Butwal Today

चारधाम र नेपाल

५ मंसिर २०८३, शनिबार
अ
अ+
अ-

हाम्रो देश नेपाल विविधताले भरिएको छ । प्राकृतिक सुन्दरता र धार्मिक स्थलका दृष्टिले पनि नेपाल धनी छ। तर हामीले यसको भरपूर उपयोग गर्न सकेका छैनौँ । यहाँ रहेका सम्पदाको सही उपयोग गर्ने भावना न त राजनीतिक रूपमा देखिन्छ, न त सांस्कृतिक रूपमा नै । हाम्रा राजनीतिज्ञहरू आफ्नै दुनो सोझ्याउने ध्याउन्नमा छन् भने विद्वान्हरू समय र परिस्थितिको मूल्याङ्कन नगरी बिरालो बाँधेर श्राद्ध गर्ने कथामा जस्तै आफूले पाएको शिक्षालाई मात्र ठीक हो भनी त्यसैका पछि दौडिरहेका छन् । बिरालो किन बाँध्नुप¥यो भन्ने कुराको विश्लेषण नगर्ने, तर हजुरबाले बिरालो बाँध्थे, हामीले पनि बाँध्नुपर्छ भन्ने रूढिवादी सोचबाट ग्रसित देखिन्छन् ।
हाम्रो छिमेकी देश भारतबाट आर्जित शिक्षा र त्यहीँका विद्वान्हरूद्वारा रचित ग्रन्थहरूको अध्ययनका कारण सबै धार्मिक र सांस्कृतिक स्थल भारतमै भएको कुरामा हामी अन्धभक्त भएका छौँ । भारतीय विद्वान्हरूले नेपालमा भएका धार्मिक स्थल, मठमन्दिरलाई ओझेलमा पार्ने गरी भारतमा आवश्यकताअनुसार कृत्रिम संरचना निर्माण गरी सबै भारतकै हुन् भन्ने प्रमाणित गर्ने गरी पुस्तक लेखे र लेखहरू प्रकाशित गरे। त्यसलाई सरकार र राजनीतिज्ञहरूले पनि समर्थन गर्दै विकास निर्माणमा सहयोग गरे । जसका कारण हामी नेपालीहरू हातमा बत्ती लिएर आगोको खोजीमा भौँतारिइरहेका छौँ ।
हामी चारधाम भन्दै भारतमा दौडिन्छौँ । ज्योतिर्लिङ्गको दर्शन गर्न पनि त्यतै जान्छौँ । जसले गर्दा हाम्रो धेरै खर्च भारततर्फ नै भइरहेको छ । जुन ठाउँहरू धेरैजसो सक्कली नै होइनन् । भारतका विद्वान् शङ्कराचार्यले भारतका चारधामको कल्पना गरे—पूर्वमा जगन्नाथ पुरी, दक्षिणमा रामेश्वरम्, पश्चिममा द्वारका र उत्तरमा बद्रीनाथ । बद्रीनाथको नजिकमा रहेका केदारनाथ, गङ्गोत्री र यमुनोत्रीलाई जोडेर फेरि उत्तरका चारधाम बनाए । प्रत्येक नदीका सङ्गम अथवा दोभानहरूलाई प्रयागको नाम दिए—विष्णुप्रयाग, देवप्रयाग, कर्णप्रयाग, रुद्रप्रयाग आदि । यसैगरी नेपालमा रहेका ज्योतिर्लिङ्ग भारतमा नै छन् भनी ज्योतिर्लिङ्गहरू स्थापना गरे र सरकारी तवरबाट तिनको विकास निर्माणमा सहयोग भयो । जसका कारण भारत धार्मिक पर्यटनमा अगाडि बढेको छ ।
बाह्र ज्योतिर्लिङ्ग नेपालमै छन् । हामी हाम्रा विद्वान् र हाम्रो सरकारले यसमा ध्यान दिएको देखिँदैन । जसले गर्दा हाम्रो धार्मिक पर्यटन फस्टाउन सकेको छैन । सबैले आफ्नो ठाउँबाट धार्मिक पर्यटनको प्रवद्र्धन गर्ने इच्छाशक्ति राख्ने हो भने आन्तरिक र बाह्य धार्मिक पर्यटक भित्र्याउन कुनै कठिनाइ हुने थिएन । नेपालका सक्कली ज्योतिर्लिङ्ग र भारतमा स्थापना गरिएका ज्योतिर्लिङ्ग यसप्रकार छन् ः
माथिका ज्योतिर्लिङ्गहरू नेपालमा रहेका खास प्रकट भएका ज्योतिर्लिङ्ग हुन् भने भारतमा बनाइएका ज्योतिर्लिङ्ग काल्पनिक रूपमा निर्माण गरी व्यापक प्रचारप्रसार र सरकारी तवरबाट लगानी गरेर धार्मिक पर्यटक भित्र्याउने प्रपञ्च हुन् भन्ने कुरा बुझ्न गाह्रो छैन । तैपनि हाम्रा विद्वान् र सरकारी निकायको ध्यान नपुग्दा हाम्रा सन्ततीले नै सबै भारतका सक्कली हुन् भन्ने कुरा बुझ्ने भए ।
हाम्रो देशको अकर्मण्यताकै कारण हामी र हाम्रा सन्तती हातको मुसो छोडी दुलामा हात भन्ने उखानको नियतिमा पुग्ने कुरा निश्चित नै छ । त्यसैले हामी सबैले समयमै बुझेर यी स्थानको विकास र संवद्र्धन गरी विश्वमा जानकारी गराउन सकेमा धार्मिक पर्यटक भित्र्याई मनग्गे आम्दानी गर्न र केही रोजगारी सिर्जना गर्नसमेत सक्ने कुरामा दुईमत नहोला ।
हामीले हाम्रै ठाउँका प्राकृतिक सम्पदाहरूलाई धामका रूपमा, प्रयागका रूपमा, नदीहरूको नाममा प्रचारप्रसार, विकास र संवद्र्धन गर्न सक्छौँ । योगी नरहरिनाथले नेपालका चारधामका बारेमा भन्नुभएको कुरालाई मात्र व्याख्या र विश्लेषण गरी केही विकासमा लाग्ने हो भने पनि पर्यटक बढ्नेछन् ।
नेपालका चारधाम
मुस्ताङ – मुक्तिनाथ धाम
सुनसरी – वराहक्षेत्र धाम
गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गम रिडी – रुरु धाम
काठमाडौँ – पशुपति धाम
यसरी धाम, प्रयाग र मठमन्दिरको आ–आफ्नो ठाउँअनुसार व्याख्या र विश्लेषण गरी प्रचारप्रसार गर्दा देश र जनताको हित हुनेछ ।
लेखक रूपन्देहीको बासिन्दा भएकाले यहीँका धार्मिक स्थानको विवेचना गरी चारधामको परिकल्पना गर्दा ः
पूर्वमा – नीलकण्ठ धाम, दीपनगर, बुटवल
पश्चिममा – मुक्तिनाथ धाम, नयाँगाउँ
उत्तरमा – सिद्धबाबा धाम, बुटवल
दक्षिणमा – मोक्ष धाम, तिलोत्तमा
यी चारधामको विकास गरी रिङरोड बनाई आन्तरिक र बाह्य पर्यटकको गन्तव्यस्थल बनाउन सकिन्छ। साथै सैनामैनामा रहेको बोलबम, वसन्तपुरमा रहेको कामाख्या देवी मन्दिर र नुवाकोटमा रहेको पुत्रेश्वर महादेव मन्दिरको समेत प्रवद्र्धन गरी रूपन्देहीलाई धार्मिक केन्द्र नै बनाउन सकिनेछ ।
यसैगरी लुम्बिनी प्रदेशको परिकल्पना गर्दा ः
बौद्ध धाम – लुम्बिनी, रूपन्देही
बागेश्वरी धाम – बाँके, नेपालगञ्ज
स्वर्गद्वारी धाम – प्यूठान
रेसुङ्गा धाम – गुल्मी
यी र यस्ता धार्मिक पर्यटकीय स्थलको विकास, संवद्र्धन र प्रवद्र्धन गरेमा लुम्बिनी प्रदेशलाई पनि धार्मिक केन्द्र बनाई आयआर्जन गर्न सकिने कुरा निश्चित छ ।
मेरा विद्वान्हरूसँगको अनुरोध के हो भने पुराण र धार्मिक ग्रन्थमा उल्लेख भएका नेपालभित्र पर्ने स्थानहरूको पहिचान गरी तिनको संवद्र्धन र चिनारी गराउने तथा विकास निर्माणका लागि प्रेरणा दिई सरकारलाई नै त्यसको संरक्षण र संवद्र्धन गर्न बाध्य बनाउनुप¥यो भन्ने हो ।
जस्तै, सप्तशतीमा उल्लेख भएका जयन्ती, मङ्गला, काली, भद्रकाली यिनीहरू को हुन् र कुन–कुन स्थानमा छन् भन्ने चिनारी गराउने । भागवत महात्म्यमा राजा परीक्षितको कथा आउँछ । परीक्षितलाई सात दिनमा सर्पले डसेर मर्ने श्राप पाएपछि शुकदेवले कौशिकी नदीको किनारमा भागवत सुनाएर मुक्ति गराए । यो ठाउँ हाम्रो वराहक्षेत्रभित्र पर्ने कोसी नदी नै हो भन्ने कुरा संस्कृत श्लोक बनाई व्याख्या गर्ने हो भने अवश्य पनि यस्ता ठाउँहरूको पुनरुत्थान हुनेछ । अहिले धर्मग्रन्थ र पुराणहरूमा उल्लेख भएका खास ठाउँ नै ओझेलमा परेका छन् ।
पूर्वमा रहेका पाथीभरा, हलेसी महादेव, निसान भगवती धनकुटा, कालिञ्चोक भगवती, पलाञ्चोक भगवती, भीमेश्वर महादेव दोलखा र दक्षिणमा दक्षिणकाली, बूढानीलकण्ठ, पशुपति, गुह्येश्वरी, दन्तकाली, कनकाईधाम, किचकवध, जनकपुरधाम, वराहक्षेत्र, गढीमाई तथा पश्चिममा रहेका मनकामना, विन्ध्यवासिनी, तालबाराही, सेतीवेणी, पाल्पा भगवती, भैरवस्थान, ऋषेश्वर, गलेश्वर मन्दिर, रेसुङ्गा, पाणिनी तपोभूमि, अर्धतौलेश्वर भगवती, मालिका देवी, बडीमालिका, अम्बिकेश्वरी, सुपा देउराली, स्वर्गद्वारी हुँदै खप्तड र चन्दननाथसम्मका स्थानमा विशेष यातायातको व्यवस्था गरी आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न सके तीर्थका नाममा हुने खर्च आफ्नै देशमा रहनेछ ।
लेखक कुनै विद्वान् होइन, तर विद्वान्हरूमा नेपालको धार्मिक र पर्यटकीय विकासका लागि केही गरौँ भन्ने भावना विकास होस् र सम्बन्धित सरोकारवालाहरूको ध्यान पुगोस् भन्ने चाहना राख्दछु । जय होस् !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?