Butwal Today

कामको खोजीमा बजार पुग्छन् मजदुर, काम पाउने टुङ्गो छैन

५ मंसिर २०८३, शनिबार
अ
अ+
अ-
सप्तरी ।
राजविराज नगरपालिका–७ स्थित गजेन्द्र चोकको पूर्वपट्टि रहेको यो ठाउँ मजदुर बजारका रूपमा परिचित छ । यहाँ बिहानको उज्यालोसँगै कोही साइकलमा, कोही सिटी सफारीमा त कोही पैदलै खाजाको झोला बोकेर यहाँ आइपुग्छन् । उनीहरूको साझा उद्देश्य हुन्छ– दिनभरको मजदुरी पाउनु ।
बेरोजगारी र जीविकोपार्जनको समस्याले गर्दा विभिन्न उमेर समूहका मजदुर दैनिक यहाँ आएर काम दिने साहु तथा ठेकेदारको प्रतीक्षामा बस्न बाध्य छन् । जिल्लाका विभिन्न पालिकाबाट आएका मजदुर काम पाउने आशमा यहाँ भेला हुन्छन् । तर, दिनभर पर्खंदा पनि काम पाउने टुङ्गो हुँदैन ।
रूपनी गाउँपालिका–कटैयाका रामप्रसाद यादव परिवारको छाक टार्न मजदुरी खोज्दै दैनिक यहाँ आउने गरेको बताउछन् । उनका अनुसार काममा लैजाने ठेकेदारले मजदुरको शारीरिक अवस्था र काम गर्ने क्षमताका आधारमा छनोट गर्ने भएकाले फुर्तिला र काम गर्न सक्ने देखिनेले छिटो काम पाउने गरेका छन् ।
“दिनहुँ काम पाइयो भने आठ घण्टा श्रम गरेर रु आठ सयसम्म कमाइ हुन्छ । तर, काम नपाएको दिन परिवारको छाक टार्नै समस्या हुन्छ,” उहाँले भन्नुभयो । काम पाउने आशामा घण्टौँ प्रतीक्षा गर्नुपर्ने र काम नपाए रित्तै घर फर्कनुपर्ने बाध्यता रहेको उनले बताए ।
विष्णुपुर गाउँपालिका–६ का बद्री सदाका अनुसार घर निर्माणमा काम गर्ने मिस्त्रीले दैनिक रु एक हजार २०० सम्म ज्याला लिने गरे पनि मजदुरले भने कामको प्रकृति र आफ्नो क्षमताअनुसार रु ६०० देखि एक हजारसम्म पाउने गरेका छन् । राम्रो काम गर्दा पनि उचित ज्याला नपाएको अनुभवसमेत रहेको उनले बताए ।
मजदुर खोज्न गजेन्द्र चोक पुग्ने ठेकेदार परमानन्द साहले यहाँबाट कामदार छनोट गरेर लैजाने गरेको बताए । काम राम्रो गर्ने र नियमित आउने मजदुरलाई काम आवश्यक पर्दा फेरि बोलाउने गरिएको उनको भनाइ छ ।
“राम्रो काम गर्ने मजदुरलाई काम रहुन्जेल नियमित बोलाउँछौँ । काममा नआउने वा नियमितता कायम नगर्नेलाई भने अर्को पटक बोलाउन कठिन हुन्छ,” उनले भने । उनका अनुसार दक्षता र कामको प्रकृतिअनुसार मजदुरले दैनिक रु सात सयदेखि एक हजारसम्म ज्याला पाउने गरेका छन् ।
जिल्लामा हजारौँ मजदुर रहे पनि तोकिएको ज्यालादर व्यवहारमा कार्यान्वयन हुन नसकेको नेपाल ट्रेड युनियन मधेस प्रदेशका अध्यक्ष केदार देवले बताए । मजदुरका लागि व्यवस्थित स्थान नहुँदा कामको खोजीमा उनीहरू दैनिक चोकमा आएर उभिनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।
“करिब पाँच दशकदेखि यस ठाउँमा मजदुर कामको खोजीमा आउने गरेका छन् । तर, उनीहरूका लागि आवश्यक आधारभूत सुविधा उपलब्ध गराउन सम्बन्धित निकायको ध्यान पुगेको छैन,” उनले भने। कामको प्रतीक्षामा बस्ने मजदुरका लागि बस्ने ठाउँलगायत सामान्य सुविधा उपलब्ध गराउन सके पनि ठूलो राहत हुने उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?