© 2026
सल्यान ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका, ७ स्थित सामुदायिक वनबाट पाँच नाल भरुवा बन्दुक बरामद गरिएको छ ।
नगरपालिकाको लेक सङ्ग्रहीस्थित सिम्टीगैरा सामुदायिक वनमा बेवारिसे अवस्थामा लुकाइछिपाई राखिएका पाँच नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बुधबार बिहान करिब ८ः५५ बजे इलाका प्रहरी कार्यालय देवस्थलबाट प्रहरी वरिष्ठ नायब निरीक्षकको कमाण्डमा खटिएको टोलीले सामुदायिक वन क्षेत्रमा खोजतलास गर्ने क्रममा उक्त बन्दुक फेला पारेको थियो ।
बरामद गरिएका बन्दुकमध्ये तीन नाल साबुत र दुई नाल बेसाबुत अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखाले जनाएको छ । बन्दुक कसले र कुन प्रयोजनका लागि वन क्षेत्रमा लुकाएर राखेको थियो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यस अघि पनि केही दिनअघि बनगाड कुपिण्डे नगरपालिका, ७ कै गोटीखोला सामुदायिक वनको ओडारमा लुकाइछिपाइ राखिएका पाँच नाल एकनाले भरुवा बन्दुक प्रहरीले बरामद गरेको थियो ।