© २०२३
चन्द्रौटा(कपिलवस्तु), ३ फागुन ।
नापी कार्यालय चन्द्रौटाले समयमै सेवा प्रवाह नगरेको स्थानीयले गुनासो गरेका छन् । जग्गा धनीको स्वामित्वमा रहेको जग्गा रेखांकन गर्न रसिद काटेको बर्षाै दिनसम्म नापी नहुँदा सास्ती हुने गरेको स्थानीय बताउँछन् ।
कार्यालयले सेवाग्राहीलाई सेवा प्रवाहमा लापरबाही गर्दा नागरिकलाई सास्ती भएको हो । कृष्णनगर नगरपालिका घर भएका निरहु यादवले करिब ३ बर्ष पहिले ९ धुर जग्गा किने । जिल्लाको कृष्णनगर नगरपालिकामा बहादुरगञ्ज–१ कित्ता नम्बर १३७९ जग्गा उनको नाममा छ ।
यादवले घर बनाउने सबै तयारी पूरा हुँदाहुँदै पनि बनाउन सकेका छैनन् । घर पटकपटक बनाउन नहुने भन्दै कित्ताकाट भएको जग्गाको क्षेत्रफल यकिन गर्न नापी कार्यालय चन्द्रौटाबाट २०७७ फागुन २६ गते २ हजार ६ सय ३० रुपैयाँको रसिद काटेको यादवले बताए ।
जग्गा नापी गर्न यसरी नापी कार्यालयले लापरबाही गर्दा सेवाग्राहीले बर्षाैँ सम्म कुर्दा समेत नापी नहुँदा सास्ती हुने गरेको यादवले बताए । उनले भने, “म घर बनाउनलाई जग्गा खरिद गरेको थिएँ, तर लामो समयसम्म नापी नहुँदा समस्या भएको छ ।“ यादवले थपे, “टाठोबाठो मान्छेको काम सहजै गर्ने र निम्न वर्गीय आम नागरिकको काममा कर्मचारीले ढिलाइ गर्ने गरेका छन् ।“
आफूले कार्यालयमा गई पटकपटक जग्गा नापी गरिदिन ताकेता गरेपनि आज हुने, भोली भन्दै भाका सारेर दुःख दिने गरेको यादवले जनाए । यसरी कार्यालयबाट रसिद काटेको बर्षाैँसम्म समेत काम हुन नसक्दा कार्यालयप्रति आशंका हुने गरेको उनको भनाई छ । ताकेता गर्न जाँदा अडियो, भिडियो गरेको थाहा पाएपछि कार्यालयका एक कर्मचारीले यादवलाई काम छिटो हुने भन्दै सार्वजनिक नगर्न आग्रह समेत गरेका छन् ।
यता नापी कार्यालयका प्रमुख देवेन्द्रनाथ यादवले के कति कारणले काम रोकिएको हो भन्ने आफूलाई जानकारी नभई रिपोर्टिङ गर्न नहुने बताए । कतिपय छिमेकीहरुको आपसी सम्झदारी नभएका कारणले रोकिएको हुन सक्ने बताउँदै सम्बन्धित व्यक्तिलाई कार्यालय पठाउन उनले आग्रह गरे । सर्वेक्षक बेचन प्रसाद गुप्ताले कर्मचारी सरुवा लगायतको समस्याले समयमा काम हुन नसकेको स्वीकार गरे ।
एकपछि अर्काे आउने कर्मचारीले सो विषय बस्तुबारे थाहा नभएको र सम्बन्धित व्यक्ति कार्यालयमा नआएकाले समय लम्बिएको सर्वेक्षक गुप्ताको भनाई छ ।