© 2026
बुटवल ।
पाँचबर्षे कार्यकालको केही महिना मात्र बाँकी रहेका बेला बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयलाई अभिनन्दन् गरिएको छ । प्रतिमा बस्नेत स्मृति सहयोगी संस्था बुटवलको १४ औं बार्षिक साधारण सभा तथा १५ औं प्रतिमा जयन्तीको अवसरमा उपमहानगर प्रमुख पाण्डेयलाई अभिनन्दन गरिएको हो ।
वि.सं २०७९ सालको स्थानीय निर्वाचनबाट बुटवल उपमहानगरपालिकाको मेयर पदमा निर्वाचित भएपछि बुटवलको समग्र विकास निर्माण तथा सामाजिक कार्यमा पु¥याएको योगदानको कदर स्वरूप उपमहानगर प्रमुख पाण्डेयलाई अभिनन्दन गरिएको संस्थाका अध्यक्ष नरेन्द्र बस्नेतले जानकारी दिएका छन् ।
सो अवसरमा उपमहानगर प्रमुख पाण्डेयले सबै जनप्रतिनिधि तथा विभिन्न सामाजिक संघ संस्थाहरू र बुटवलवासीको सहयोगमा बुटवलको समग्र विकासले गति लिएको भन्दै बाँकी अवधिमा पनि बुटवलको विकासमा समर्पित रहने प्रतिवद्वता ब्यक्त गरे । बुटवलको विकासमा लामो समयदेखि समस्याका रूपमा रहेको सुकुम्बासी समस्या समाधान गर्न र लालपुर्जा बितरण गर्नका लागि संघीय सरकारसँग समन्वय र सहकार्य गर्न आफ्नो तर्फबाट भरमग्दुर प्रयास गरिरहेको उनले बताए ।
प्रतिमा बस्नेत स्मृति सहयोगी संस्था बुटवलका अध्यक्ष नरेन्द्र बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका सल्लाहकार तथा बुटवलका पुर्व नगर उपप्रमुख बिमलबहादुर शाक्य, बुटवल माविका प्रधानाध्यापक होमबहादुर रायमाझी, संस्थाका सचिव गौतमलाल शाक्य, सदस्य पुजा बानियालगायतले संस्थाका गतिविधि बारे चर्चा गरेका थिए ।
कार्यक्रममा बुटवल मा.वि, उजिरसिंह मा.वि, महाविर बोर्डिङ्ग स्कुल, स्थानीय मदरसा लगायतका बिभिन्न बिद्यालयहरूमा अध्ययन गर्ने ३६ जना बालबालिकालाई छात्रवृत्ति प्रदान गरिएको थियो । सो अवसरमा संस्थाले संचालन गरेको रक्तदान कार्यक्रमका सहभागि नियमित रक्तदाता तथा सामाजिक कार्यमा क्रियाशील विभिन्न ब्यक्तिहरूलाई सम्मान पनि गरिएको थियो ।
सडक दुर्घटनामा परी ज्यान गुमाएकी स्व.प्रतिमा बस्नेतको स्मृतिमा स्थापित यो संस्थाले हरेक बर्ष जनप्रतिनिधि सम्मान, महिला पत्रकार सम्मान, समाजसेवी सम्मान, दीनदुःखी असहायलाई सहयोग, छात्रबृत्ति प्रदान, जेष्ठ नागरिक सम्मान लगायतका बिभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ ।