Butwal Today

जीवनशैली परिवर्तन आजको आवश्यकता

५ मंसिर २०८३, शनिबार
अ
अ+
अ-

आजका मानव जाति खान नपाएर होइन, धेरै खाएर चाहिँ चाँडै मरिरहेका छन् । होइन र ? हो नि । आज विश्व समाजमा खासगरी नेपालजस्ता देशहरूमा असन्तुलित खानपानले गर्दा विभिन्न खतरनाक रोगहरूबाट ग्रसित भई मानिसहरू अकालमा मृत्युको सिकार भइरहेका छन् । पाउँदा धेरै खाने, नहुँदा कम खाने, हानिकारक खाना धेरै खाने, सुर्तीजन्य पदार्थको सेवन गर्ने, मदिराको सेवन गर्ने, धेरै खाने, अल्छीपन र शारीरिक व्यायामको कमी जस्ता कारणहरू दीर्घकालीन रूपमा खतरनाक नसर्ने रोगहरूको कारण बनेका छन् । विशेषगरी हाम्रो नेपाली समुदायमा विभिन्न चाडपर्व, पूजाआजा र विभिन्न बहानामा असन्तुलित खानपान गर्ने चलन रहेको छ । अझ हालको समयमा हेर्ने हो भने मिठो खाने बहानामा धेरै मरमसला राखेको खाने, चिल्लो खाने, माछामासु धेरै खाने, नुन र चिनी धेरै राखेर खाने र प्याकेजिङ खाद्यान्न धेरै खाने गर्दछौँ । उत्पादन धेरै बढाउने बहानामा तरकारीहरूमा अत्यधिक विषादी प्रयोग गर्ने गरेको हामी दैनिक विभिन्न समाचारहरूमा निरन्तर देखिरहेका छौँ, जसका कारण सर्वसाधारणहरू विषादीयुक्त तरकारी तथा फलफूलहरू खान बाध्य भइरहेका छन् । अत्यधिक मात्रामा विषादी प्रयोग गरिएका तरकारीहरूको प्रयोगले दिनानुदिन स्वास्थ्य अवस्था झन् जोखिममा पर्ने गरेको छ ।
विश्व स्वास्थ्य सङ्गठनको सर्वेक्षणलाई हेर्ने हो भने ८६ प्रतिशत व्यक्तिहरू नसर्ने रोगका कारण दैनिक मृत्युको सिकार भइरहेका छन् र अकालमा ज्यान गुमाइरहेका छन् । जसमा क्यान्सर, मुटुरोग, फोक्सोको समस्या, मिर्गौलामा समस्या र मधुमेहजस्ता रोगहरू ७४ प्रतिशत मृत्युका प्रमुख कारणहरूमा परेको देखिन्छ । उक्त तथ्याङ्कलाई सूक्ष्म रूपमा अध्ययन गर्ने हो भने नेपाल र भारतजस्ता देशहरूमा मृत्युदर अन्य देशको तुलनामा धेरै रहेको पाइन्छ । अझ नेपालमै हेर्ने हो भने क्यान्सर मृत्युको प्रमुख कारण बन्दै गएको छ। फोक्सोको समस्या, मधुमेह, उच्च रक्तचाप, मिर्गौला फेल हुनु सामान्य भइसकेका छन् । स्वास्थ्यकर्मीहरूसँग बुझ्दै जाने हो भने समग्र नेपालभरि नै नसर्ने रोग प्रत्येक दिन बढ्दै गइरहेको पाउन सकिन्छ । आज नेपाली समाजमा हेर्ने हो भने एक घर, एक नसर्ने रोगका बिरामी छन् भन्दा पनि फरक पर्दैन । आज स्वास्थ्य क्षेत्रको चुनौती भनेकै नसर्ने दीर्घकालीन रोगहरू बन्न पुगेका छन् ।
समग्रमा हेर्दै जाने हो भने यी सबैको कारण एउटै हुन आउँछ, “अस्वस्थ जीवनशैली र खानपान”। एकपटक सोच्ने हो भने हामी कोही कसैले पनि स्वस्थ जीवनशैली अपनाएकै छैनौँ । हामी स्वस्थ हुने बहानामा अनेकौँ प्रयास त गर्छौँ तर हाम्रो जीवनशैली कहिल्यै सुधारेका हुँदैनौँ । हामी स्वस्थ रहन महिना दिनसम्म विभिन्न प्रयासहरू गर्छौँ तर एक दिन रमाइलो गर्ने बहानामा सबै तोड्छौँ । अझ कतिपय व्यक्तिहरूलाई हेर्ने हो भने देखावटी रूपमा विभिन्न क्रियाकलापहरू गरिरहेका हुन्छन्, दुई दिन हिँड्छन् अनि चार दिन अल्छी गर्छन् । आजका जेनजी युवा पुस्ताको त कुरै नगरौँ, मोटोपन घटाउन १४ घण्टा भोकै बस्छन् तर व्यायाम गर्दैनन्, खाना खाँदैनन् तर पिज्जा र बर्गर खान्छन्, समयमा सुत्दैनन्, समयमा उठ्दैनन्, अझ भनौँ कतिले त बिहान घाम उदाएको कहिलेकाहीँ मात्र देख्दछन्, राति अबेरसम्म बस्छन्, कुन खाना स्वस्थ्य छ, कुन अस्वस्थ्य छ ख्याल नै गर्दैनन् । आफूलाई स्मार्ट सम्झनेहरू आज स्मार्ट फोनमा हराइरहेका छन् । हामीले देख्न सक्छौँ, आजकालका युवाहरूमा बढ्दो क्रममा अनिदोपन, मानसिक रोग, मोटोपन, कम उमेरमै विभिन्न दीर्घकालीन रोगहरू देखा पर्न थालेका छन्। फेसनको बहानामा चुरोट, जाँड, रक्सी र हुक्काजस्ता कुलतमा फस्ने गर्दछन्, जसका कारण रोगहरूका प्रमुख कारण बन्न पुग्दछन् ।
आज स्वास्थ्यसम्बन्धी देखा परेका तथ्याङ्कहरूलाई नियालेर हेर्ने हो भने हामीले अपनाइरहेको जीवनशैली नै हामीमा देखा पर्ने गरेका मुख्य रोगहरूका कारण बनेको छ । भनिन्छ नि, ५० ग्रामको जिब्रोलाई सन्तुष्टि बनाउँदा ५० केजीको ज्यानले दुःख पाउँछ । यतिमात्र होइन, कतिपय व्यक्तिहरूलाई हेर्ने हो भने त झन् यतिसम्म हेलचेक्र्याइँ गर्दछन् कि आफूलाई रोग लागेको थाहा हुँदाहुँदै पनि सतर्क हुँदैनन्, नियमित जाँचचेक गर्दैनन् र आफू खतरामा छु भन्ने थाहा हुँदाहुँदै पनि औषधि सेवन गर्दैनन् र अनेक बहानाबाजी गर्दै आफ्नो ज्यान जोखिममा राख्दछन् ।
स्वस्थ जीवनशैली अपनाउन के गर्ने, के नगर्ने ?
– धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन नगर्ने, मदिराको सेवन नगर्ने ।
– स्वस्थकर खाना खाने (पोषिलो खानेकुरा, बोसो रहित खाना, विषादी प्रयोग नभएको ताजा तरकारी, भात एक छाक मात्र खाने, हरियो तरकारी बढी प्रयोग गर्ने, समयको ख्याल गरी नियमित एकै समयमा खाने) ।
– नियमित ६ देखि ८ घण्टा सुत्ने, तनाव कम गर्ने ।
– नियमित दिनमा कम्तीमा ३० मिनेट पसिना बग्ने गरी शारीरिक व्यायाम गर्ने, मोटोपन घटाउने ।
– प्रशस्त पानी पिउने ।
– नियमित स्वास्थ्य परीक्षण गराउने, सामान्य रोग भनी हेलचेक्र्याइँ नगर्ने ।
– स्वच्छ वातावरणमा बस्ने ।
स्वास्थ्य क्षेत्रका विज्ञहरूले सधैँ सल्लाह दिने गर्दछन्, स्वस्थ खानपान गर्ने, नियमित व्यायाम गर्ने र समयसमयमा स्वास्थ्य परीक्षण गराउनुपर्दछ भनिरहेका हुन्छन् । यतिमात्र होइन, जनस्वास्थ्यको क्षेत्रबाट हेर्ने हो भने जनस्वास्थ्यको सिद्धान्तले भन्ने गरेको छ, “उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै उत्तम उपाय हो ।” जसलाई मध्यनजर गर्दै हामी भन्न सक्छौँ, औषधीको प्रयोगले होइन, अब जीवनशैलीको परिवर्तनले नै हामीलाई अमृतबुटीको काम गर्नेछ ।
खान पाए पुग्छ, जीवन चले पुग्छ होइन, अब सन्तुलित खाना खानुपर्छ, धेरै बाँच्नुपर्छ भन्ने सोच हामीले लागू गर्नुपर्छ । स्वस्थकर खाना खोज्ने र दैनिकी बनाउन अब हामी तयार हुनुपर्दछ । हामी स्वस्थ रहे हाम्रो समाज स्वस्थ रहन्छ, समाज स्वस्थ रहे सिङ्गो राष्ट्र स्वस्थ रहन्छ । हामी आफू आज स्वस्थ रहे भोलिको दिनमा आउने नयाँ पुस्ता पनि स्वस्थ जीवनशैली जिउन पाउनेछन् । म बिरामी हुँदा मैले भन्दा धेरै मेरा छोराछोरीले दुःख पाउँछन् भन्ने कुरा अब हामीले पहिल्यै मनन गर्नुपर्दछ । विभिन्न दीर्घकालीन रूपमा देखिने रोगहरूले मानिसको स्वास्थ्य त नाश हुन्छ नै, महँगो उपचारका कारण ठूलो मात्रामा खर्चसमेत हुने गर्दछ । मान्छे र सम्पत्ति दुवै एकै पटक सकिएको उदाहरण धेरै छन् ।
त्यसैले म, मेरो परिवार, मेरो समाज, मेरो देश र पुरै विश्व नै स्वस्थ बनाउन किन आजैदेखि स्वस्थ जीवनशैली जिउन सुरु नगर्ने ? सुरुवात हामी आफैँ गरौँ । जीवनशैली परिवर्तनको थालनी आजैदेखि गरौँ र सर्वप्रथम त हामी हाम्रो भान्सा परिवर्तन गरौँ । स्वस्थ जीवनशैली अपनाउनु कुनै एक दिनको अभियान वा केही समयको प्रयास मात्र होइन, यो जीवनभर अपनाउनुपर्ने बानी र अनुशासन हो। रोग लागेपछि उपचार खोज्नुभन्दा रोग लाग्नै नदिन आफ्नो खानपान, आनीबानी र दैनिक गतिविधिमा सुधार गर्नु बुद्धिमानी हुन्छ। यसका लागि ठूलो धनराशि खर्च गर्नुपर्दैन, केवल इच्छाशक्ति र व्यवहारमा परिवर्तन ल्याउन आवश्यक छ । आज हामीले खाने एउटा अस्वस्थकर परिकार त्याग्नु, केही समय शारीरिक व्यायाममा लगाउनु, पर्याप्त निद्रा लिनु र खराब लतबाट टाढा रहनु नै स्वस्थ भविष्यतर्फको पहिलो पाइला हुन सक्छ । स्वास्थ्य हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो भन्ने कुरा बुझेर यसको संरक्षण गर्ने जिम्मेवारी पनि हामी आफैँले लिनुपर्छ । किनकि स्वस्थ जीवन नै सुखी परिवार, समृद्ध समाज र सबल राष्ट्र निर्माणको आधार हो । त्यसैले अरूलाई स्वस्थ बन्न सुझाव दिनुभन्दा पहिले आफूबाटै परिवर्तनको सुरुवात गरौँ । (लेखक ज्ञवाली जनस्वास्थ्यकर्मी हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?