© 2026
बुटवल ।
सेवाग्राहीलाई विभिन्न प्रलोभन देखाउँदै यातायातसम्बन्धी काममा बिचौलियाको भूमिका निर्वाह गरेको आरोपमा रूपन्देही प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ ।
बुटवल उपमहानगरपालिका–१३ स्थित यातायात व्यवस्था कार्यालय रूपन्देहीको परिसरबाट मंगलबार उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
कार्यालय परिसरमा बिचौलियाको काम गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ । नियन्त्रणमा लिइएकाहरूमा गुल्मीको मालिका गाउँपालिका–५ का २३ वर्षीय मनोज अर्याल, रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ का ४२ वर्षीय हेमप्रसाद भट्टराई रहेका छन् ।
त्यस्तै बुटवल उपमहानगरपालिका–१३ का ४३ वर्षीया लक्ष्मी खनाल र ६२ वर्षीय खोमलाल भुषाल, बुटवल–८ का ५४ वर्षीय ऋषिराम खनाल, शुद्धोधन गाउँपालिका–१ का ३१ वर्षीय विजय क्षेत्री तथा पाल्पाको बगनासकाली गाउँपालिका–१ का ५३ वर्षीय प्ररमधोज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
यातायात व्यवस्था कार्यालयमा सवारी चालक अनुमतिपत्र, सवारी दर्ता, नवीकरणलगायतका सेवा लिन आउने सेवाग्राहीलाई सहज रूपमा सेवा उपलब्ध गराउनुपर्ने भए पनि बिचौलियाको प्रभावले सेवाग्राहीले अनावश्यक झन्झट र आर्थिक भार बेहोर्नुपर्ने गुनासो हुँदै आएको छ ।
सरकारी कार्यालयमा हुने सेवा प्रवाहलाई पारदर्शी, सहज र बिचौलियामुक्त बनाउने विषय उठिरहेका बेला कार्यालय परिसरबाटै सात जना नियन्त्रणमा पर्नुलाई प्रहरीले गरेको कारबाहीका रूपमा हेरिएको छ ।