Butwal Today

स्वास्थ्यचौकीको एम्बुलेन्स गायव

२८ कार्तिक २०८३, शनिबार
अ
अ+
अ-

नवलपरासी । रामग्राम नगरपालिका–१७ स्थित देवगाउँ स्वास्थ्यचौकीका नाममा प्राप्त एम्बुलेन्स लामो समयदेखि स्वास्थ्यचौकीमा नदेखिएपछि स्थानीयवासीले त्यसको खोजी र छानबिन गर्न माग गरेका छन् । सरकारी स्वास्थ्य संस्थाका लागि खरिद गरिएको एम्बुलेन्स कहाँ र कसको जिम्मामा छ भन्ने विषयमा अन्योल देखिएपछि स्थानीयले सार्वजनिक सम्पत्तिको उपयोग र व्यवस्थापनमाथि प्रश्न उठाएका हुन् ।

२०७८ साउन १० गते देवगाउँ स्वास्थ्यचौकीले सञ्चालन तथा व्यवस्थापन गर्ने गरी प्राप्त गरेको उक्त एम्बुलेन्स अहिले कहाँ छ भन्नेबारे सम्बन्धित जनप्रतिनिधि तथा कर्मचारीसमेत स्पष्ट जानकार देखिएका छैनन् । स्थानीयका अनुसार हालका वडाध्यक्ष कन्हैया मौर्य, वडा कार्यालयका सचिव र स्वास्थ्यचौकी प्रमुखलाई समेत एम्बुलेन्सको वर्तमान अवस्थाबारे स्पष्ट जानकारी छैन ।

स्वास्थ्यचौकीको नाममा अभिलेखमा एम्बुलेन्स देखिए पनि व्यवहारमा त्यसको उपस्थिति र सेवा स्थानीयले अनुभूति गर्न नपाएको उनीहरूको गुनासो छ । सरकारी स्रोतबाट खरिद भएको सवारीसाधन सम्बन्धित स्वास्थ्य संस्थामै नरहनु र त्यसको जिम्मेवारी कसले लिएको छ भन्ने स्पष्ट नहुनुले खोजी तथा छानबिन आवश्यक भएको स्थानीयको भनाइ छ ।

संघीय सरकारले सरकारी स्वास्थ्य संस्थाले एम्बुलेन्स खरिद गर्दा भन्सार छुटको सुविधा दिने व्यवस्था गरेपछि रामग्राम नगरपालिकाले दुईवटा एम्बुलेन्स र एउटा शववाहन खरिद गरेको थियो । तीमध्ये एउटा एम्बुलेन्स देवगाउँ स्वास्थ्यचौकी र अर्को अमेरबन स्वास्थ्यचौकीलाई उपलब्ध गराइएको थियो । शववाहन भने पृथ्वीचन्द्र अस्पताल, परासीलाई प्रदान गरिएको थियो ।

तर, नगरपालिकाले सार्वजनिक स्वास्थ्य सेवा प्रवाहका लागि खरिद गरेका यी सवारीसाधनको सञ्चालन र व्यवस्थापनबारे अहिले प्रश्न उठेको छ । देवगाउँ स्वास्थ्यचौकीका नाममा रहेको एम्बुलेन्स स्वास्थ्यचौकीमा नरहेको र अस्पताललाई उपलब्ध गराइएको शववाहन पनि अस्पतालमै शववाहनका रूपमा नरहेको स्थानीयको भनाइ छ ।
यस विषयमा रामग्राम नगरपालिकाको स्वास्थ्य शाखाका सुरज हरिजनले देवगाउँ स्वास्थ्यचौकीलाई उपलब्ध गराइएको एम्बुलेन्स नेपाल रेडक्रस सोसाइटी, नवलपरासी शाखाले सञ्चालन गरिरहेको जानकारी दिए । अर्को एम्बुलेन्स अमेरबन स्वास्थ्यचौकीले सञ्चालन गरिरहेको र शववाहन पृथ्वीचन्द्र अस्पताललाई उपलब्ध गराइएको उनको भनाइ छ ।

स्वास्थ्य शाखाका अनुसार अस्पताललाई प्रदान गरिएको शववाहनलाई एम्बुलेन्सका रूपमा रूपान्तरण गरी सञ्चालन गरिएको छ । यसरी सरकारी स्वास्थ्य संस्थाका लागि खरिद गरिएका सवारीसाधन सम्बन्धित संस्थाभन्दा फरक निकायमार्फत सञ्चालन भइरहेको देखिएपछि त्यसको कानुनी तथा प्रशासनिक आधारबारे प्रश्न उठेको छ ।

भन्सार छुटसहित सरकारी स्रोतबाट खरिद गरिएका सवारीसाधन अर्को संस्थालाई सञ्चालन गर्न दिँदा कुन प्रक्रिया अपनाइएको थियो भन्ने विषय सार्वजनिक हुनुपर्ने स्थानीयको माग छ । एम्बुलेन्सको हस्तान्तरण सम्झौता, सञ्चालन अनुमति, सम्पत्ति अभिलेख र सम्बन्धित निकायको स्वीकृतिबारे स्पष्ट पार्नुपर्ने उनीहरूको भनाइ छ । स्थानीयवासीले देवगाउँ स्वास्थ्यचौकीका नाममा प्राप्त एम्बुलेन्स अहिले कसको जिम्मामा छ, कहाँबाट सञ्चालन भइरहेको छ र त्यसबाट स्थानीयले कस्तो सेवा पाइरहेका छन् भन्ने विवरण सार्वजनिक गर्न माग गरेका छन् । त्यसैगरी शववाहनलाई एम्बुलेन्समा रूपान्तरण गरी सञ्चालन गर्दा आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरिएको थियो वा थिएन भन्ने विषयमा समेत छानबिन हुनुपर्ने उनीहरूको माग छ ।

सरकारी बजेट र राजस्व छुटको सुविधामा खरिद गरिएका सवारीसाधन सार्वजनिक सम्पत्ति हुन् । ती साधनको सञ्चालन, व्यवस्थापन र उपयोग पारदर्शी हुनुपर्नेमा सम्बन्धित स्वास्थ्य संस्था र जनप्रतिनिधिसमेत आफ्नो जिम्मेवारीमा रहेको सवारीसाधनबारे अनभिज्ञ देखिनु गम्भीर विषय हो । नगरपालिकाले एम्बुलेन्स तथा शववाहनको वर्तमान अवस्था, सञ्चालनको जिम्मेवारी र सेवा प्रवाहको विवरण सार्वजनिक गरी आवश्यक छानबिन गर्नुपर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?