© 2026
काठमाडौं । आगामी स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर नेकपा एमालेले केन्द्रीय नेतृत्वदेखि पालिका तहसम्मका नेता तथा जनप्रतिनिधिलाई एउटै मञ्चमा उतार्ने भएको छ । पार्टीको वैचारिक तथा संगठनात्मक एकता सुदृढ गर्दै निर्वाचनको तयारीलाई व्यवस्थित बनाउने उद्देश्यसहित एमालेले मंसिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्न लागेको हो ।
महाधिवेशनपछिको ठूलो कार्यक्रमका रूपमा लिइएको भेलामा देशभरबाट ३ हजार ५१४ जना सहभागी हुने एमालेले जनाएको छ । भेलामा केन्द्रीय कमिटीदेखि पालिका तहका पार्टी कमिटीका पदाधिकारी, संघीय तथा प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधि र जनसंगठनका प्रतिनिधिसम्मको सहभागिता रहनेछ ।
सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख निरज आचार्यले पार्टीको इतिहासमै पहिलोपटक केन्द्रीय नेतृत्वदेखि पालिका तहसम्मका नेता तथा जनप्रतिनिधिलाई एउटै मञ्चमा सहभागी गराएर राष्ट्रिय भेला आयोजना गर्न लागिएको जानकारी दिए ।
उनका अनुसार भेलाको मुख्य उद्देश्य आगामी स्थानीय तह निर्वाचनको पूर्वतयारी गर्नु, पार्टीका निर्णय तथा राजनीतिक बुझाइमा एकरूपता कायम गर्नु र संगठनलाई थप सुदृढ बनाउनु हो । पार्टीका दुई प्रमुख कार्यभार र १५ वटा कामलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा पनि भेलामा छलफल हुनेछ ।
पछिल्लो राजनीतिक परिस्थितिमा देखिएको कुशासन, राजनीतिक अन्योल र निराशालाई चिर्दै जनतामाझ नयाँ आशा र ऊर्जा सञ्चार गर्ने उद्देश्यसमेत भेलाले राखेको आचार्यले बताए ।
भेलाको उद्घाटन मंसिर २ गते बिहान ११ बजे पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । उद्घाटन सत्रमा ओलीले मुलुकको समसामयिक राजनीतिक अवस्था, एमालेको दृष्टिकोण र आगामी राजनीतिक कार्यदिशाबारे सम्बोधन गर्नेछन् । साथै, केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले पारित गरेका दुई प्रमुख कार्यभार र १५ वटा कामका विषयमा समेत उनले मार्गनिर्देशन गर्ने कार्यक्रम छ ।
भेलामा पार्टीका वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समसामयिक राजनीतिक विषय र पार्टीका कार्यभारबारे विशेष सम्बोधन गर्नेछिन् । उपाध्यक्ष रामबहादुर थापाले संसदीय संघर्षसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नेछन् भने अर्का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा रहँदा भएका काम तथा उपलब्धिको समीक्षा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी महासचिव शंकर पोखरेलले पार्टी सुदृढीकरण, शुद्धीकरण र आगामी स्थानीय तह निर्वाचनसम्बन्धी कार्ययोजना प्रस्तुत गर्नेछन् ।
एमालेले भेलामा सहभागी सबैबाट स्थानीय तह निर्वाचन केन्द्रित लिखित सुझाव संकलन गर्ने तयारी गरेको छ । ती सुझावका आधारमा आगामी निर्वाचनको रणनीति, संगठन परिचालन र पार्टीको तयारीलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, प्रवासी नेपाली मञ्चका प्रतिनिधि र पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष सहभागी हुनेछन् । त्यसैगरी संघीय सांसद, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका प्रमुख र उपप्रमुख तथा जनसंगठनका प्रतिनिधिको सहभागिता रहनेछ ।
भेलाको व्यवस्थापन, सुरक्षा र स्वास्थ्य सेवासम्बन्धी तयारी पूरा भएको प्रचार विभाग प्रमुख आचार्यले जानकारी दिए । कार्यक्रम व्यवस्थापनका लागि १९० जना स्वयंसेवक परिचालन गरिनेछ । सहभागीको स्वास्थ्य उपचारका लागि कार्यक्रमस्थलको मुख्य प्रवेशद्वारमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिनेछ भने सवारीसाधन पार्किङको व्यवस्था पार्टी केन्द्रीय कार्यालय च्यासलमा मिलाइएको छ ।
सहभागीले आफ्नो आवासको व्यवस्था आफैँ गर्नुपर्नेछ । आवासको व्यवस्था गर्न नसक्नेहरूका लागि सम्बन्धित जिल्ला सम्पर्क कमिटीले समन्वय गर्ने एमालेले जनाएको छ । उद्घाटन समारोहमा सञ्चारकर्मीलाई समाचार संकलन तथा श्रव्यदृश्य सामग्री छायांकन र सम्प्रेषणका लागि सभाहलमा प्रवेश दिइनेछ । बन्दसत्रका गतिविधिबारे भने पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले मिडिया सेन्टरमार्फत नियमित जानकारी गराउने व्यवस्था मिलाइएको छ ।
स्थानीय निर्वाचनको तयारीसँगै पार्टीको राजनीतिक धारणा, संगठन परिचालन र नेतृत्वदेखि तल्लो तहसम्मको बुझाइमा एकरूपता कायम गर्ने एमालेको प्रयासका रूपमा यस राष्ट्रिय भेलालाई हेरिएको छ ।