© 2026
बुटवल । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको अवसरमा बुटवलमा ‘दीपावली सडक खाना महोत्सव’ सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजनामा बुटवल उपमहानगरपालिका–८ सुख्खानगरस्थित शुक्रपथमा शुक्रबार साँझदेखि महोत्सव सुरु भएको हो ।
महोत्सवको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले दीप प्रज्ज्वलन गरी उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख पाण्डेयले बुटवलको आर्थिक विकासका लागि स्थानीय सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए । बुटवलको गौरवपूर्ण इतिहास र उद्योग वाणिज्य संघको लामो व्यावसायिक विरासत स्मरण गर्दै उनले व्यापार, व्यवसाय तथा आर्थिक गतिविधिलाई चलायमान बनाउन उपमहानगरपालिका निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढिरहेको उल्लेख गरे ।
औद्योगिक तथा व्यावसायिक क्षेत्रको विकास र प्रवर्द्धनका लागि स्थानीय सरकार फरक सोच र प्राथमिकताका साथ अघि बढेको बताउँदै उनले मोतीपुर औद्योगिक क्षेत्र स्थापना र बुटवल–१५ मा कृषि उपज केन्द्र निर्माणलाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिए ।
त्यसैगरी, उपप्रमुख सावित्रादेवी अर्यालले महोत्सवले बजारलाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । बुटवल समयअनुसार डिजिटल प्रविधिमा अघि बढिरहेको बताउँदै उनले उद्योगी व्यवसायीलाई पनि समयको मागअनुसार आफूलाई परिमार्जन गर्दै अघि बढ्न आग्रह गरिन् ।
बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा आयोजित महोत्सव कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ । हरेक दिन अपराह्न ४ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने महोत्सवमा खानाका परिकार, तिहारका सामग्री तथा स्थानीय उत्पादनका गरी ५० वटा स्टल राखिएका छन् ।
महोत्सवमा विभिन्न जातजातिका मौलिक संस्कृति र परम्परासँग जोडिएका रैथाने खानाका परिकार, फूलमाला, खाद्यान्न तथा तिहारमा आवश्यक सामग्री बिक्री तथा प्रदर्शनीका लागि राखिएका छन् ।
संघका अध्यक्ष नरिश्वर शर्मा पौडेलले स्थानीय उत्पादन, खानाका परिकार र व्यवसायको प्रवर्द्धन गर्दै उद्यमी तथा व्यवसायीलाई बजार विस्तारको अवसर प्रदान गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । महोत्सवले दीपावलीको सांस्कृतिक महत्त्व र मौलिक परम्पराको संरक्षणसँगै बुटवलको आर्थिक तथा व्यावसायिक गतिविधि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको उनले उल्लेख गरे ।
महोत्सवमा खानाका परिकारसँगै सांस्कृतिक प्रस्तुति र मनोरञ्जनका कार्यक्रमसमेत समेटिएका छन् । पहिलो दिन उद्घाटनसँगै स्थानीय ब्यान्डको प्रस्तुति रहेको थियो । दोस्रो दिन देउसीभैलो प्रतियोगिता र तेस्रो दिन राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।
कार्यक्रममा संघका पूर्वअध्यक्ष जीवनप्रसाद वझा, बुटवल उपमहानगरपालिका–८ का वडाध्यक्ष यज्ञ पंगेनी, उद्योग व्यापार संघ बुटवलका अध्यक्ष लोकनाथ पन्थी, संघका वरिष्ठ उपाध्यक्ष सुरज भट्टराई र महासचिव बसन्तप्रसाद ढकाललगायतले महोत्सवले स्थानीय कला, संस्कृति र खानाका विविध स्वादलाई एउटै स्थलमा प्रस्तुत गर्ने अवसर प्रदान गरेको बताए । उनीहरूले महोत्सवले तिहारको रौनक बढाउनुका साथै बुटवललाई थप चलायमान र उत्सवमय बनाउने विश्वास व्यक्त गरे ।