© 2026
भैरहवा ।
नेपाली कांग्रेस (देउवा समूह) को १५औँ नियमित महाधिवेशनअन्तर्गत मंसिर ६ गते भैरहवामा हुने रुपन्देही जिल्ला अधिवेशनको तयारी तीव्र पारिएको छ। अधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्न प्रचारप्रसार, व्यवस्थापन, प्रतिनिधि परिचालन तथा सांस्कृतिक कार्यक्रमको तयारी भइरहेको आयोजकले जनाएको छ।
शुक्रबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरि अधिवेशन व्यवस्थापन समितिका संयोजक कृष्णप्रसाद पोखरेलले मंसिर ६ गते बिहान ११ बजे भैरहवास्थित बुद्धचोकमा भेला भएर ¥याली निकालिने जनाए । झाँकी, मयूर नाच र पञ्चेबाजासहित निकालिने ¥याली भैरहवाका विभिन्न स्थान हुँदै होटल सनस्टार पुगेर औपचारिक कार्यक्रममा परिणत हुनेछ।
अधिवेशनको पहिलो सत्रमा उद्घाटन कार्यक्रम र त्यसपछि बन्द सत्र सञ्चालन गरिने पोखरेलले जानकारी दिए। उनका अनुसार उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका नेता एवम महाधिवेशन संयोजक डा. शशांक कोइराला, विमलेन्द्र निधिलगायतका नेताहरु सहभागी हुने तयारी छ।
अधिवेशनबाट नयाँ जिल्ला नेतृत्व चयन हुने भएकाले सहमतिका लागि प्रयास गरिने संयोजक पोखरेलले बताए। उनले भने, “सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने हाम्रो प्रयास रहनेछ। सहमति हुन नसके स्वस्थ प्रतिस्पर्धाका माध्यमबाट नेतृत्व चयन गरिनेछ।”
अधिवेशनमा गत वर्ष क्रियाशिल नविकरण गरेका ७ हजार बढी कार्यकर्ताबाट नै प्रतिनिधि चयन गरिएको उनले बताए । यसका साथै क्षेत्रिय प्रतिनिधि, सभापति लगायत मतदान प्रक्रियामा सहभागी हुने पोखरेलले बताए पनि यकिन संख्या भने अहिले नै भन्न नसकिने उनले जनाए ।
अधिवेशनलाई व्यवस्थित र सफल बनाउन पार्टीका नेता–कार्यकर्ता, सञ्चारकर्मी तथा रुपन्देहीवासी सबैको सहयोग आवश्यक रहेको उनले बताए। प्रचारप्रसारदेखि सहभागीहरुको व्यवस्थापनसम्मका कामलाई तीव्रता दिइएको उनको भनाइ छ।
यसैबीच, नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधि डा. दामोदर भूसालले जिल्ला अधिवेशनलाई पार्टीको राजनीतिक नेतृत्व चयनसँगै लुम्बिनीको पर्यटन, आर्थिक समृद्धि र सांस्कृतिक पहिचानका विषयमा छलफल गर्ने अवसरका रुपमा लिनुपर्ने धारणा राखेका छन्।
उनले लुम्बिनीको अन्तर्राष्ट्रिय प्रचारप्रसार र ब्रान्डिङलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। विश्वभरका शान्तिप्रेमी मानिसलाई लुम्बिनी भित्र्याउने वातावरण निर्माण गर्न राजनीतिक दलहरुले विशेष पहल गर्नुपर्ने उनको भनाइ छ।
भूसालले राजनीतिक एजेन्डासँगै आर्थिक समृद्धि, पर्यटन प्रवद्र्धन, कला, संस्कृति र धर्मको संरक्षणलाई पनि कांग्रेसले प्राथमिकतामा राख्नुपर्ने बताए। सनातन धर्म तथा संस्कृतिको संरक्षण र बुद्ध दर्शनमा आधारित जीवन पद्धतिको प्रवद्र्धनमा समेत ध्यान दिनुपर्ने उनले उल्लेख गरे।
रुपन्देही जिल्ला अधिवेशन लगतै मंसिर ७ गते दाङको भालुवाङमा र मंसिरकै २१, २२ र २३ गते राजधानी काठमाण्डौमा आयोजना हुने भुसालले जानकारी दिए । यस अघि नै रुपन्देही क्षेत्र नम्बर १ बाट दिवाकर गौडेल, २ बाट तुलसा शर्मा वाग्ले, ३ बाट दिपक खनाल, ४ बाट चन्द्रभान यादव र क्षेत्र नम्बर ५ बाट कमल प्रसाद भुसाल क्षेत्रिय सभापतिको रुपमा चयन भईसकेका छन् ।
पत्रकार सम्मेलनमा रुपन्देही जिल्ला अधिवेशन संयोजक गुणाखर खनाल, सह संयोजक भरथरी यादव, कांग्रेस नेता जनक कोईराला, हेमराज अर्याल, चित्र बहदुर वर्मा लगायतका नेताहरु सहभागी रहेका थिए । रुपन्देही जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै जिल्लामा पार्टीको आगामी राजनीतिक दिशा र प्राथमिकता तय गर्ने अपेक्षा गरिएको छ।