© 2026
काठमाडौँ ।
दर्शकको उत्साहपूर्ण साथ, चौका–छक्काको वर्षा र रोमाञ्चक प्रतिस्पर्धाबीच नेपाल प्रिमियर लिग ९एनपिएल० को तेस्रो संस्करण सम्पन्न भएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स पहिलोपटक च्याम्पियन बनेको छ।
लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३ दशमलव ३ ओभरमै कुनै विकेट नगुमाई पूरा गर्यो। सुदूरपश्चिमको जितमा जर्ज मन्सी नायक बने। उनले ५४ बलमा ८ चौका र १२ छक्काको मद्दतमा अविजित १२५ रन बनाए। अर्का ओपनर विनोद भण्डारीले २७ बलमा अविजित ३० रनको योगदान दिए। दुवैबीच पहिलो विकेटका लागि १५८ रनको अविजित साझेदारी भएको थियो।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको थियो। लुम्बिनीका दिलीप नाथले अविजित ३९, कप्तान रोहितकुमार पौडेलले ३०, निरोशन डिक्वेलाले २८ र अलि शेखले २४ रन बनाए। सुदूरपश्चिमका स्कट कुगेलेइनले दुई विकेट लिए।
यससँगै लगातार पहिलो र दोस्रो संस्करणमा उपविजेतामा सीमित भएको सुदूरपश्चिमले तेस्रो प्रयासमा उपाधि जित्दै इतिहास बनाएको छ। यसअघि दोस्रो संस्करणको फाइनलमा लुम्बिनीले नै सुदूरपश्चिमलाई पराजित गरेको थियो।
गत कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी थिए। लिग चरणमा ११ अङ्कसहित शीर्ष स्थानमा रहेको लुम्बिनीले पहिलो क्वालिफायर जित्दै फाइनलमा स्थान बनाएको थियो। १० अङ्कसहित दोस्रो भएको सुदूरपश्चिमले दोस्रो क्वालिफायरमा चितवनलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो।
प्रतियोगितामा काठमाडौँ गोर्खाज तेस्रो, चितवन राइनोज चौथो, विराटनगर किङ्स पाँचौँ, कर्णाली याक्स छैटौँ, पोखरा एभेन्जर्स सातौँ र जनकपुर बोल्ट्स आठौँ स्थानमा रहे।