Butwal Today

पुल बन्यो, सडक बनेन

२९ कार्तिक २०८३, आइतबार
अ
अ+
अ-

नवलपरासी ।
वर्षायाममा हिलो र हिउँदमा धुलो । ठाउँठाउँमा ठूलाठूला खाल्डा । कतै सडक भत्किएको छ, त कतै पानी जमेर आवागमन नै कठिन हुन्छ । यो कुनै दुर्गम गाउँको सडकको अवस्था होइन, नवलपरासीको रामग्राम नगरपालिका ४ जितपुर स्थित रामग्राम रंगशाला र पाल्ही क्याम्पस पुग्ने पहुँचमार्ग सडकको अवस्था हो ।

वर्षौंदेखि सडक निर्माणको प्रतीक्षामा रहेका स्थानीयवासीले यही सडकका कारण सास्ती भोग्दै आएका छन् । रामग्राम नगरपालिका–४ र १० जोड्ने रावनखण्डा खोलामा रामग्रामका तत्कालिन मेयर नरेन्द्र कुमार गुप्ताको पहलमा पुल निर्माण भएको वर्षौं बितिसक्दा पनि पुललाई जोड्ने सडक भने व्यवस्थित हुन सकेको छैन ।

पुल बनेपछि आवागमन सहज हुने आशा गरेका स्थानीय अहिले पनि सडकको दयनीय अवस्थाबाट मुक्त हुन सकेका छैनन् । सडकमा रहेका ठूलाठूला खाल्डाखुल्डीका कारण सवारीसाधन सञ्चालन गर्न कठिन हुने गरेको छ । वर्षायाममा हिलो र पानीले यात्रा जोखिमपूर्ण बन्छ भने हिउँदमा सवारीसाधन गुड्दा उड्ने धुलोले यात्रु र सडक आसपासका बासिन्दालाई समस्या पार्ने गरेको छ । सडकको अवस्थाकै कारण दुर्घटनाको जोखिमसमेत बढेको स्थानीयको गुनासो छ ।

रामग्राम नगरपालिका–४ जितपुरका कृपाल भरका अनुसार यो सडक स्थानीय बासिन्दाका लागि मात्रै नभई आसपासका दर्जनौँ गाउँलाई परासी सदरमुकामसँग जोड्ने महत्वपूर्ण मार्ग हो । पाल्हीनन्दन गाउँपालिकाको रगरगञ्ज सीमा नाकासँग जोडिने यस सडकबाट दैनिक धेरै नागरिक आवतजावत गर्ने गर्छन् ।

तर महत्वपूर्ण सडक हुँदाहुँदै पनि निर्माणमा सरकारको ध्यान पुग्न नसकेको उनको गुनासो छ । मुलुकमा संघ, प्रदेश र स्थानीय गरी तीन तहका सरकार भए पनि नागरिकले दैनिक प्रयोग गर्ने सडकको अवस्था सुधार्न कुनै पनि सरकार गम्भीर नदेखिनु दुःखद भएको भर बताउँछन् । उनका अनुसार सडक निर्माणको सवालमा सबै तहका सरकार जिम्मेवार हुनुपर्ने भए पनि स्थानीय समस्या समाधान गर्ने प्रमुख जिम्मेवारी नगरपालिकाकै हो ।

तर नगरपालिकाले समेत सडक निर्माणलाई प्राथमिकतामा नराखेको उनको दुखेसो छ ।
जितपुरकै अर्का स्थानीय अर्जुन क्षेत्री पनि वर्षौंदेखि सडक अलपत्र पर्नु दुर्भाग्यपूर्ण भएको बताउँछन् । पुल निर्माण भएर पनि सडक नबन्दा त्यसको पूर्ण उपयोग हुन नसकेको उनको भनाइ छ । स्थानीयले पटकपटक सडकको अवस्था सुधार हुने अपेक्षा गरे पनि अहिलेसम्म समस्या जस्ताको तस्तै रहेको उनी बताउँछन् । यस सडकको महत्व स्थानीय बस्ती जोड्ने मात्र छैन । रामग्राम नगरपालिकाको रंगशाला र पाल्ही क्याम्पस पुग्ने विद्यार्थी, खेलाडी तथा सर्वसाधारणले समेत यही मार्ग प्रयोग गर्नुपर्ने हुन्छ । शिक्षा र खेलकुदका महत्वपूर्ण संरचनासम्म पुग्ने सडक नै दयनीय अवस्थामा रहनुले विकास निर्माणको प्राथमिकतामाथि प्रश्न उठाएको छ ।

स्थानीयका अनुसार सडकको अवस्था सुधार भए दर्जनौँ गाउँका नागरिकलाई परासी आवतजावत गर्न सहज हुनेछ । तर वर्षौंदेखि सडक निर्माण हुन नसक्दा उनीहरू हरेक वर्ष उही हिलो र धुलोको समस्या भोग्न बाध्य छन् ।

सडक निर्माणका लागि बजेट अभाव हो वा योजना छनोटमा प्राथमिकता नपरेको हो भन्ने विषयमा सम्बन्धित निकायले स्पष्ट पार्न आवश्यक देखिएको छ । तत्कालका लागि खाल्डाखुल्डी पुर्ने र पानी निकासको व्यवस्था मिलाउन सकिए पनि दीर्घकालीन समाधान भने सडकको स्तरोन्नति नै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?