© 2026
२१ औं शताब्दी इतिहासकै सबैभन्दा गतिशील, प्रविधिमैत्री र अभूतपूर्व परिवर्तनको संवाहक बनेर उभिएको छ । औद्योगिक क्रान्तिको जगमा हुर्किएको डिजिटल प्रविधिले यस युगमा आइपुग्दा पूर्णता पाएको छ, जसका कारण भौगोलिक सीमाहरू भर्चुअल माध्यमबाट मेटिँदै संसार एउटा सानो र अन्तरसम्बन्धित ‘विश्व–गाउँ’ मा परिणत हुन पुगेको छ । यही तीव्र रूपान्तरणकारी शताब्दीको न्यानो गर्भबाट एउटा यस्तो नयाँ पुस्ताको उदय भयो, जसको जन्म र समग्र हुर्काइ नै प्रविधिको काखमा भयो । सन् १९९७ देखि २०१२ को बीचमा धर्तीमा पाइला टेकेको यस पुस्तालाई संसारले ‘जेन्जी’ अर्थात् जेनेरेसन जेड वा ’डिजिटल नेटिभ्स’ भनेर चिन्ने गर्दछ । आफ्ना अघिल्ला पुस्ताहरूभन्दा सर्वथा भिन्न सोच, फरक व्यवहार र नवीन जीवनशैली बोकेको यो युवा पुस्ता आजको विश्वका हरेक आयाम, विशेष गरी सामाजिक, आर्थिक र राजनीतिक आन्दोलनहरूमा सबैभन्दा बढी प्रभावकारी र निर्णायक शक्तिका रूपमा स्थापित भइरहेको छ ।
जनसांख्यिकीय लाभ र नेपालको स्वर्णिम अवसर
कुनैपनि देशको आर्थिक, सामाजिक र राजनीतिक रूपान्तरणको मुख्य मेरुदण्ड युवा शक्ति नै हो । ऊर्जा, नवीन सोच र परिवर्तनको तीव्र चाहना भएका युवाहरू नै समाजका वास्तविक संवाहक हुन् । राष्ट्रिय जनगणना २०२१ को अन्तिम प्रतिवेदनलाई नियाल्ने हो भने १६ देखि ४० वर्ष उमेर समूहको जनसंख्या कुल जनसंख्याको ४२.५६ प्रतिशत रहेको देखिन्छ, जसको अर्थ देशमा करिब १ करोड २४ लाख युवाहरू क्रियाशील छन । यो उमेर वर्ग नेपालको जनसांख्यिकीय लाभको मुख्य हिस्सा हो । यति ठूलो ऊर्जावान् जनशक्ति भएको नेपाल इतिहासकै सबैभन्दा स्वर्णिम अवसरको मोडमा उभिएको छ। तर, यो युवा चेतनालाई सही समयमा, सही स्थानमा र सही रूपमा साझेदार नबनाउँदा देशले समृद्धि हासिल गर्नुको साटो उल्टै ठूलो मूल्य चुकाउनुपर्ने गम्भीर अवस्था पनि उत्तिकै विद्यमान देखिन्छ ।
परम्परागत भाष्य र वर्तमानको साझेदारी
लामो समयदेखि नेपाली समाजमा एउटा संकुचित भाष्य स्थापित रहँदै आएको छ, जहाँ युवाहरूलाई केवल भोलिका कर्णधार हुन् भनेर सुगारटाई गरिन्छ । यो थेगोले युवालाई सधैँ भविष्यको मात्र नेतृत्वकर्ता मान्दछ र वर्तमानमा उनीहरूको सक्रिय भूमिका तथा चेतनालाई सधैँ ओझेलमा पार्ने काम गर्दछ । युवाहरूलाई केवल भविष्यको सम्पत्ति भनेर थुमथुम्याइँदा उनीहरू नीति निर्माण, निर्णय प्रक्रिया र नेतृत्वको मूल तहबाट निकै टाढा धकेलिए । उमेर पुगेपछि मात्र बोल्नुपर्छ वा प्रशस्त अनुभव हासिल गरेपछि मात्र नेतृत्व हातमा लिनुपर्छ भन्ने पुरातन तथा सामन्ती सोचले युवाहरूको वर्तमान सिर्जनशीलतालाई लामो समयसम्म कुण्ठित बनाइराख्यो । तर २१ औं शताब्दीको द्रुततर विकास र चेतनाको युगमा युवाहरू भोलिका कर्णधार मात्र होइनन्, उनीहरू आजका सक्रिय साझेदार भइसकेका छन् । देश निर्माणको बृहत् प्रक्रियामा युवाहरूलाई वर्तमानकै सारथि र हिस्सेदार बनाउनु आजको अपरिहार्य आवश्यकता हो । आजको विश्व डिजिटल क्रान्ति, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तनले निर्देशित छ र यो आधुनिक प्रविधि तथा नयाँ सोचमा युवाहरूको पकड सबैभन्दा बलियो देखिन्छ । त्यसैले युवाहरू भोलि आएर देश सम्हाल्ने पाहुना मात्र होइनन्, उनीहरू आजैको घर निर्माण गर्ने दह्रो जग र कुशल निर्माता दुवै हुन् ।
डिजिटल सञ्जाल र तार्किक चेतनाः
यो पुस्तालाई गहिराइबाट बुझ्न उनीहरू हुर्किएको परिवेश र उनीहरूको अन्तर्निहित चेतनालाई केलाउनु आवश्यक हुन्छ । स्मार्टफोन, तीव्र गतिको इन्टरनेट र सामाजिक सञ्जाललाई आफ्नो बाल्यकालदेखि नै अभिन्न साथी बनाएको यो पुस्ताका लागि प्रविधि कुनै विलासिता नभएर श्वासप्रश्वास जत्तिकै अपरिहार्य बनेको छ । डिजिटल सञ्जालको व्यापक पहुँचका कारण उनीहरूको चेतना स्थानीय भूगोलमा मात्र सीमित छैन। परम्परा, धर्म वा संस्कृतिका नाममा युगौंदेखि लादिँदै आएका रूढिवादी मान्यताहरूलाई आँखा चिम्लेर स्वीकार गर्नुको साटो युवा पुस्ता तार्किक प्रश्नहरू तेस्र्याउँदै सत्यको खोजी गर्न रुचाउँछ। टिकटक, इन्स्टाग्राम, एक्स (ट्विटर) र डिस्कॉर्डजस्ता आधुनिक सञ्चार माध्यमहरू उनीहरूका विचार अभिव्यक्ति गर्ने र संसारलाई नयाँ ढंगले नियाल्ने मुख्य आँखा हुन ।
वैश्विक दृष्टिकोण र सामाजिक न्यायः
युवा पुस्ताको चेतनाले स्थानीय दायरा नाघेर वैश्विक रूप धारण गरिसकेको छ। विश्वको कुनै पनि कुनामा घटेको सानाभन्दा साना अन्याय वा पर्यावरणमा परेको आघातले उनीहरूको मनमस्तिष्कमा तत्कालै गहिरो तरंग पैदा गर्छ । यो पुस्ता लैंगिक समानता, सीमान्तकृत समुदायको अधिकार, जातीय विविधता र एलजीबीटीक्युप्लस पहिचानप्रति अत्यधिक उदार, संवेदनशील र स्वीकार्य देखिन्छ । यो पहिचान मानव यौनिकता र लैंगिक विविधतालाई बुझाउने एक साझा र आदरार्थी अभिव्यक्ति हो, जसले स्थापित परम्परागत परिभाषाभन्दा भिन्न र व्यापक प्राकृतिक स्वरूपहरूलाई समेट्छ । महिलाप्रति मात्र यौनिक तथा भावनात्मक आकर्षण राख्ने लेस्बियन, पुरुषप्रति आकर्षित हुने गै, समाजमा आफ्नो वा अन्य जुनसुकै लिंगका व्यक्तिहरूप्रति अनुराग राख्ने बायसेक्सुअल र जन्मँदा तोकिएको शारीरिक लिंग र आफ्नो भित्री लैंगिक अनुभूति मेल नखाने ट्रान्सजेन्डर व्यक्तिहरूको पहिचान यसैभित्र समाहित छ । यसैगरी, शरीरको जैविक बनावट परम्परागत पुरुष वा महिलाको परिभाषामा स्पष्टसँग नपर्ने अन्तरलिंगी (इन्टरसेक्स), यौन आकर्षण महसुस नगर्ने एसेक्सुअल र जोसुकैप्रति पनि आकर्षित हुन सक्ने प्यानसेक्सुअल व्यक्तिहरू पनि यस समुदायका अभिन्न अंग हुन् ।
नेपाली कानुन र समाजमा यस समग्र विविधतालाई ’यौनिक तथा लैंगिक अल्पसंख्यक’ समुदाय भनेर सम्मानजनक सम्बोधन गरिएको छ । नेपालको संविधानले नै यो समुदायको हक अधिकारलाई मौलिक हकका रूपमा संरक्षण गर्दै नेपाली माटोमा हरेक मानवको पहिचान र अस्तित्व उस्तै आदरणीय रहेको तथ्यलाई प्रगाढ बनाएको छ । युवा पुस्ताले यस प्रकारका सीमान्तकृत समुदायको हकअधिकार र सामाजिक न्यायका लागि डिजिटल तथा भौतिक दुवै क्षेत्रको अधिकतम उपयोग गरेर आन्दोलनलाई नयाँ उचाइ दिइरहेको छ ।
आन्दोलनको शैलीमा विकेन्द्रीकरणः
यस पुस्ताले २१ औं शताब्दीका आन्दोलनहरूको परम्परागत परिभाषा र शैलीलाई पूर्णरूपमा बदलिदिएको छ । विगतका आन्दोलनहरू कुनै राजनीतिक दल, ठूला संगठन वा स्थापित शीर्ष नेताहरूको कमाण्डमा मात्र चल्ने गर्थे, जसका लागि लामो योजना, पम्फ्लेटिङ र खर्चिला आमसभाहरूको सहारा लिनुपथ्र्यो । तर आधुनिक युवाले आन्दोलनलाई विकेन्द्रीकृत र नेताविहीन स्वरूप प्रदान गरेको छ, जहाँ प्रविधिको सही उपयोग गरेर पलभरमै लाखौँ मानिसहरू एउटै मुद्दामा ऐक्यबद्ध हुन सक्छन् । यसको सबैभन्दा ठूलो र जीवन्त उदाहरण जलवायु परिवर्तनविरुद्धको वातावरणीय आन्दोलन हो, जहाँ ग्रेटा थनबर्ग जस्ता जेन्जी प्रतिनिधिले सुरु गरेको ’फ्राइडेज फर फ्युचर’ अभियानले संसारभरका शक्तिशाली शासकहरूलाई आफ्नो नीति बदल्न बाध्य तुल्यायो । सामाजिक न्यायका क्षेत्रमा पनि अमेरिकामा जर्ज फ्लोयडको हत्यापछि सल्किएको ‘ब्ल्याक लाइभ्स म्याटर’ आन्दोलन र महिला अधिकारका लागि उठेको ‘मीटू’ अभियानलाई विश्वव्यापी लहरका रूपमा फैलाउन यो पुस्ताले डिजिटल स्पेसको अधिकतम उपयोग ग¥यो ।
नेपाली धरातलमा युवा विद्रोही रूप
नेपाली धरातलमा युवा पुस्ताको यो हस्तक्षेपकारी चेतना र संगठनात्मक स्वरूपको सबैभन्दा गहिरो दृष्टान्त कोभिड–१९ महामारीको भयावह समयमा प्रकट भयो । राज्य संयन्त्र नागरिकको स्वास्थ्यप्रति संवेदनशील नभएको र क्वारेन्टिनहरू अत्यन्तै अव्यवस्थित बनेको त्यो संकटपूर्ण घडीमा कुनै राजनीतिक दल वा स्थापित नेताको आह्वानविना नै नेपाली युवा पुस्ता स्वतःस्फूर्त रूपमा सडकमा ओर्लियो। सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामको माध्यमबाट क्षणभरमै जोडिएका युवाहरूले ‘इनफ इज इनफ’ नामक एउटा ऐतिहासिक सत्याग्रहको बलियो जग बसाले । कुनै दलको झन्डा नबोकी, भौतिक दूरी कायम गर्दै, हातमा केवल सिर्जनात्मक प्लेकार्ड लिएर सडकमा शान्तिपूर्णरूपमा पल्टिएका ती युवाहरू परम्परागत राजनीतिक आन्दोलनका राँको बाल्ने र टायर बाल्ने उग्र शैलीभन्दा पूर्णतः भिन्न र शालीन थिए । उनीहरूको माग सत्ताको छिनाझपटी थिएन, बरु पीसीआर परीक्षणको दायरा बढाउने र राज्यकोषको पारदर्शिता सुनिश्चित गर्ने जस्ता विशुद्ध जनसरोकारका मुद्दाहरू थिए । यो आन्दोलनले नेपाली युवाहरू सामाजिक सञ्जालको भर्चुअल संसारमा मात्र सीमित छैनन्, बरु देश संकटमा पर्दा भौतिक रूपमै जवाफदेहिता माग्न सडकमा ओर्लन सक्छन् भन्ने अकाट्य प्रमाण प्रस्तुत ग¥यो ।
राजनीतिक हस्तक्षेप र नयाँ नेतृत्व
पछिल्ला वर्षहरूमा नेपालमा विकास भइरहेका तीव्र राजनीतिक उतारचढाव र उथलपुथलका बीच यो पुस्ता केवल सडक प्रदर्शनमा मात्र सीमित रहेन, बरु यसले देशको नीति निर्माण र सत्ताको मूलद्वारमै आफ्नो बलियो उपस्थिति र हस्तक्षेपकारी भूमिका प्रमाणित गरिदियो । परम्परागत राजनीतिक दलहरूको नेतृत्व तहमा देखिएको घोर विचारशून्यता, चरम नातावाद र उही पुराना अनुहारहरूको निरन्तरताप्रति चरम असन्तुष्ट बनेको नेपाली युवा पुस्ताले सामाजिक सञ्जालमा ‘नो नट अगेन’ जस्ता शक्तिशाली डिजिटल अभियानहरू सिर्जना ग¥यो । यो अभियानको प्रभाव केवल भर्चुअल संसारमा मात्र सीमित भएन, बरु यसले चुनावी मतपरिणाममै ठूलो फेरबदल ल्याइदियो । दशकौंदेखि जरा गाडेर बसेका स्थापित राजनीतिक शक्तिहरूलाई चुनौती दिँदै यो पुस्ताले वैकल्पिक राजनीतिक दल, युवा तथा स्वतन्त्र उम्मेदवारहरूलाई देशका प्रमुख सहरहरूको स्थानीय नेतृत्वदेखि संघीय संसद् र मन्त्री तहसम्म पु¥याउन निर्णायक भूमिका खेल्यो । आज संसद् र स्थानीय तहमा बलियो ढङ्गले सुनिन थालेको नयाँ युवा नेतृत्वको आवाज र उनीहरूले उठाइरहेका सुशासन, डिजिटल प्रणालीको विकास र नीतिगत सुधारका एजेन्डाहरू वास्तवमा यही सचेत युवा पुस्ताकै सामूहिक आकांक्षा र ऊर्जाको प्रतिबिम्ब हुन् । संसद्को रोस्टममा उभिएर युवा जनप्रतिनिधिहरूले सुशासन, प्रविधिमैत्री सेवा र पारदर्शी नीति निर्माणका लागि जसरी आवाज बुलन्द गरिरहेका छन्, त्यसले पुराना र अनुभवी भनिएका नेताहरूलाई समेत जनताप्रति जवाफदेही बन्न पूर्ण रूपमा बाध्य पारेको छ ।
उद्यमशीलता र रेमिट्यान्सको पासो
देशको आर्थिक मेरुदण्डलाई बलियो बनाउन युवा उद्यमशीलता र आर्थिक आत्मनिर्भरता अर्को अपरिहार्य स्तम्भ हो । आजका युवाहरू परम्परागत नौ–देखि–पाँचको जागिरे र पराई मानसिकताबाट माथि उठेर आफैँ रोजगारदाता बन्ने दिशामा अग्रसर देखिन्छन् । नयाँ प्रविधि, ई–कमर्स, एग्रो–टेक, पर्यटन र सूचना प्रविधिको क्षेत्रमा नेपाली युवाहरूले देशभित्रै नवप्रवर्धनात्मक व्यवसाय सुरु गरेर आर्थिक क्रान्तिको जग बसालेका छन् । युवा उद्यमशीलता केवल आर्थिक उपार्जनको माध्यम मात्र होइन, यो देशको अर्थतन्त्रलाई परनिर्भरताबाट जोगाउने र देशभित्रै रोजगारीको नयाँ अवसर सिर्जना गर्ने अचूक औषधि पनि हो । स्वदेशी कच्चा पदार्थको प्रयोग र मौलिक उत्पादनहरूको अन्तर्राष्ट्रिय बजारीकरणमा युवा उद्यमीहरूले उदाहरणीय साझेदारी देखाइरहेका छन् । तर, नेपाली युवाको वर्तमान सामाजिक र आर्थिक पाटोलाई केलाउँदा वैदेशिक रोजगारी र विप्रेषण अर्थात् रेमिट्यान्सको प्रभाव सबैभन्दा गम्भीर र दूरगामी बनेको देखिन्छ । देशको कुल गार्हस्थ्य उत्पादनको झन्डै एक चौथाइ हिस्सा रेमिट्यान्सले धानेको तीतो यथार्थ एकानिर छ भने, अर्कोतिर यसले गम्भीर सामाजिक मूल्य मागिरहेको छ । गाउँघरमा युवाहरूको चरम अनुपस्थितिले मलामी र रोपहारको अभाव खड्किएको छ, जसले गर्दा हाम्रो मौलिक सामाजिक एकता र सामूहिक भावनामा गम्भीर ह्रास आउँदैछ। युवाहरू आफ्नो तातो श्रम र पसिना विदेशको मरुभूमिमा बगाउन बाध्य हुँदा नेपालका उर्वर भूमिहरू बाँझो झाडीमा परिणत भइरहेका छन् । परिवार विखण्डन, श्रीमान–श्रीमतीबीचको बढ्दो दूरी र बालबालिकाहरूमा अभिभावकत्वको अभाव जस्ता गम्भीर सामाजिक संकटहरू देशभित्र निम्तिएका छन् । देशको अर्थतन्त्रलाई परनिर्भरताको पासोमा पारेर प्राप्त हुने यो रेमिट्यान्सले युवाहरूलाई आर्थिक समृद्धिको साझेदार होइन, केवल मनी ट्रान्सफरको एउटा साधन मात्र बनाएको छ। विदेशबाट भित्रिने पूँजीलाई उपभोगमा मात्र खर्च नगरी स्वदेशमै उत्पादनशील र उद्यमशील क्षेत्रमा लगानी गरी युवालाई आर्थिक विकासको हिस्सेदार बनाउनु नै आजको मुख्य चुनौती हो ।
आन्तरिक चुनौती र प्रतिभा पलायन
यद्यपि, युवा पुस्ताको यो आन्दोलन गर्ने र चेतना फैलाउने शैली जति प्रभावकारी र द्रुत देखिन्छ, यसका भित्री चुनौती र सीमाहरू पनि उत्तिकै गम्भीर छन् । सामाजिक सञ्जालमा पोस्ट सेयर गर्ने वा केवल लाइक गरेरै आफ्नो दायित्व पूरा भएको सम्झने ‘स्ल्याक्टिभिजम’ को रोगले कहिलेकाहीँ अनलाइनको आक्रोशलाई सडकसम्म पुग्नै दिँदैन । सूचनाको महासागरमा तैरिरहने यो पुस्ता मिथ्या सूचना र नियोजित प्रोपोगान्डाको सिकार हुने जोखिम पनि उत्तिकै रहन्छ । चौबीसै घण्टा संसारभरका नकारात्मक समाचार, युद्ध र पर्यावरण विनासका दृश्यहरू नियाल्दा यो पुस्तामा गहिरो मानसिक तनाव, छटपटी र बर्नआउटको समस्या देखिन थालेको छ । सामाजिक सञ्जालका एल्गोरिदमहरूले मानिसहरूलाई आफ्नै विचार मिल्ने संकुचित समूहमा मात्र कैद गरिदिँदा फरक मत राख्नेहरूसँगको स्वस्थ संवाद टुट्दै गएको छ, जसले समाजलाई थप ध्रुवीकृत बनाउने खतरा बढाएको छ । अर्को गम्भीर चुनौती भनेको ’ब्रेन ड्रेन’ अर्थात् प्रतिभा पलायनको हो। रोजगारीको अभाव, गुणस्तरीय शिक्षाको कमी र भविष्यको असुरक्षाका कारण दैनिक हजारौँ युवाहरू बाहिरिँदा देश वृद्धहरूको देश बन्ने खतरा बढेको छ । नेपालको शिक्षा अझै पनि व्यावहारिक, सीपमूलक र बजारमुखी हुन सकेको छैन, जसका कारण प्रमाणपत्र बोकेका युवाहरूमा बेरोजगारी दर उच्च छ र न्यून ज्यालामा श्रम गर्नुपर्ने बाध्यता छ ।
नीतिगत सुधार र समृद्धिको मार्गचित्रः
युवाहरूलाई केवल नारामा मात्र सीमित नगरी व्यवहारमै वर्तमानको साझेदार र समृद्धिको संवाहक बनाउन राज्य, समाज र स्वयं युवाहरूले ठोस कदमहरू चाल्नुपर्छ । आर्थिक तथा पूँजी लगानीका क्षेत्रमा रेमिट्यान्स ऋणपत्रको दायरा बढाई राष्ट्रिय गौरवका आयोजना, जलविद्युत् र भौतिक पूर्वाधारमा युवाहरूलाई प्रत्यक्ष रूपमा जोड्नुपर्छ। सार्वजनिक–निजी–युवा साझेदारी मोडेलमार्फत कृषि प्रशोधन, पर्यटन र प्रविधि क्षेत्रका स्टार्टअपहरू सञ्चालन गर्नु पर्दछ। डिजिटल रेमिट्यान्स प्रणालीलाई प्रोत्साहन गरी उत्पादकमूलक कोष खडा गर्ने र बिनाधितो सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने नीति राज्यले तत्काल लिनुपर्छ। शिक्षा र सीप विकासको पाटोमा शिक्षालाई ‘कमाउँदै सिक्दै’ मोडेलमा लैजाँदै प्रत्येक स्थानीय पालिकामा प्राविधिक तथा व्यावसायिक शिक्षालयहरू स्थापना गर्नु जरुरी छ । युवा उद्यमीहरूका नयाँ आइडियाहरूलाई उद्यममा बदल्न इन्कुबेसन सेन्टर र कर छुटको व्यवस्था गर्नुपर्छ। यसैगरी बजेट र योजना निर्माणको क्षेत्रमा युवामैत्री बजेट र नीतिको तर्जुमा गर्दै स्थानीय सरकारहरूले आफ्नो बजेटको निश्चित हिस्सा युवा उद्यमशीलता, खेलकुद र सीप विकासमा अनिवार्य विनियोजन गर्नुपर्छ। राजनीतिक तथा प्रशासनिक अवसर सिर्जना गर्दै राजनीतिक दलहरूले आफ्नो नेतृत्व तहमा युवाहरूको निश्चित प्रतिशत कोटा निर्धारण गर्नुपर्छ र राज्यका सल्लाहकार समूह, नीति निर्माण तह र विकास बोर्डहरूमा युवा विज्ञहरूलाई अनिवार्य सामेल गराउनुपर्छ । २१औं शताब्दीको युवा पुस्ता केवल इतिहासको मूक दर्शक मात्र होइन, बरु यो त नयाँ युगको वास्तविक संवाहक हो। उनीहरूले आन्दोलनलाई केवल सत्ता प्राप्तिको परम्परागत भिजिटिङ कार्ड वा सिंढी मात्र नबनाएर समग्र प्रणाली सुधार, मानवीय संवेदना, प्रविधिमैत्री शासकीय व्यवस्था र सामाजिक न्यायको साझा आवाज बनाएका छन्। युवाहरू राष्ट्रका भूत हुन्, जसले इतिहासबाट गहिरो पाठ सिक्छन; वर्तमान हुन्, जसले आज देशका लागि काम गर्छन; र भविष्य हुन्, जसले भोलिको सुन्दर मार्गचित्र कोर्छन् । युवाहरूलाई सधैँ भोलिको आश्वासन दिएर वर्तमानमा निष्क्रिय वा उदासीन राख्नु राष्ट्रका लागि सरासर आत्मघाती कदम हुन सक्छ । जबसम्म युवाहरूले आफ्नो देशमा श्रमको सही मूल्य, विचारको सम्मान र नेतृत्वको उचित अवसर पाउँदैनन्, तबसम्म समृद्धि कोरा कागजको नारामा मात्रै सीमित रहनेछ । यस पुस्ताको अदम्य जोश, प्रविधिमाथिको विलक्षण पकड र विश्वव्यापी चेतनालाई यदि अघिल्लो पुस्ताको अनुभव, परिपक्वता र रणनीतिक दृष्टिकोणसँग समन्वय गराउन सकियो भने मात्र २१ औं शताब्दी साँच्चै नै एउटा समतामूलक, सुन्दर र समृद्ध संसारमा परिणत हुन सक्छ । युवा पुस्ताले हिँडिरहेको यो आधुनिक बाटोले स्पष्ट सन्देश दिन्छ कि आउँदो भविष्य परम्परावादी जडताको होइन, बरु निरन्तर प्रश्न गर्ने, नवीनता खोज्ने र आर्थिक समृद्धिका लागि आफैँ साझेदार बनेर अन्याय र कुशासनका विरुद्ध अटुट रूपमा जुधिरहने सचेत मानव चेतनाको हो । युवा चम्किँदा मात्र देश चम्किन्छ र देश समृद्धिको दिशामा लम्किन्छ ।