Butwal Today

इतिहास चिनाउने साक्षी बन्दैछन् झिरुवासका घुमाउने घर

५ मंसिर २०८३, शनिबार
अ
अ+
अ-

पाल्पा ।
पाल्पाका ग्रामिण वस्तीमा यस्ता गोलघर अर्थात घुमाउने घर अहिले बिरलै देख्न पाईन्छ । बाबु बाजेको पालामा आजभन्दा करिव ६ दशक भन्दा अघि निर्माण भएका यस्ता प्राचीन घुमाउने गोलघर अहिले एकादेशको कथा भैसकेका छन् । पाल्पाका केही स्थानमा भने यी घर अहिले पुस्ता चिनाउने इतिहासको रुपमा साक्षी भएर ठडिएका छन । ग्रामिण बस्तीमा पुस्तौदेखि घाम पानी चिसोबाट मात्र नभई गर्मीबाट ओत लाग्न निर्मित पुराना स्वरुप तथा शैलीका झ्याल नभएका खरको छाना अनि तलाबिहीन यी प्राचिन सम्पदा अहिले इतिहासका पानामा मात्र सीमित हुन पुगेका छन् । पाल्पाको निस्दी गाउँपालिका झिरुवासका स्थानिय तथा मौलिकता सहित पहिचान बनाएका पुराना स्वरुपका यी गोलाकार घरहरु परम्पराको जिवन्त साक्षी बनेका छन् । झिरुवासका ७८ वर्षिय दमबहादुर पाटा भन्छन् – तिन पुस्ता अगाडि निर्मित यही घरबाट तिनवटा छोराछोरी हुर्काएँ । कमाइ गरेँ । अहिले नयाँ स्वरुपमा नयाँ घरमा बसोबास गरेपनि जीवनको उत्तरार्धमा यही घरको दैलो कुरेर बसेको हो । पहिले गाउँबस्तीमा सबै घर यस्तै थिए । पछि सबै देश विदेश जान थालेपछि कमाई गर्दै जाँदा ठूला ठूला ढलाने घरहरु बने । तर आफुले यो घर इतिहासको चिनोको लागि राखेको उनले बताए ।

डाँडाको समथर ठाउँ बीचमा गोरेटो थियो । त्यसलाई २०५५ सालमा मोटर बाटो कायम गरियो । यही मोटरको दायाँ वायाँ साना साना गोलघरहरु थिए । पछिल्लो समयमा सबैको आर्थिक अवस्थामा सुधार हुँदै गयो र नयाँ नयाँ स्वरुपका घरहरु बन्न थाले । अब १, २ वटा मात्र यस्ता घरहरु छन् । यसको महत्व जति पछि उति यसको महत्व बढ्दै गएको पुराना पुस्ताका भेषबहादुर पाटा बताउँछन् । पहिले पहिले यस्ता घरहरु धेरै थिए । अहिले यस्ता घरहरुको संख्या घटदै गएपछि स्वदेशी तथा विदेशी पर्यटकले यी घर क्यामरा तथा मोवाइलमा कैद गर्छन् । केहीले त यस्ता घरको फोटो खिचे वापत सय, पचास पनि दिएर छाड्छन् । झिरुवास मुलुक कै वन पर्यटनका लागि ख्याती कमाएको गाउँ हो । यहाँ अवलोकनका लागि आएका पर्यटकका लागि घर आकर्षणको केन्द्र बिन्दु बनेको छ ।

यहाँका यस्ता घरहरु क्यालेण्डर, पुस्तक, स्मारिकाको आवरणका रुपमा प्रकासित हुने गरेका स्थानिय तथा पूर्व जनप्रतिनीधि लक्ष्मीबहादुर पाटा बताउँछन् । पुराना घरहरु आर्थिक सम्पन्ता संगै बदलियोे, अब केही सिमीत मात्र छन् । यस्ता घरहरु वातावरणीय अनुकुल हुने भएकोले जाडोमा तातो र गर्मीमा चिसो वातावरण अनुकुल हुन्छन् । समस्या भनेको यस्ता घरको भ्mयाल हुदैनन् । अहिले यस्ता घरहरु नयाँ पुस्ताका लागि नौलो र नयाँ रहेको छ । पहिला पहिला यस्ता घरहरु जनजाति समुदायमा बढी हुन्थे । अहिले जनजाति समुदायको आर्थिक सम्पन्नता हुदै जाँदा यस्ता घरहरु पनि हराउदै गएको हो । अझैपनि यस्ता घरमा बस्नु भनेको आर्थिक विपनन्ताका कारण भएको जिल्ला समन्वय समितीका प्रमुख टंक खनाल बताउँछन् ।

पर्यटकको राम्रो संभावना बोकेको यो क्षेत्रमा ठूलो मात्रामा आन्तरिक पर्यटकहरुको भीड नै लाग्ने गरेको छ । यस्ता पुराना घरहरु आज संरक्षण गर्न सकियो भने भोलिका दिनमा यहाँका पुराना घरहरु विदेशी छलचित्र छायाँकंनका लागि राम्रो स्थान बन्ने पाल्पाका पर्यटक व्यवसायी राजिव साह बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?