© 2026
बुटवल ।
नेपालमा पहिचान हुने नयाँ कुष्ठरोगीमध्ये प्रत्येक चार जनामा एक जना लुम्बिनी प्रदेशका रहेको पाइएको छ । रोगको सङ्क्रमण बालबालिकामा समेत देखिन थालेपछि प्रदेशमा कुष्ठरोग नियन्त्रण थप चुनौतीपूर्ण बनेको छ ।
नेपाल सरकारको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०÷८१ र २०८१÷८२ मा देशभर दुई हजार ५०० नयाँ कुष्ठरोगी पहिचान भएकामा २५ प्रतिशत लुम्बिनी प्रदेशका छन् । मधेस प्रदेशपछि लुम्बिनी कुष्ठरोगको जोखिमका हिसाबले दोस्रो स्थानमा रहेको आइएनएफ नेपाल, साइनिङ अस्पताल बाँकेले जनाएको छ ।
प्रदेशका १० जिल्ला कुष्ठरोगको जोखिममा रहेकामा रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीमा सङ्क्रमणको जोखिम बढी रहेको आइएनएफ नेपालका मेडिकल सर्भिसेज निर्देशक डा. अरूणकुमार बुढाले बताए । उनका अनुसार नेपालमा कुष्ठरोग देखिएका १८ जिल्लामध्ये १० जिल्ला बाँकेको साइनिङ अस्पतालको सेवाक्षेत्रभित्र पर्छन् ।
कुष्ठरोग बालबालिकामा समेत देखिनुले रोगको सङ्क्रमण समुदायमा कायम रहेको र समयमै पहिचान हुन नसकेको सङ्केत गरेको स्वास्थ्यकर्मीहरूको भनाइ छ । बालबालिकामा सङ्क्रमण देखिनु रोग नियन्त्रणका लागि थप चुनौतीपूर्ण अवस्था भएको डा. बुढाले बताए ।
उनका अनुसार कुष्ठरोग नियन्त्रणमा मुख्य चुनौती नै समयमै रोग पहिचान नहुनु हो । गरिबी, स्वास्थ्य सेवामा सहज पहुँचको अभाव, सामाजिक भेदभाव र रोगप्रतिको लाञ्छनाका कारण बिरामी उपचारका लागि स्वास्थ्य संस्थासम्म पुग्न ढिलाइ गर्ने गरेका छन् । यसले रोगको पहिचान र उपचारमा समस्या निम्त्याएको उनले बताए ।
कुष्ठरोगको जोखिम र उपचार सेवाको आवश्यकतालाई ध्यानमा राख्दै बाँकेको जानकी गाउँपालिका–मानपुरस्थित साइनिङ अस्पताललाई पश्चिम नेपालकै कुष्ठरोग तथा उष्ण उपेक्षित रोगसम्बन्धी उपचार सेवाको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्ने योजना अघि बढाइएको छ ।
हाल क्षेत्रीय प्रेषण केन्द्रका रूपमा सञ्चालनमा रहेको अस्पताललाई लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बिरामीको उपचार तथा सेवा प्रवाहको प्रमुख केन्द्र बनाउने लक्ष्य रहेको डा. बुढाले बताए । अस्पतालको सेवा विस्तार तथा स्तरोन्नति नेपाल सरकारले अघि सारेको शून्य कुष्ठरोग रणनीतिसँग जोडिएको छ ।
आइएनएफअन्तर्गत पोखराको हरियोखर्क अस्पताल, सुर्खेतको साइनिङ अस्पताल र बाँकेको साइनिङ अस्पतालबाट हालसम्म छ हजार ७९ जनाले निःशुल्क उपचार सेवा लिइसकेको संस्थाले जनाएको छ । यी अस्पतालमार्फत कुष्ठरोगलगायत स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित समुदायलाई उपचार सेवा उपलब्ध गराउँदै आएको छ ।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्रकुमार पुनले कुष्ठरोग नियन्त्रण तथा उपचार सेवा विस्तारका लागि प्रदेश सरकार अस्पतालसँग सहकार्य गर्न तयार रहेको बताए । नेपाल सरकारले सन् २०३० सम्म कुष्ठरोग शून्यमा झार्ने लक्ष्यसहित रणनीति अघि बढाएको उल्लेख गर्दै उनले लक्ष्य हासिल गर्न सरकार, स्वास्थ्य संस्था र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताए ।
नयाँ बिरामीको उल्लेख्य हिस्सा लुम्बिनीमा देखिनु, बालबालिकामा समेत सङ्क्रमण पुष्टि हुनु र प्रदेशका १० जिल्ला जोखिममा रहनुले रोग नियन्त्रणका प्रयासलाई प्रभावकारी बनाउनुपर्ने देखिएको छ । रोगबारे जनचेतना विस्तार, नियमित परीक्षण, समयमै उपचार र सामाजिक लाञ्छना हटाउने अभियानलाई सँगसँगै अघि बढाउन सके मात्रै शून्य कुष्ठरोगको लक्ष्यतर्फ अघि बढ्न सकिने स्वास्थ्यकर्मीहरूको भनाइ छ ।