Butwal Today

गोरखाको धार्चेमा सुक्खा पहिरो

२८ कार्तिक २०८३, शनिबार
अ
अ+
अ-

गोरखा ।

गोरखाको धार्चे गाउँपालिका–१ स्थित ठाडो भर्‍याङको जंगल क्षेत्रमा ठूलो सुक्खा पहिरो गएको छ । आज बिहान करिब ९ बजे एक्कासि धुलोसहितको पहिरो खसेको हो ।

पहिरो खसेर केही ढुंगा तथा माटो बूढीगण्डकी नदीमा पुगे पनि नदी थुनिने अवस्था नरहेको गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिएका छन् ।

उनका अनुसार पहिरो खसेको स्थान फराकिलो पाखो क्षेत्रमा रहेकाले तत्काल कुनै ठूलो जोखिम छैन । नदीमा केही छिटपुट ढुंगा तथा माटो मात्रै पुगेको र नदी थुनिने खतरा नरहेको उनले स्पष्ट पारे ।

‘बूढीगण्डकीमा केही छिटपुट मात्रै आइपुगेको छ । नदी थुनिने अवस्था अहिले छैन । पछि आयो भने बेग्लै कुरा हो । पहिरो खसेको ठाउँ फराकिलो र पाखा भएकाले त्यस्तो खतरा छैन,’ अध्यक्ष गुरुङले भने ।

जिल्ला प्रहरी कार्यालय गोरखाले पनि धार्चे गाउँपालिका–१ को ठाडो भर्‍याङ क्षेत्रमा ठूलो सुक्खा पहिरो गएको पुष्टि गरेको छ ।

गोरखाका प्रहरी प्रमुख (एसपी) अनिलकुमार खड्काका अनुसार पहिरोका कारण कुनै मानवीय क्षति भएको छैन । पहिरोबाट निस्किएको धुलो सडकसम्म आइपुगेको छ ।

‘धार्चे गाउँपालिका–१ को ठाडो भर्‍याङमा धुलोसहितको ठूलो पहिरो खसेको छ । पहिरोबाट कुनै मानवीय क्षति भएको छैन । धुलो सडकसम्म आइपुगेको छ । बूढीगण्डकी नदी थुनिने अवस्था पनि छैन,’ एसपी खड्काले भने ।

उनका अनुसार घटनास्थलको अवस्था बुझ्न प्रहरी टोली त्यसतर्फ जाँदै गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?