Butwal Today

बयानका लागि उपस्थित नभएपछि अभिषेक गिरीको घरमा टाँसियो प्रहरीको पत्र

२८ कार्तिक २०८३, शनिबार
अ
अ+
अ-

काठमान्डौँ ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका लागि बयान दिन बोलाउँदा उपस्थित नभएपछि प्रहरीले विवादास्पद छविका अभिषेक गिरीको घरमा सूचना टाँस गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले बयानका लागि उपस्थित हुन भन्दै हुलाकमार्फत पठाएको पत्र बुझ्ने व्यक्ति नभेटिएपछि शुक्रबार गिरीको घरको भित्तामा सूचना टाँस गरेको हो ।

प्रहरीका अनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा बयानका लागि उपस्थित हुन भन्दै गत १९ कात्तिकमा गिरीलाई पत्र पठाइएको थियो। तर, पक्राउ पर्न सक्ने सूचना पाएपछि उनी फरार रहेको प्रहरी स्रोतको दाबी छ ।

प्रहरीले पठाएको पत्रमा दसीप्रमाण तथा आवश्यक कागजातसहित सात दिनभित्र उपस्थित हुन भनिएको थियो । तोकिएको समयभित्र पनि उनी सम्पर्कमा नआएपछि कानुनी प्रक्रियाअनुसार घरमै सूचना टाँस गरिएको प्रहरीले जनाएको छ ।

आपराधिक लाभ लिई संगठित अपराध गरेको आरोप लागेका गिरीमाथि प्रहरीले अहिले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ। उनी गत असोजदेखि भारतमा बसिरहेको प्रहरी स्रोतको दाबी छ ।

मोरङ कारागारका कैदीबन्दीलाई वितरण गरिएको १३ लाख रुपैयाँभन्दा बढी भत्ता गायब भएको घटनापछि गत १३ असारमा गिरी पक्राउ परेका थिए । उच्च अदालत विराटनगरको आदेशपछि म्याद थप नभएर २३ असारमा छुटेका उनलाई सोही दिन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले पुनः पक्राउ गरेको थियो ।

त्यसपछि २१ साउनमा छुटेका उनलाई मोरङ प्रहरीले फेरि नियन्त्रणमा लिएको थियो । उजुरीकर्तासँग मिलापत्र भएपछि उनी रिहा भएका थिए । त्यसयता भने उनी सार्वजनिक रूपमा सक्रिय देखिएका छैनन् ।

नेपाली कांग्रेसको राजनीतिमा प्रवेश गरेका गिरी पक्राउ पर्ने डरले कांग्रेसको १५औँ महाधिवेशनमा समेत सार्वजनिक रूपमा नदेखिएको बताइएको छ ।

अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तान गरेर छुटेका गिरीमाथि मोरङ कारागारमा असुली धन्दा चलाएको र निर्माण व्यवसायीको सम्पत्ति हडपेको आरोपसमेत लाग्दै आएको छ । यद्यपि, उनी सामाजिक गतिविधिमा पनि संलग्न रहँदै आएका थिए । आफ्नै नेतृत्वमा स्थापना गरेको गिरी फाउन्डेसनमार्फत उनले विभिन्न सामाजिक गतिविधि गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?