© 2026
नवलपरासी । बजारमा पाइने महँगा खाद्यवस्तु मात्रै पोषणका स्रोत होइनन्, घरआँगन र खेतबारीमै उत्पादन हुने अन्न, सागसब्जी तथा फलफूलबाट पनि शरीरलाई आवश्यक पोषण प्राप्त गर्न सकिन्छ भन्ने सन्देशसहित सरावलमा पोषण तथा सरसफाइसम्बन्धी प्रदर्शनी आयोजना गरिएको छ ।
सरावल गाउँपालिका–२ मगरमुडाहामा जारी उद्योग व्यापार मेलामा स्थानीयस्तरमा उपलब्ध खाद्यवस्तुको पोषण महत्त्व, तिनको उपयोग र सन्तुलित खानपानबारे जानकारी दिन छुट्टै प्रदर्शनी कक्ष राखिएको हो । सरावल उद्योग वाणिज्य सङ्घले आयोजना गरेको मेलामा हातेमालो समाज नेपालले उक्त कक्ष व्यवस्थापन गरेको छ ।
प्रदर्शनीमा स्थानीयस्तरमा उत्पादन हुने अन्न, फलफूल, तरकारी तथा अन्य पोषणयुक्त खाद्यवस्तुका नमुना राखिएका छन् । ती खाद्यवस्तुबाट प्राप्त हुने पोषण, दैनिक खानपानमा तिनलाई समावेश गर्ने तरिका र परिवारका सदस्यको स्वास्थ्यमा पर्ने प्रभावबारे सहभागीलाई जानकारी दिइएको छ ।
प्रदर्शनीले विशेषगरी बालबालिका, गर्भवती तथा सुत्केरी महिला र परिवारका अन्य सदस्यका लागि सन्तुलित भोजनको महत्त्वलाई जोड दिएको छ । स्थानीय उत्पादनको उपयोग बढाउन सके पोषणयुक्त खानामा पहुँच सहज हुनुका साथै स्थानीय कृषि उपजको मागसमेत बढ्ने सन्देश दिइएको छ ।
हातेमालो समाज नेपालका मीन रानाका अनुसार स्थानीयस्तरमै उपलब्ध खाद्यवस्तुको माग र उपभोग बढाउने तथा खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी व्यवहारमा सुधार ल्याउने उद्देश्यले प्रदर्शनी कक्ष राखिएको हो । उनका अनुसार पोषणका लागि बजारका महँगा खाद्यवस्तुमै निर्भर हुनुपर्ने अवस्था छैन । आफ्नै खेतबारीमा उत्पादन हुने अन्न, सागसब्जी र फलफूललाई नियमित खानपानमा समावेश गर्दा पनि आवश्यक पोषण प्राप्त गर्न सकिन्छ । प्रदर्शनीमा खानपानसँगै व्यक्तिगत तथा घरायसी सरसफाइलाई पनि उत्तिकै महत्त्व दिइएको छ ।
सुरक्षित खानेपानीको प्रयोग, साबुनपानीले हात धुने बानी, खाद्यवस्तुको स्वच्छता र घरवरपरको वातावरण सफा राख्नुपर्ने विषय समेटिएका जानकारीमूलक पोस्टर तथा शैक्षिक सामग्री राखिएका छन् ।
पोषणयुक्त खाना खाए पनि दूषित पानी र अस्वच्छ वातावरणका कारण विभिन्न रोग लाग्न सक्ने भएकाले सन्तुलित आहारसँगै सरसफाइमा ध्यान दिनुपर्ने रानाले बताए । पोषण र सरसफाइ एकअर्कासँग जोडिएका विषय भएकाले दुवै पक्षमा समुदायको व्यवहार परिवर्तन आवश्यक रहेको उनको भनाइ छ ।
ग्रामीण क्षेत्रमा पोषणसम्बन्धी जानकारीको कमी, खानपानमा विविधताको अभाव र सरसफाइका व्यवहारमा कमजोरी अझै देखिने गरेका छन् । घरमै उपलब्ध खाद्यवस्तुको पोषण महत्त्वबारे जानकारी नहुँदा कतिपय परिवारले स्थानीय उत्पादनको पर्याप्त उपयोग गर्न सकेका छैनन् । यस्तो अवस्थामा मेलाजस्ता सार्वजनिक जमघटमा प्रदर्शनी राख्दा एकैपटक धेरै नागरिकसम्म स्वास्थ्य र पोषणसम्बन्धी सन्देश पु¥याउन सकिने आयोजकको अपेक्षा छ ।
प्रदर्शनीस्थलमा हेलन केलर, भिटामिन एन्जल्स, आईडीईलगायत संस्थाका साथै नेपाल सरकार र बेस नेपालको लोगोसमेत राखिएको छ । स्थानीय खाद्यवस्तुको उत्पादन र उपभोग बढाउने तथा स्वच्छ खानेपानी र सरसफाइसम्बन्धी बानी विकास गर्ने उद्देश्यले समुदायस्तरमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ ।