Butwal Today

खानेपानीको पहुँच विस्तार गर्न प्रतिवद्ध छौंः अध्यक्ष पौडेल

७ मंसिर २०८३, सोमबार
अ
अ+
अ-

गैंडहवा ।
रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं. ९ अन्तर्गत सूर्यपुरा १, २ र ३ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको तेस्रो साधारणसभा सम्पन्न भएको छ । संस्थाको आफ्नै कार्यालय परिसरमा आयोजित साधारणसभामा खानेपानीको दिगो व्यवस्थापन, स्वच्छता, सरसफाइ तथा उपभोक्तालाई सहज र गुणस्तरीय सेवा प्रदान गर्ने विषयमा छलफल गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले खानेपानी नागरिकको आधारभूत आवश्यकता र मौलिक अधिकारसँग जोडिएको विषय भएको बताउनुभयो । उहाँले स्वच्छ खानेपानीको पहुँच विस्तार गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै खानेपानी संस्थाहरूले पारदर्शिता, जवाफदेहिता र उपभोक्ताको हितलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो ।

खानेपानीको संरक्षण, मुहानको सुरक्षा तथा सरसफाइमा सबै उपभोक्ताको सक्रिय सहभागिता आवश्यक रहेको उहाँको भनाइ थियो ।
कार्यक्रमका विशिष्ट अतिथि खानेपानी तथा सरसफाई संस्था रुपन्देहीका प्रमुख प्रकाश केसीले खानेपानी संस्थाहरूले उपभोक्तालाई सुरक्षित, स्वच्छ र नियमित खानेपानी उपलब्ध गराउनु महत्वपूर्ण जिम्मेवारी भएको बताउनुभयो।

उहाँले खानेपानीको गुणस्तर परीक्षण, पाइपलाइनको नियमित मर्मत, पानीको उचित प्रयोग र सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो। संस्थाको दीर्घकालीन सञ्चालनका लागि आर्थिक पारदर्शिता र उपभोक्ताको विश्वास आवश्यक रहेको उहाँले बताउनुभयो ।
संस्थाका संस्थापक अध्यक्ष तथा वडा नं. ८ का अध्यक्ष भुवन रानाले संस्थाको स्थापना र विकासमा सहयोग गर्ने सम्पूर्ण उपभोक्तालाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले खानेपानी सेवा विस्तार तथा व्यवस्थापनमा संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गर्न सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।
वडा अध्यक्ष मिना क्षेत्रीले स्वच्छ खानेपानी र सरसफाइ स्वस्थ समाज निर्माणको आधार भएको बताउनुभयो। उहाँले संस्थाको प्रगति र उपभोक्ताको सुविधाका लागि वडा कार्यालयबाट आवश्यक सहयोग तथा समन्वय गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
संस्थाका उपाध्यक्ष चन्द्रप्रसाद गौचनले स्वागत मन्तव्य ब्यक्त गर्दै सबैसंग सल्लाह गरेर अगाडि बढने बताउनु भयो ।
संस्थाका अध्यक्ष मोतिलाल रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महादेव उपाध्यायले गर्नुभएको थियो । साधारणसभाले संस्थाको गतिविधि, सेवा व्यवस्थापन तथा आगामी योजनाबारे छलफल गर्दै खानेपानी सेवा अझ व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?