© 2026
बुटवल ।
रूपन्देहीको बुटवलस्थित न्यू होराइजन माध्यमिक विद्यालयले यस वर्ष पनि प्रदेशस्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिताको ३३औँ संस्करणअन्तर्गत पहिलो चरणका कार्यक्रम मंसिर ११ गते शुक्रबारदेखि लुम्बिनी प्रदेशका चार स्थानमा एकैसाथ सञ्चालन हुने विद्यालयले जनाएको छ ।
प्राचार्य वासुदेव अर्यालका अनुसार विद्यालयले आफ्नो शैक्षिक यात्राको ३७औँ वर्ष पूरा गरेको अवसरमा आयोजना गर्न लागेको प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका विद्यालय सहभागी हुन सक्नेछन् । विद्यार्थीमा अन्तर्निहित बौद्धिक प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले २०५० सालमा जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिताका रूपमा सुरु गरिएको कार्यक्रमलाई क्रमशः अञ्चल हुँदै प्रदेशस्तरीय प्रतियोगिताका रूपमा विस्तार गरिएको उनले बताए ।
यो कार्यक्रम अञ्चल स्तरीय हुँदै हाल प्रदेश स्तरीयका रूपमा निरन्तर सञ्चालन हुँदै आएको विद्यालयका निवर्तमान प्राचार्य लोकनाथ उपाध्यायले बताए ।
विद्यालयले शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ । हाजिरीजवाफ प्रतियोगितासँगै लोकदोहोरी गीत प्रतियोगिता, राष्ट्रियस्तरीय टेबलटेनिस प्रतियोगिता तथा बालसाहित्य महोत्सवजस्ता कार्यक्रम पनि सञ्चालन गर्दै आएको विद्यालयले जनाएको छ ।
प्रतियोगिताका मूल संयोजक एवं विद्यालयका विज्ञान संकाय संयोजक प्रकाश पन्थका अनुसार यसअघि ३२औँ संस्करणका रूपमा सम्पन्न प्रतियोगिताको पहिलो चरणका कार्यक्रम लुम्बिनी प्रदेशका विभिन्न तीन स्थानमा सञ्चालन गरिएको थियो । अन्तिम चरणको प्रतियोगिता भने बुटवलस्थित न्यू होराइजन माध्यमिक विद्यालयको प्लस टु ब्लकमा सम्पन्न भएको थियो । उक्त प्रतियोगितामा पाल्पाको जनता माध्यमिक विद्यालय प्रथम, पाल्पाकै सुनगाभा पब्लिक स्कुल द्वितीय र दाङको नवज्योति माध्यमिक विद्यालय तृतीय भएको पूवंसंयोजक प्रकाश खनालले जानकारी दिए ।
३३ वर्षदेखि…
उनीहरूले क्रमशः ४० हजार, २५ हजार र २० हजार रूपैयाँ नगद पुरस्कारसहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेका थिए । पुस्तक समीक्षा कार्यक्रमबारे संयोजक गणेश भण्डारी र साइकल राइड प्रतियोगिताबारे संयोजक मनाज सिलवालले जानकारी गराएका थिए । विद्यालयले प्रतियोगितालाई विद्यार्थीको ज्ञान, प्रतिभा र सिर्जनात्मक क्षमता प्रस्फुटन गर्ने अवसरका रूपमा अघि बढाएको जनाएको छ । यस वर्षको प्रतियोगिताको पहिलो चरण चार केन्द्रमा सञ्चालन गरिनेछ । दाङ, रोल्पा, बाँके, बर्दिया, पूर्वी रुकुम र प्यूठानका विद्यालयलाई लक्षित गरी लमही नगरपालिका सभाहलमा एउटा केन्द्र रहनेछ । पाल्पा, गुल्मी र अर्घाखाँचीका विद्यालयका लागि न्यू होराइजन माध्यमिक विद्यालय काजीपौवामा दोस्रो केन्द्र तोकिएको छ ।
त्यस्तै, नवलपरासी बर्दघाट सुस्ता पश्चिमका विद्यालयका लागि बर्दघाटस्थित नवलपरासी उद्योग वाणिज्य सङ्घको सभाहलमा तेस्रो केन्द्र र रूपन्देही तथा कपिलवस्तुका विद्यालयका लागि बुटवल देवीनगरस्थित न्यू होराइजन माध्यमिक विद्यालयमा चौथो केन्द्र रहनेछ । प्रत्येक केन्द्रमा सहभागी सबै विद्यालयलाई प्रमाणपत्र प्रदान गरिनेछ । प्रत्येक केन्द्रबाट प्रारम्भिक चरणको प्रतिस्पर्धामार्फत उत्कृष्ट ६ विद्यालय सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनलमा प्रथम हुने विद्यालयले नौ हजार, द्वितीयले छ हजार र तृतीयले चार हजार पाँच सय रूपैयाँ नगद पुरस्कारसहित शिल्ड, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
लमही नगरपालिकाको सभाहलमा हुने छनोटमा दाङ, रोल्पा, बाँके, बर्दिया, पूर्वी रुकुम र प्युठानका विद्यालयका विद्यार्थीहरूले भाग लिने छन् । प्रतियोगिताको लमही केन्द्र संयोजक निषेधजंग कार्की रहेका छन् । यस्तै तानसेन काजीपौवास्थित न्यू होराइजन माविको सभा हलमा हुने छनोटमा पाल्पा, गुल्मी र अर्घाखाँचीका विद्यालयका विद्यार्थीहरूले भाग लिने छन् । पाल्पा केन्द्रको संयोजक प्रकाश बस्याल रहेका छन् । त्यस्तै, नवलपरासी पश्चिमका विद्यालयका लागि बर्दघाटस्थित नवलपरासी उद्योग वाणिज्य संघको सभाहलमा छनोट हुनेछ । बर्दघाट केन्द्र संयोजकमा रोशन तिवारी रहेका छन् ।
यस्तै रूपन्देही तथा कपिलवस्तुका विद्यालयका लागि बुटवलको देवीनगरस्थित न्यू होराइजन माध्यमिक विद्यालयमा प्रतियोगिता सञ्चालन गरिने छ । बुटवल केन्द्रको संयोजकमा समग्र प्रतियोगिताका संयोजक प्रकाश पन्थ रहेका छन् । प्रतियोगिताको अन्तिम चरण मंसिर १९ गते शनिबार बुटवल देवीनगरस्थित न्यू होराइजन माध्यमिक विद्यालयमा हुनेछ । चारवटै केन्द्रबाट सेमिफाइनलमा प्रथम र द्वितीय हुने गरी छ विद्यालय अन्तिम प्रतिस्पर्धामा सहभागी हुनेछन् । अन्तिम चरणमा प्रथम हुने विद्यालयले ४० हजार, द्वितीयले २५ हजार र तृतीयले २० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । विजेता विद्यालयलाई शिल्ड, ट्रफी तथा प्रमाणपत्रसमेत प्रदान गरिने विद्यालयले जनाएको छ । प्रतियोगिताका विभिन्न चरणमा सहभागी हुने विद्यार्थीका लागि आवश्यक खर्चसमेत विद्यालयले उपलब्ध गराउने व्यवस्था गरेको छ । यसले विद्यालयहरूबीच शैक्षिक प्रतिस्पर्धा बढाउनुका साथै विद्यार्थीको ज्ञान, तर्कशक्ति र प्रस्तुतिकरण क्षमताको वकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
हाजिरीजवाफ प्रतियोगितासँगै विद्यालयले आगामी कार्यक्रमसमेत सार्वजनिक गरेको छ । पठन संस्कृतिको विकास र पुस्तकप्रतिको आलोचनात्मक समीक्षा गर्ने क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मंसिर २० गते अन्तरमाध्यमिक जिल्लास्तरीय पुस्तक समीक्षा कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ ।
त्यस्तै, विद्यार्थीलाई सामाजिक सञ्जालको अत्यधिक प्रयोगबाट सिर्जित निष्क्रिय जीवनशैलीबाट निरुत्साहित गर्दै मानसिक तथा शारीरिक तन्दुरुस्तीप्रति प्रेरित गर्ने उद्देश्यले कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई लक्षित गरी विद्यालय स्थापना दिवसको अवसरमा सामूहिक साइकलयात्रा कार्यक्रमसमेत आयोजना गरिने विद्यालयले जनाएको छ ।