© 2026
काठमान्डौँ ।
पाठ्यक्रम विकास केन्द्रले शैक्षिक सत्र २०८४ का लागि विद्यालय तहका पाठ्यपुस्तक छपाइ तथा बिक्रीवितरण गर्न इच्छुक प्रकाशन तथा वितरण संस्थाको सूचीकरण प्रक्रिया सुरु गरेको छ ।
केन्द्रले कक्षा १, २ र ४ का पाठ्यपुस्तक तथा पाठ्यसामग्री छपाइ र बिक्रीवितरण गर्न चाहने फर्म, संस्था तथा कम्पनीका लागि नवीकरण तथा नयाँ सूचीकरणसम्बन्धी प्रस्ताव आह्वान गरेको हो ।
पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका, २०७९ बमोजिम जारी सूचनाअनुसार इच्छुक मुद्रक तथा वितरकले तोकिएको फाराम भरी संस्थाको विस्तृत प्रोफाइलसहित आवश्यक कागजात पेस गर्नुपर्नेछ ।
यसपटक सूचीकरण प्रक्रियामा केन्द्रले विभिन्न मापदण्डसमेत थप कडाइ गरेको छ। सूचीकरणका लागि फर्म वा संस्था दर्ता प्रमाणपत्र, आयकर तथा मूल्य अभिवृद्धि कर ९भ्याट० दर्ता प्रमाणपत्र, गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन र कर चुक्ता प्रमाणपत्र पेस गर्नुपर्नेछ ।
त्यस्तै, पाठ्यपुस्तक भण्डारणका लागि कम्तीमा ५ हजार वर्गफिट क्षमताको गोदाम हुनुपर्ने व्यवस्था गरिएको छ । छपाइ मेसिन, सिटिपी मेसिन, कटिङ तथा स्टिच मेसिन र पर्फेक्ट बाइन्डिङ मेसिनलगायत आवश्यक उपकरणको स्वामित्व वा व्यवस्थापनसम्बन्धी स्पष्ट कागजातसमेत पेस गर्नुपर्नेछ ।
केन्द्रले तोकेको मापदण्डअनुसार पाठ्यपुस्तकको गुणस्तर, कागजको ग्रामेज, रङ, आकार तथा बाइन्डिङको अवस्था उच्चस्तरको हुनुपर्नेछ । साथै, देशभरका ७७ वटै जिल्लामा पाठ्यपुस्तकको सहज र व्यवस्थित वितरण सुनिश्चित गर्न संघ, प्रदेश तथा जिल्ला तहसम्मको वितरण सञ्जाल र प्रतिबद्धता पेस गर्नुपर्ने प्रावधान राखिएको छ ।
यसपटकको सूचीकरण प्रक्रियामा सबैभन्दा महत्त्वपूर्ण व्यवस्था शैक्षिक सत्र सुरु भएको १५ दिनभित्र सम्बन्धित विद्यालयमा पाठ्यपुस्तक पुगे नपुगेको अनिवार्य अनुगमन गरी त्यसको प्रतिवेदन केन्द्रमा बुझाउनुपर्ने रहेको छ ।
केन्द्रले तोकेका नियम तथा सर्त पालना नगरी पाठ्यपुस्तक छपाइ तथा बिक्रीवितरण गरेको पाइएमा वा पेस गरिएका विवरण झुटो ठहरिएमा निर्देशिका तथा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ ।