Butwal Today

अपी हिमालः जहाँ प्रकृति बोल्छ

७ मंसिर २०८३, सोमबार
अ
अ+
अ-

बझाङ ।
चारैतिर चाँदीझैँ टल्किएका हिमाल, बीचमा फैलिएको विशाल पाटन, हिमालको फेदबाट निस्किएका जलधारा र मनमोहक ताल। दार्चुलास्थित अपी हिमाल आधार शिविर क्षेत्र प्राकृतिक सुन्दरताले भरिएको छ। अपी, नाम्पा, कापुचुली र बबई हिमालले घेरिएको यो भूगोलले प्रकृतिको अनुपम दृश्य प्रस्तुत गर्छ।

समुद्री सतहबाट सात हजार १३२ मिटर उचाइमा रहेको अपी हिमाल सुदूरपश्चिमकै अग्लो चुचुरो हो। तीन हजार ९०० मिटर उचाइमा रहेको आधार शिविरबाट हिमशृङ्खलाको भव्य स्वरूप नजिकैबाट देख्न सकिन्छ। विशाल पाटन, निलो ताल, हिमनदीबाट निस्किएका जलधारा र दुर्लभ वनस्पतिले यस क्षेत्रको सुन्दरता थपेका छन्।

यहाँ पुग्न भने सहज छैन। मार्मा गाउँपालिका हुँदै मकरीगाडसम्म जीपमा पुगेपछि करिब दुई दिन पैदल यात्रा गर्नुपर्छ। कठिन उकालो, भिरालो गोरेटो र नदी किनार हुँदै अघि बढ्नुपर्छ। लामो र कठिन यात्रा पार गरेर आधार शिविर पुग्दा हिमालको मनमोहक दृश्यले यात्राको थकान बिर्साउँछ।

कालीढुङ्गा, बयेली ताल, धर्मी तथा मार्कण्डेय गुफा, चमेलिया नदीको उद्गमस्थल र फराकिला पाटन यस क्षेत्रका प्रमुख आकर्षण हुन्। प्राकृतिक सम्पदासँगै धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वका स्थलले पनि यस क्षेत्रको पर्यटकीय सम्भावना बढाएका छन्।

गर्मीयाममा रङ्गीचङ्गी फूलले ढाकिने पाटन पर्यटकीय आकर्षण मात्र होइन, स्थानीयको जीविकोपार्जनको आधार पनि हो। यहाँ यार्सागुम्बा, पाँचऔँले, पदमचाल, हत्वाजडी, बायुजडी र जटामसीलगायत बहुमूल्य जडीबुटी सङ्कलन गरिन्छ। भेडा, च्याङ्ग्रा र चौँरी चराउने परम्परागत थलोका रूपमा पनि यो क्षेत्र परिचित छ।

अपी हिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले यस क्षेत्रलाई आधुनिक पर्यटन अर्थतन्त्रको बलियो आधार बनाउने योजना अघि सारेका छन्। पर्यटकीय गतिविधि बढाउन सके स्थानीयस्तरमै रोजगारी र आम्दानीका अवसर सिर्जना हुने उनको भनाइ छ।

सामुदायिक घरबास (होमस्टे), स्थानीय यातायात, पदयात्रा गाइड, भरिया, होटल तथा खाद्य सेवामा स्थानीयको सहभागिता बढाउने तयारी गरिएको उनले बताए। यसका लागि आवश्यक जनशक्तिलाई पटक–पटक तालिम दिइएको छ। “हामीले पालिकाका धेरै जनालाई पर्यटन अर्थतन्त्र विस्तारमा स्थानीयको भूमिकाबारे विभिन्न क्षेत्रका जनशक्तिलाई तालिम दिएर तयार पारिसकेका छौँ,” अध्यक्ष बोहराले भने।

चालु आर्थिक वर्षमा आधार शिविर क्षेत्रमा १० हजार आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने गाउँपालिकाको लक्ष्य छ। “अहिलेको तयारीअनुसार अपेक्षित सङ्ख्यामा पर्यटक आउँछन् भन्ने विश्वास छ,” उनले भने।

बोहराका अनुसार अहिले मुख्य समस्या सञ्चार ‘नेटवर्क’ र ‘इन्टरनेट’को हो। अन्य पूर्वाधार तयार भइसकेको उनको दाबी छ। “यहाँका मानिसको मौलिकपन नै ठूलो सम्पत्ति हो। आउने पर्यटकले कुनै समस्या भोग्नुपर्दैन। अहिलेलाई पुग्ने आवश्यक काम गरिसकेका छौँ। थप आवश्यकताअनुसार पूर्वाधार थपिन्छ,” उनले भने।

अपी हिमालको पहिचान प्राकृतिक सुन्दरतामा मात्र सीमित छैन। यहाँको वेशभूषा, रीतिरिवाज, लोकबाजा, देउडा र परम्परागत ज्ञान पनि उत्तिकै महत्वपूर्ण छन्। गैरा इको रिसोर्ट, घुसाका सञ्चालक महादेव धामीले स्थानीय संस्कृति जोगाउँदै पर्यटकलाई आतिथ्य प्रदान गर्न आफूहरू सक्रिय रहेको बताए। गाउँपालिकाबाट प्राप्त तालिमपछि पाहुनाको खानपान, आवास र स्वागत सत्कारमा सहज भएको उनको भनाइ छ।

गाउँपालिकाले मकरीगाडदेखि आधार शिविरसम्म विभिन्न स्थानमा होमस्टे सञ्चालनको व्यवस्था मिलाएको छ। धनबोरा, घुसा, नाली, लामामाडौँ, आरूखोर, सिती, खायाकोट, छिरछिरे, सिमार, भल्याखोला र धौलीओडारमा पर्यटकका लागि आवास सुविधा उपलब्ध छ। आधार शिविर क्षेत्रमा दैनिक ७० जनालाई पुग्ने स्थायी होटल तथा ठूला टेन्टको व्यवस्था गरिएको छ। व्यक्तिगत रूपमा टेन्ट बोकेर जाने पर्यटकलाई पनि समस्या हुँदैन।

मकरीगाडबाट आधार शिविरसम्मको दूरी ३४ किलोमिटर छ। तीनदेखि पाँच किलोमिटरको अन्तरमा बनाइएका होमस्टेले यात्रीलाई सहज बनाएका छन्। स्थानीय मौलिकता र आत्मीय व्यवहार यहाँको आतिथ्यका विशेषता हुन्। हरेक होमस्टेमा फूलमालाले स्वागत गर्ने, सांस्कृतिक पहिचान झल्किने नाच देखाउने र स्थानीय परिकार खुवाउने परम्परा छ।

दोलखाको बिगु गाउँपालिकाकी उपाध्यक्ष देवकी थामीले यहाँको आतिथ्य सत्कारको प्रशंसा गरिन्। “सुरुमै फूलमालाले स्वागत गरिन्छ। सांस्कृतिक पहिचान झल्किने गरी स्थानीय नाच प्रस्तुत हुन्छ। बास र खानपिनमा तारे होटलको कमी महसुस हुँदैन। त्योभन्दा मीठो यहाँका मानिसको बोली, व्यवहार हो। यही सम्पत्तिले पर्यटकलाई अपिहिमाल नजिक्याउँछ,” उनले भनिन्। पर्यटनलाई संस्कृति संरक्षणसँग जोड्न सके मौलिक पहिचान नयाँ पुस्तासम्म पु¥याउन सकिने उनको विश्वास छ।

गाउँपालिकाको पर्यटन विभाग हेर्ने बिसन बुढाथोकीका अनुसार गाउँपालिकाले आधार शिविरसम्म भरपर्दो सञ्चार सेवा विस्तार, प्राथमिक उपचार सामग्रीको व्यवस्था, तालिमप्राप्त जनशक्ति परिचालन र आपत्कालीन उद्धार प्रणाली विकासको काम गरिरहेको छ।

अपी हिमाल धार्मिक आस्थाको केन्द्र पनि हो। यहाँको फेदबाट उदाउने चमेलिया नदीलाई भगवान् शिवको शिरबाट प्रवाहित गङ्गाको स्वरूप मान्ने जनविश्वास छ। खायाकोटका झलकसिंह लोथ्यालका अनुसार क्षेत्ती र घाजिरमा सुर्मा भवानीप्रतिको श्रद्धा, सुर्मा सरोवरको तीर्थ परम्परा तथा मार्कण्डेय र धर्मी गुफाले यस क्षेत्रको धार्मिक पहिचानलाई समृद्ध बनाएका छन्। शिरमा शिव भएकै कारण स्थानीय मन्दिरको आध्यात्मिक महत्वसमेत बढेको उनको बुझाइ छ। अपी हिमाल प्रकृतिको उपहार मात्र नभई आस्थाको प्रतीक भएको उनले बताए।
हिमालको काखमा जलवायु सङ्कट
अपी हिमालको सुन्दरतासँगै यसको भविष्य जोखिममा पर्दै गएको छ। जलवायु परिवर्तनका कारण हिउँ तीव्र गतिमा पग्लिरहेको छ। पानीका मुहान सुक्न थालेका छन्। वर्षा चक्रमा आएको फेरबदलले स्थानीयको परम्परागत जीविकोपार्जनमा प्रत्यक्ष असर पारेको छ।

एकातिर अपी हिमाललाई विश्व पर्यटनको नक्सामा स्थापित गर्ने अवसर छ। अर्कोतिर जलवायु परिवर्तनले हिमाली पारिस्थितिक प्रणाली र स्थानीय जीवनलाई जोखिममा धकेलिरहेको छ। यही चुनौतीबीच गाउँपालिकाले पर्यटन प्रवद्र्धनसँगै वातावरण संरक्षणको अभियान अघि बढाएको छ।

नेपाल हिमालय विश्वको तेस्रो ध्रुव (थर्ड पोल) का रूपमा चिनिन्छ। यहाँका हिमनदी, हिमताल, नदी, वन, घाँसेमैदान र सिमसार दक्षिण एसियाका करोडौँ मानिसको जीवनसँग जोडिएका छन्। तर विश्वव्यापी तापक्रम वृद्धिले हिमनदी तीव्र गतिमा पग्लिरहेका छन्। हिमताल विस्फोटको जोखिम बढिरहेको छ। पानीका मुहान सुक्ने, कृषि प्रणाली प्रभावित हुने र जैविक विविधता घट्ने समस्या देखिन थालेका छन्।

त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक तथा वातावरणविद् डा रमेशराज पन्तका अनुसार जलवायु परिवर्तनको असर अपी हिमालजस्ता उच्च हिमाली क्षेत्रमा देखिन थालिसकेको छ। वर्षाको समय र स्वरूपमा परिवर्तन, अनियमित हिमपात तथा पानीका स्रोत सुक्ने समस्याले स्थानीय जीवनशैली प्रभावित भएको उनले बताए।

यसको असर हिमालको हिउँमा मात्र सीमित छैन। स्थानीयको भान्सा, गोठ र खेतबारीसम्म पुगेको छ। भेडापालन, चौँरीपालन, कृषि र जडीबुटी सङ्कलनमा निर्भर परिवारका लागि बदलिँदो मौसम थप चुनौती बनेको उनले बताए।

डा पन्तका अनुसार जलवायु सङ्कटले सबैलाई समान असर गर्दैन। न्यून आर्थिक क्षमता भएका परिवार, महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति सबैभन्दा बढी जोखिममा छन्। जलवायु परिवर्तनमा न्यून योगदान गर्ने हिमाली समुदायले नै यसको ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आएको उनले बताए।
चमेलिया जलाधारः संरक्षणको साझा जिम्मेवारी
करिब सात सयदेखि सात हजार मिटर (अपी हिमाल) उचाइसम्म फैलिएको चमेलिया जलाधार क्षेत्र भौगोलिक र पारिस्थितिक विविधताका दृष्टिले महत्वपूर्ण छ। वातावरणविद् डा पन्तका अनुसार उपलब्ध अध्ययनले यहाँको औसत तापक्रम सातदेखि १८ डिग्री सेल्सियस, वार्षिक वर्षा करिब एक हजार ७०० मिलिमिटर र औसत जलप्रवाह १७७ घनमिटर प्रतिसेकेन्ड देखाएको छ। यसले माथिल्लो र तल्लो तटीय क्षेत्रमा कृषि प्रणालीसहित विभिन्न क्षेत्रमा जलवायु परिवर्तनको असर परेको उनले बताए।

चमेलियाका शाखा नदीमध्ये रिठेगाडलगायत क्षेत्रमा पानीको गुणस्तर घट्दै गएको अनुसन्धानले देखाएको छ। सन् २०२५ को एक अध्ययनले महाकाली नदीको माथिल्लो र तल्लो तटीय क्षेत्र व्यवस्थापनका लागि चमेलिया जलाधारलाई उच्च प्राथमिकता दिनुपर्ने सुझाव दिएको डा पन्तले बताए।

यी तथ्यले जलाधार संरक्षण कुनै एउटा पालिकाको जिम्मेवारी मात्र नभएको स्पष्ट पारेका छन्। यसका लागि अन्तरपालिका, प्रदेश र सङ्घीय सरकारबीच सहकार्य आवश्यक रहेको उनले बताए।

नदी, शाखा नदी, पानीका मुहान, वनजङ्गल, चरन क्षेत्र र जैविक विविधताको एकीकृत व्यवस्थापन गर्नुपर्छ। सुक्दै गएका पानीका स्रोत पुनर्जीवन, भूजल पुनर्भरण र वर्षाको पानी सङ्कलनसँगै समुदायमा आधारित पानी सुरक्षा कार्यक्रम सञ्चालन गर्नुपर्ने भूगर्भविद् कमल थापाले बताए।

अपी नाम्पा संरक्षण क्षेत्र दुर्लभ वन्यजन्तु र वनस्पतिको आश्रयस्थल हो। रेडपान्डा, हिउँ चितुवा, कस्तुरी र डाँफेजस्ता प्रजाति यहाँ पाइन्छन्। विभिन्न प्रकारका बहुमूल्य जडीबुटी पनि उपलब्ध छन्। तर जलवायु परिवर्तन, प्राकृतिक स्रोतको अव्यवस्थित उपयोग र मानवीय गतिविधिले यी सम्पदाको अस्तित्वमाथि चुनौती थपेको थापाले बताए।
हिमालको भविष्य जोगाउने साझा सङ्कल्प
अपी हिमालमा पर्यटनको ठूलो सम्भावना छ। प्राकृतिक सौन्दर्य, जैविक विविधता, संस्कृति र हिमाली जीवनशैलीलाई व्यवस्थित रूपमा पर्यटनसँग जोड्न सके यो क्षेत्र नेपालको महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्छ। भूगर्भविद् थापाले पनि यही सम्भावना औँल्याए।

तर प्रकृति नै जोगिएन भने पर्यटनको भविष्य पनि सुरक्षित हुँदैन। विकासलाई सडक, होटल र पर्यटकको सङ्ख्यामा मात्र सीमित गर्नु हुँदैन। थापाले भने, “हिमाल, जलस्रोत, जैविक विविधता र स्थानीय समुदायको जीवनशैली संरक्षणलाई विकासको केन्द्रमा राख्नुपर्छ।”

आधार शिविरबाट उठेको जलवायु संवादले हिमाली सङ्कट स्थानीय समुदायको मात्र समस्या नभएको सन्देश दिएको छ। हिमालमा परेको असर नदी हुँदै बस्ती, खेतबारी र मानव जीवनसम्म पुग्छ। त्यसैले यसको संरक्षणमा स्थानीयदेखि अन्तरराष्ट्रिय तहसम्म सहकार्य आवश्यक रहेको थापाले बताए।
हिमालबाट उठेको जलवायु न्यायको आवाज
आधार शिविर क्षेत्रमा अपी हिमाल गाउँपालिकाले आयोजना गरेको अपी हिमाल पर्यटन उत्सव तथा जलवायु संवादमा अपी हिमाल घोषणापत्र–२०८३ जारी गरिएको छ। चमेलिया नदी तटीय क्षेत्रका पालिकाबीच सहकार्य सुदृढ गर्दै हिमाली प्रकृति, जलवायु न्याय र दिगो विकासका लागि साझा प्रतिबद्धता जनाउनु यसको मुख्य उद्देश्य थियो।

घोषणापत्रमा जैविक विविधता संरक्षण, पारिस्थितिकीय पुनस्र्थापना, प्राकृतिक स्रोतको दिगो उपयोग, स्थानीय ज्ञान र संस्कृतिको प्रवद्र्धन, जलवायु उत्थानशील जीविकोपार्जन, दिगो पर्यटन तथा अनुसन्धान र नवप्रवर्तनलगायत १७ विषय समेटिएका छन्।

यसले हिमाली क्षेत्रका समस्या स्थानीय सीमाभित्र मात्र सीमित नरहेको स्पष्ट पारेको छ। घोषणापत्रले वन, भूमि, पानी, जडीबुटी र चरन क्षेत्रको वैज्ञानिक तथा न्यायोचित उपयोगमा जोड दिएको छ। परम्परागत ज्ञानलाई आधुनिक विज्ञानसँग जोडेर जलवायु अनुकूलनका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

महिला, युवा, किसान र सीमान्तकृत समुदायलाई केन्द्रमा राखेर हरित रोजगारी, जैविक खेती, जडीबुटी उद्यम तथा नवीकरणीय ऊर्जामा आधारित अवसर विस्तार गर्ने लक्ष्य राखिएको छ। हिमाली पदमार्गलाई वातावरणमैत्री बनाउने, प्लास्टिक तथा ठोस फोहोर नियन्त्रण गर्ने, हिमनदी र ताल जोगाउने तथा पानीका मुहान पुनर्जीवन गर्ने विषयलाई पनि प्राथमिकता दिइएको छ।
पर्यटन, खेलकुद र अन्तरराष्ट्रिय पहिचान
अपी हिमाललाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनाउने अर्को आधार उच्च हिमाली खेलकुद हो। गाउँपालिकाको आयोजनामा मैत्रीपूर्ण क्रिकेट र भलिबल प्रतियोगिता सम्पन्न भएका छन्।

उच्च उचाइमा खेलकुद आयोजना गर्दा स्थानीय खेलाडीको प्रतिभा उजागर हुनुका साथै खेल पर्यटनको विकास र क्षेत्रीय पहिचान विस्तारमा सहयोग पुग्ने विश्वासका साथ प्रतियोगिता आयोजना गरिएको अपी हिमाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर विष्टले बताए।

प्राकृतिक सौन्दर्य र उच्च हिमाली वातावरणलाई पर्यटन तथा खेलकुदसँग जोड्न सके अपी हिमाल राष्ट्रिय तथा अन्तरराष्ट्रिय आकर्षणको केन्द्र बन्न सक्ने उनको भनाइ छ।

प्रकृतिले दिएको अनुपम सम्पदा जोगाउँदै स्थानीय संस्कृति र जीविकोपार्जनलाई पर्यटनसँग जोड्नु नै अपी हिमालको सपना भएको उनले बताए। हिमाललाई पर्यटकीय आकर्षणका रूपमा मात्र हेरेर पुग्दैन। यसलाई जीवन, सभ्यता, जलस्रोत र जैविक विविधताको आधारका रूपमा बुझ्नुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?