Butwal Today

रैथाने स्वादलाई बजार दिँदै सयपत्री

२२ कार्तिक २०८३, आइतबार
अ
अ+
अ-

सिद्धार्थनगर  ।
भैरहवामा नेपाली मौलिक उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले ‘सयपत्री कृषि उपज केन्द्र’ सञ्चालनमा आएको छ । सिद्धार्थ हाइवेमा स्थापित यस केन्द्रले हिमाल, पहाड र तराईका कृषि उपज, रैथाने खाद्यवस्तु, जडीबुटी, हस्तकला तथा सांस्कृतिक सामग्रीलाई एउटै बजारमा उपलब्ध गराउँदै स्वदेशी उत्पादनको पहिचान स्थापित गर्ने प्रयास गरेको छ ।

उद्यमी सिता पाण्डेको नेतृत्व तथा ‘सञ्जीवनी सर्भिस फर बिजनेस’ मातृ कम्पनीको मार्गदर्शनमा सञ्चालित सयपत्री एग्रो आउटलेट करिब दुई महिनाअघि औपचारिक रूपमा सुरु भएको हो । नेपाल भ्रमणपछि फर्किने पर्यटकलाई शिलाजित,सञ्चो,पुष्टकारी,गुदपाक, जिम्बु,दोलखाको छुर्पी र इलामको खुवाको चकलेटजस्ता मौलिक नेपाली कोसेली उपलब्ध गराउने यसको मुख्य उद्देश्य छ ।

खाद्य अनुमति, उद्योग वाणिज्य सङ्घमा आबद्धता तथा सरकारी र स्थानीय निकायका आवश्यक कानुनी प्रक्रिया पूरा गरेर सञ्चालनमा आएको यस केन्द्रले किसान र साना उद्यमीहरूसँग प्रत्यक्ष सम्बन्ध स्थापित गरेको छ । हाइवेमै अवस्थित भएकाले यात्रु तथा स्थानीय उपभोक्तालाई गाडी रोकेर सहजै उत्पादन खरिद गर्न सकिने सुविधा छ ।

सयपत्री एग्रो आउटलेटमा मुस्ताङको स्याउ, पाल्पा, स्याङ्जा र गुल्मीका सुन्तला, रोल्पाको आलु, धादिङको सख्खरखण्ड, कर्णालीको सिबकथर्न, फापर र कोदोका पिठो, विभिन्न स्थानीय दाल तथा गेडागुडी उपलब्ध छन् । तराईका अपराजिता, जङ्गली बेल, जामुनलगायत प्राकृतिक कृषि उपज पनि यहाँ बिक्रीका लागि राखिएका छन् ।जडीबुटी तथा प्राकृतिक उत्पादनतर्फ डोल्पाको जिम्बु, पूर्वी पहाडको चिराइतो, सिन्धुलीको बेलचण्डा, खोकनामा उत्पादित क्यामोमाइल, जेठीमधु, कश्मीरी लसुन, शिलाजित र सञ्चोजस्ता सामग्रीले ग्राहकको आकर्षण बढाएका छन् ।

स्थानीय फूल, पूजा सामग्री तथा हस्तकलाका वस्तुलाई पनि केन्द्रले प्राथमिकता दिएको छ । भक्तपुरलगायत विभिन्न स्थानबाट ल्याइएका सयपत्री फूल, दुना–टपरी, बाटेको धूप, कुशासन, थाकलका सामग्री, डोको र नाङ्लोजस्ता उत्पादनले स्थानीय सीप र संस्कृतिलाई बजारसँग जोडिरहेका छन् । चाडपर्वमा आवश्यक फूल तथा पूजा सामग्री स्वदेशमै उत्पादन र व्यवस्थापन गरी आयात प्रतिस्थापन गर्ने लक्ष्यसमेत राखिएको छ ।

कार्बोनेटेड पेय पदार्थको बढ्दो प्रयोगलाई विकल्प दिन आउटलेटमा अमलाको जुस, बेलको जुस, उखुको जुस, मोही तथा मोरिंगा, अपराजिता र हिबिस्कसका हर्बल चिया उपलब्ध गराइएको छ । विद्यार्थी, मजदुर र सामान्य उपभोक्ताले समेत सहजै खरिद गर्न सक्ने मूल्यमा यस्ता पेय पदार्थ बिक्री गरिँदै आएको सञ्चालक पाण्डे बताउँछिन् ।नुवाकोटको दुप्चेश्वरको नौनी, नवलपुरको देवचुलीमा तयार हुने ताजा खुवा तथा डीडीसीका उत्पादनले पनि बजार पाएका छन् । यसले सरकारी डेरी उत्पादनसँगै साना उद्यमीका वस्तुलाई समेत ग्राहकसम्म पु¥याउने काम गरेको छ ।

गाउँगाउँबाट सङ्कलित कृषि उपजलाई ‘सञ्जीवनी खाद्य उद्योग’ मार्फत सफा गर्ने, केलाउने र स्वच्छ तथा सुरक्षित बनाएर बजारमा पठाउने गरिएको छ । “नेपाली उत्पादन भन्नेबित्तिकै धूलो, माटो लागेको र अस्वस्थकर हुन्छ भन्ने मानसिकता चिर्नु हाम्रो प्राथमिकता हो,” पाण्डे भन्छिन् ।

कृषि क्षेत्रमा बिचौलिया, ढुवानी र भण्डारणको समस्याले किसानले उचित मूल्य नपाउने तथा उपभोक्ताले महँगोमा वस्तु खरिद गर्नुपर्ने अवस्था रहेको छ । सयपत्रीले उत्पादनस्थलसँग प्रत्यक्ष सम्बन्ध स्थापित गरी किसानलाई उचित मूल्य र उपभोक्तालाई गुणस्तरीय वस्तु उपलब्ध गराउने लक्ष्य राखेको छ ।

उत्पादन गाउँमै सफा र परिष्कृत गराउन सामान्यभन्दा पाँचदेखि १० रूपैयाँ बढी मूल्य दिने नीति लिइएको सञ्चालकको भनाइ छ । यसबाट स्थानीय रोजगारी, ग्रामीण आयआर्जन र कृषकको उत्पादनप्रतिको उत्साह बढ्ने अपेक्षा गरिएको छ ।कोदो, मकै, फापरजस्ता रैथाने खाद्यान्नको उपभोग बढाउने, लोपोन्मुख बीउबिजनको संरक्षण गर्ने तथा प्राकृतिक फाइबरका झोला प्रयोग गरी प्लास्टिक घटाउने प्रयास पनि केन्द्रका विशेषता हुन् ।

भारतीय उत्पादन सस्तो र सहज रूपमा उपलब्ध हुने उपभोक्ताको पुरानो बानी परिवर्तन गर्नु व्यवसायका लागि चुनौती रहेको पाण्डे बताउँछिन् । त्यसैगरी १३ प्रतिशत भ्याट तिरेर वैधानिक रूपमा व्यवसाय सञ्चालन गर्ने उद्यमीलाई कर प्रणालीमा अनियमितता गर्ने व्यवसायीका कारण प्रतिस्पर्धामा समस्या हुने गरेको उनको अनुभव छ ।

यद्यपि ग्राहकहरू उत्पादनको गुणस्तर, सामग्री र उत्पादन मितिप्रति सचेत हुन थालेकाले स्वदेशी उत्पादनको बजार विस्तार हुने विश्वास गरिएको छ । सयपत्री एग्रो आउटलेट केवल व्यापारिक केन्द्र नभई नेपाली कृषि, रैथाने खाद्यवस्तु, जडीबुटी, संस्कृति र स्थानीय उद्यमलाई जोड्ने अभियानका रूपमा अघि बढेको छ । स्थानीय उत्पादनको संरक्षण, किसानको सशक्तीकरण र पर्यटकका लागि मौलिक नेपाली कोसेलीको पहिचान स्थापित गर्न सके यसले भैरहवालाई स्वदेशी उत्पादन प्रवद्र्धनको नमुना गन्तव्य बनाउन सक्ने सम्भावना बोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?