुरक्षासँग सम्बन्धित केही संरचना निर्माण तथा सडकदेखि चार फिटसम्मको पर्खालमा रङरोगन गर्ने काम पनि पूरा हुन सकेको छैन ।
सुरुङभित्रका अन्य संरचनागत काम सम्पन्न गरी नियन्त्रण कक्षसँगको सम्बन्ध जोड्ने काम भने सकिएको आयोजनाले जनाएको छ । तर, सुरुङमार्गमा आवश्यक विद्युतीय र सुरक्षा प्रणाली जडान नभएसम्म सवारी सञ्चालन गर्न सकिने अवस्था छैन ।
चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले २०७८ फागुनमा सुरुङमार्ग निर्माणको ठेक्का सम्झौता गरेको थियो । कम्पनीले २०७९ को अन्त्यतिरबाट निर्माण सुरु गरेको हो । सात अर्ब ३४ करोड २१ लाख ४० हजार रूपैयाँमा ठेक्का लिएको कम्पनीले हालसम्म ६३ दशमलव ५५ प्रतिशत भुक्तानी लिइसकेको छ ।
कम्पनीले २०८३ चैत मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता छ । तर, २०८१ माघ ११ गते सुरुङको मुख्य भाग छेड्ने काम सम्पन्न गरेको निर्माण कम्पनीले बाँकी काम पनि निर्धारित समयभन्दा चार महिना अगाडि सक्ने लक्ष्यसहित काम गरिरहेको थियो ।
सुरुङमार्ग निर्माणका अधिकांश सामग्री चीनबाट ल्याउनुपर्ने भएकाले नाका र ढुवानी मार्गमा हुने अवरोधले आयोजनाको काम प्रभावित हुने गरेको छ । यसपटक बाढीका कारण सामग्री ढुवानीमा परेको असरले निर्माण सम्पन्न गर्ने र सवारी सञ्चालन गर्ने तयारीमा समेत ढिलाइ भएको छ ।
सिद्धबाबा क्षेत्रमा पहिरो र ढुंगा खस्ने जोखिमका कारण यात्रु तथा सवारी चालकले लामो समयदेखि जोखिमपूर्ण यात्रा गर्नुपरेको छ । सुरुङमार्ग सञ्चालनमा आएपछि सिद्धार्थ राजमार्गको यो जोखिमयुक्त खण्डमा यात्रा सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ । तर, निर्माणको अन्तिम चरणमा पुगेको भनिएको आयोजना सञ्चालनमा आउन अझै समय लाग्ने भएपछि यात्रुहरूले थप प्रतीक्षा गर्नुपर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?