© 2026
काठमान्डौँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया आगामी मंसिर ४ गतेदेखि सुरु हुने भएको छ ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार विभिन्न तहका अधिवेशनबाट निर्वाचित अध्यक्षहरू पदेन प्रतिनिधिका रूपमा केन्द्रीय महाधिवेशनमा सहभागी हुनेछन् । पदेन प्रतिनिधिबाहेक अन्य प्रतिनिधि भने सक्रिय सदस्यहरूमध्येबाट निर्वाचित गरिनेछ ।
श्रेष्ठका अनुसार गाउँपालिका, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र, जिल्ला तथा प्रदेश तहका अधिवेशनबाट निर्वाचित अध्यक्षहरू स्वतः महाधिवेशन प्रतिनिधि हुनेछन् ।
त्यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्रभित्रका सक्रिय सदस्यहरूमध्येबाट अन्य महाधिवेशन प्रतिनिधि छनोट गरिने व्यवस्था गरिएको छ । जसअनुसार प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट महिला तीन जना, उत्पीडित एक जना र आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, पिछडिएको क्षेत्र तथा अपांगता भएका व्यक्तिको प्रतिनिधित्व हुने गरी दुई जनासहित कुल नौ जना प्रतिनिधि निर्वाचित हुनेछन् ।
सबै प्रदेशसभा निर्वाचन क्षेत्रबाट निर्वाचित हुने प्रतिनिधिमा ४० वर्षमुनिका युवाको सहभागिता अनिवार्य सुनिश्चित गर्नुपर्ने व्यवस्था गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार हिमाल, पहाड र तराईमा प्रतिशतका आधारमा पार्टीको विधान तथा निर्देशिकाबमोजिम निर्धारित संख्या र मापदण्ड पूरा गरेका सक्रिय सदस्यहरूमध्येबाट योग्य प्रतिनिधि छनोट गरिनेछ । यसका लागि मंसिर ४ देखि १० गतेसम्मको समयसीमा तोकिएको छ ।
राप्रपाको केन्द्रीय महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा आयोजना हुँदैछ । महाधिवेशनका लागि विभिन्न तहका अधिवेशन सम्पन्न भइसकेको र अब सक्रिय सदस्यहरूमध्येबाट प्रतिनिधि छनोट प्रक्रिया अघि बढाउन लागिएको पार्टीले जनाएको छ ।