Butwal Today

रुपन्देहीमा १० लाखभन्दा बढी मूल्यका मोबाइल चार्जर र हेडफोन बरामद

७ मंसिर २०८३, सोमबार
अ
अ+
अ-

भैरहवा ।

रुपन्देहीको रोहिणी गाउँपालिका–१ सेमरपानी क्षेत्रबाट भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको १० लाखभन्दा बढी मूल्यको मोबाइल चार्जर र हेडफोन बरामद भएको छ।

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर डण्डा, रुपन्देहीबाट खटिएको टोलीले सोमबार बिहान ७ बजे चेकजाँचका क्रममा उक्त सामान बरामद गरेको हो।

सशस्त्र प्रहरी नायब उपरीक्षक गोपी कृष्ण भट्टराईको कमाण्डमा खटिएको सात सदस्यीय टोलीले भारतबाट अवैध रूपमा ल्याउँदै गरेको सामसुङ्ग कम्पनीका मोबाइल चार्जरका टाउको (२८५ थान) र एप्पलकम्पनीका हेडफोन (९ थान) बरामद गरेको जनाएको छ।

बरामद सामानको अनुमानित मूल्य १० लाख २७ हजार ५ सय रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएका सामान आवश्यक कारबाही तथा भन्सार प्रक्रियाका लागि भन्सार कार्यालय बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी नायब उपरीक्षक भट्टराईले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?