Butwal Today

नयाँ पुस्तामा पुगेन पुरानो भैलो

२८ कार्तिक २०८३, शनिबार
अ
अ+
अ-

गुल्मी  ।
‘भन भन भाइ हो देउसी रे’ यो भाका कुनै समय तिहार लागेसँगै गुल्मीका गाउँबस्तीमा गुञ्जिने परिचित भैलो थियो । मादल र खैँजडीको तालमा भट्याइने यो मौलिक लयसँगै गाउँका टोलटोलमा देउसी–भैलो खेल्नेहरूको निकै चहलपहल हुने गथ्र्यो ।

तिहारको दिनदेखि सुरु भएर न्वागी मेलासम्म करिब एक महिना चल्ने देउसी–भैलोले गाउँलाई निकै रमाइलो बनाउँथ्यो । अहिले भने आधुनिक गीतसंगीत र बदलिँदो जीवनशैलीका कारण त्यही मौलिक भाका र परम्परा क्रमशः ओझेल पर्दै गएको छ । गुल्मीमा देउसी–भैलो केवल मनोरञ्जनको माध्यम मात्र नभएर आपसी सद्भाव, सामाजिक एकता, धार्मिक आस्था र साँस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण परम्परा थियो ।

गाउँका विभिन्न टोलमा भेला भएर मौलिक भाका भट्याउँदै घरघर पुग्ने र स्थानीयवासीबाट अन्न तथा दक्षिणा संकलन गर्ने चलनले सामाजिक सम्बन्धलाई समेत बलियो बनाउँथ्यो । इस्मा गाउँपालिका–१ का ७८ वर्षीय वीरबहादुर गन्धर्वलाई पुरानो भैलोको सम्झना अझै ताजै छ । उनका अनुसार तिहारको दिनदेखि सुरु हुने भैलो न्वागी मेलासम्म निरन्तर खेलिन्थ्यो । गाउँका विभिन्न टोलमा पुगेर मादलको ताल र मौलिक भाकामा खेलिने भैलोमा सामाजिक आत्मीयता र सामूहिक भावना जोडिएको हुन्थ्यो ।

“त्यतिबेला भैलो केवल रमाइलो गर्ने माध्यम मात्र थिएन, सामाजिक सेवाको काम पनि गाँसिएको हुन्थ्यो । गाउँका विद्यालय, विभिन्न सघंसंस्था र पाटी‐पौवा निर्माणका लागि चन्दा संकलन गर्न भैलो खेलिन्थ्यो । गाउँलेले पनि खुसी हुँदै अन्न र पैसा दिने गर्थे,” गन्धर्वले आफ्नो विगत सम्झँदै भने ।

तिहार आउनु भन्दा एक महिना अघिदेखि नै गाउँमा देउसीको तयारी सुरु हुने गरेको उनले बताए । मादल र खैँजरीको तालमा भैलो भट्याउँदै हिँड्दा रात बितेको पत्तै नहुने समय अहिले सम्झनामा सीमित हुँदै गएको उनले अनुभव सुनाए । “पहिलेको जस्तो आत्मीयता, सामूहिक भावना र मौलिक लय अहिलेका भैलोमा कम हुँदै गएको छ”, उनले भने ।

जिल्लामा ‘भन भन भाइ हो देउसी रे’ जस्ता मौलिक भाकाको ठाउँ अहिले आधुनिक लोकपप तथा नेपाली र हिन्दी चलचित्रका गीतले लिन थालेका छन् । भैलोमा मादल र खैँजडीको तालसँगै मौलिक शब्द र भट्याउने तरिका कमजोर बन्दै गएको छ । नयाँ पुस्ताले समय अनुसार आएको परिवर्तनलाई स्वाभाविक माने पनि पुरानो पुस्ताले भने यसलाई सांस्कृतिक संरक्षणको चुनौतीका रूपमा लिएको छ ।

पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको मौलिक भाका र शैली नयाँ पुस्तामा पुग्न नसके कतै साँस्कृतिक पहिचान नै हराउन सक्ने चिन्ता बढेको छ । यसोहुनुमा बढ्दो बसाइँसराइ र वैदेशिक रोजगारीको प्रभाव समेत गाँसिएको छ । गाउँमा युवा जनशक्ति घट्दै जाँदा पुराना भाका जान्ने, मादल बजाउने र भैलो भट्याउने व्यक्तिको अभाव हुन थालेको छ ।

धुर्कोट गाउँपालिका–१ का नारायण जीसीका अनुसार गाउँमा युवा जनशक्तिको कमी हुँदा मौलिक भैलो संरक्षण झन् चुनौतीपूर्ण बनेको छ । मादल बजाउने र पुराना भाका भट्याउने व्यक्ति समेत पाउन कठिन हुन थालेको उनले बताए । मुसिकोट नगरपालिका–२ का शंकर परियार भने मौलिक भैलोको संरक्षणमा निरन्तर सक्रिय बनेका छन् ।

जिल्लाका विभिन्न स्थानमा आयोजना हुने भैलो कार्यक्रममा सहभागी हुँदै आएका छन् । तर नयाँ पुस्तामा मौलिक भैलो प्रतिको चासो घट्दै गएको देख्दा उनी चिन्तित देखिन्छन् । “हामीले त जेनतेन धानेका छौँ, तर भोलिका दिनमा यसको जगेर्ना गर्ने कोही नहुने हो कि भन्ने डर छ”, परियारले भने ।

मौलिक संस्कृति संरक्षणको चुनौती बढिरहेका बेला जिल्लामा केही सकारात्मक प्रयास पनि भइरहेका छन् । धुर्कोट गाउँपालिकाले स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले विगत नौ वर्षदेखि निरन्तर पालिकास्तरीय भैलो प्रतियोगिता आयोजना गर्दै आएको छ । गाउँपालिका अध्यक्ष भूपाल पोखरेलका अनुसार वडास्तरबाट छनोट भएका समूहबीच पालिकास्तरीय प्रतिस्पर्धा गराएर स्थानीय कला र संस्कृतिको संरक्षण गर्ने प्रयास गरिएको हो । यस्ता कार्यक्रमले स्थानीय परम्परा र संस्कृतिलाई जीवन्त राख्न र नयाँ पुस्तामा परम्परा हस्तान्तरण गर्न सहयोग पुग्ने उनले बताए ।

भैलो प्रतियोगिताले मौलिक भाका, बाजागाजा र सामूहिक प्रस्तुतिलाई निरन्तरता दिन प्रोत्साहन गरेको छ । यद्यपि यसलाई प्रतियोगितामा मात्र सीमित नराखी पुराना भाका र शब्दलाई नयाँ पुस्तासम्म पु¥याउनुपर्ने आवश्यकता देखिएको छ ।

गुल्मीको देउसी–भैलो परम्परा मनोरञ्जनसँगै सामाजिक सहयोग, सामूहिक एकता र साँस्कृतिक पहिचानको जीवन्त उदाहरण पनि बनेको छ । तिहारदेखि न्वागी मेलासम्म गाउँबस्तीमा एक महिनासम्म गुञ्जिने यो परम्पराले कुनै समय गाउँको सामाजिक एकता र भावनालाई समेट्न योगदान पु¥याएको बताइन्छ ।

आधुनिकता र प्रविधिलाई आत्मसात् गर्दै मौलिक संस्कृति संरक्षणमा ध्यान दिन नसकिए ‘भन भन भाइ हो देउसी रे’ जस्ता भाका भावी पुस्ताका लागि इतिहासमा मात्र सीमित हुने जोखिम बढ्दै गएको छ । कुनै समय गाउँघरका आँगन र चोकचोकमा गुञ्जिने देउसी–भैलोको मौलिकता जोगाउनु पछिल्लो समयमा थप चुनौतीको विषय बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?