Butwal Today

‘म र मेरो’ भन्ने सोचबाट माथि उठ्न सभामुख घर्तीको आग्रह

५ मंसिर २०८३, शनिबार
अ
अ+
अ-

बुटवल ।

लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले मुलुकको विकास र समृद्धिका लागि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक हितमा केन्द्रित हुनुपर्ने बताएका छन् । उनले राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा स्वस्थ बहस र छलफल गर्ने संस्कार विकास गर्न पनि आग्रह गरे ।

शनिबार बुटवलमा आयोजित नागरिक संवाद कार्यक्रममा बोल्दै सभामुख घर्तीले नेपाली समाजमा बढ्दै गएको गैरजिम्मेवारी र स्वेच्छाचारिताका कारण महत्वपूर्ण राजनीतिक तथा आर्थिक विषयमा पर्याप्त बहस र पैरवी हुन नसकेको बताए । नेपालको विकासका लागि सहमति, सहकार्य, समन्वय, सहअस्तित्व र सद्भाव कायम हुनुपर्नेमा उनले जोड दिए ।

आर्थिक अनुसन्धान केन्द्र नेपाल र समृद्धि सरकार केन्द्रको संयुक्त आयोजनामा ‘विस्तृत शान्ति सम्झौताका दुई दशक ः सामाजिक–आर्थिक उपलब्धि र अबको बाटो’ विषयक नागरिक संवाद कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमका विशिष्ट अतिथि सुदर्शन बरालले पुराना राजनीतिक दलहरूले कठोर सङ्घर्ष र यातनापूर्ण अवस्थाको सामना गर्दै राजनीतिक परिवर्तन सफल बनाएको तथा आर्थिक समृद्धिका लागि आधार तयार गरेको बताए । देशमा केही पनि भएन भन्नु राजनीतिक बेइमानी हुने उनको भनाइ थियो ।

लुम्बिनी प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले विगतका राजनीतिक आन्दोलनको जगमा देश अघि बढिरहेको उल्लेख गर्दै परिवर्तनलाई आत्मसात् गरेर राजनीतिक दलहरूले आफ्ना कार्यक्रम जनस्तरसम्म पु¥याउनुपर्ने बताए ।

समाजवादी पार्टी नेपालका केन्द्रीय सचिव तथा प्रवक्ता मणिकर कार्कीले नेपाली समाजको अस्थिर र बरालिने प्रवृत्तिका कारण विस्तृत शान्ति सम्झौताले परिकल्पना गरेका सबै लक्ष्य पूर्ण रूपमा हासिल हुन नसकेको बताए । सबैले चाहेजस्तो समाज निर्माण गर्न सम्भव नभए पनि त्यसका लागि अन्तिम समयसम्म प्रयत्न जारी राख्नुपर्ने उनको भनाइ थियो ।

बुटवल कालिका क्याम्पसका प्रमुख घनश्याम पाठकले विस्तृत शान्ति सम्झौतापछि नेपालको सामाजिक तथा आर्थिक सूचकमा सकारात्मक परिवर्तन आएको बताए । यद्यपि युवालाई स्वदेशमै रोजगारी र स्वरोजगारमा जोड्न अझै चुनौती रहेको उनले उल्लेख गरे ।

युवा उद्यमी प्रकाश भुसालले नेपाली नागरिकले जीवनयापनका लागि विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्न लगानीमैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । स्वदेशमै उद्यम, व्यवसाय र रोजगारीका अवसर सिर्जना गर्न राज्यले अनुकूल वातावरण बनाउनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि प्रेम परियार, बुटवल नगर सभापति रिता केसी, नेपाली कम्युनिस्ट पार्टीका नगर अध्यक्ष महेन्द्र भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति राजन पाण्डे र राष्ट्रिय प्रजातन्त्र पार्टीका पुनाराम पोखरेललगायतले शान्ति सम्झौतापछिको राजनीतिक तथा सामाजिक–आर्थिक अवस्थाबारे धारणा राखेका थिए ।

हुमराज भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुकुन्द पोखरेलले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन ऋषि आजादले गरेका थिए भने गणेश घिमिरेले धन्यवाद ज्ञापन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?