Butwal Today

स्थानीय निर्वाचन चैत ५ भित्र गर्न आयोगको सुझाव

१ मंसिर २०८३, मंगलवार
अ
अ+
अ-

काठमाडौं । सरकारले आगामी स्थानीय तह निर्वाचनको मिति घोषणाको तयारी थालेको छ । निर्वाचन आयोगले निर्वाचनका लागि उपयुक्त समय र मितिबारे सरकारलाई सुझाव दिएपछि मन्त्रिपरिषद्बाट मिति तोक्ने प्रक्रिया अघि बढ्न लागेको हो ।

निर्वाचन आयोगले वर्तमान जनप्रतिनिधिको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि नै निर्वाचन सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्थालाई आधार मानेर आगामी चैत ५ गतेभित्र निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले सोही वर्ष जेठ ५ गतेदेखि कार्यभार सम्हालेका थिए ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले स्थानीय तह निर्वाचनका लागि उपयुक्त मिति सरकारलाई सिफारिस गरिसकेको जानकारी दिए । उनका अनुसार निर्वाचन सम्पन्न गर्न कानुनले १२० दिन अर्थात् चार महिनाको समय निर्धारण गरेको छ । जनप्रतिनिधिको कार्यकाल सकिनुभन्दा दुई महिनाअघि निर्वाचन गर्नुपर्ने भएकाले चैत ५ गतेभित्र मतदान सम्पन्न हुने गरी मिति प्रस्ताव गरिएको उनले बताए । निर्वाचन आयोगको सुझावअनुसार चैत ५ गतेभित्र निर्वाचन सम्पन्न गर्न सरकारले मंसिरको पहिलो साताभित्रै निर्वाचनको मिति घोषणा गर्नुपर्ने हुन्छ । निर्वाचनको तयारी, मतदाता नामावली व्यवस्थापन, निर्वाचन सामग्रीको व्यवस्था र जनशक्ति परिचालनलगायतका कामका लागि आवश्यक समय सुनिश्चित गर्न आयोगले चार महिनाको अवधि माग गरेको हो ।

आयोगले यसअघि नै निर्वाचनमा सहभागी हुने राजनीतिक दलहरूसँग परामर्श गरी सरकारलाई सुझाव दिएको थियो । अब सरकारले आयोगको परामर्श र राजनीतिक दलहरूको धारणा समेतका आधारमा निर्वाचनको मिति तय गर्नेछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फर्किएपछि प्रधानमन्त्रीले आवश्यक राजनीतिक परामर्श गरेर निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको बताइएको छ । सरकारले मिति तोकेपछि आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरी तयारीका काम अघि बढाउनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?