© 2026
रोल्पा । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा रोल्पाको होलेरीमा जुवातास खेलिरहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेतासहित १० जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रुन्टीगढी गाउँपालिका–७ स्थित होलेरी कृषि हाटबजार परिसरमा रहेको एक होटलमा प्रहरीले छापा मार्दा उनीहरू पक्राउ परेका हुन् ।
तिहारका बेला जुवातास खेल्ने गतिविधि बढ्न सक्ने भएकाले प्रहरीले निगरानीलाई तीव्र बनाएको अवस्थामा होलेरीमा उक्त घटना सार्वजनिक भएको हो । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरी टोलीले होटलमा खानतलासी गर्दा नगद रकम र तास बरामद गरेको जनाएको छ ।
प्रहरी निरीक्षक मनिष थापाको नेतृत्वमा १० जना प्रहरी कर्मचारी सम्मिलित टोलीले कार्तिक १८ गते राति करिब १ बजे होलेरी कृषि हाटबजारको हाताभित्र रहेको होटलमा छापा मारेको थियो । उक्त होटल रुन्टीगढी गाउँपालिका–होलेरी निवासी ५० वर्षीय दिल बहादुर खड्काले सञ्चालन गर्दै आएका थिए ।
खानतलासीका क्रममा प्रहरीले जुवाखालबाट नगद १ लाख १७ हजार ७५० रुपैयाँ र तीन गड्डी तास बरामद गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । होटलभित्र जुवातास खेलिरहेको अवस्थामा फेला परेका व्यक्तिहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा होटल सञ्चालक खड्कासहित रुन्टीगढी गाउँपालिका–६ का ३६ वर्षीय टोप बहादुर बोहरा, २१ वर्षीय प्रकाश बुढाथोकी, ३० वर्षीय शान्तराज रेउले र २३ वर्षीय कुल बहादुर रेउले रहेका छन् । त्यसैगरी वडा नम्बर ७ का ५५ वर्षीय ज्ञान बहादुर थापा, ३६ वर्षीय महेन्द्र घर्ती र ३९ वर्षीय नरसिंह रोका पनि प्रहरी नियन्त्रणमा परेका छन् ।
यसैगरी रुन्टीगढी गाउँपालिका–५ का २४ वर्षीय देविराम बि।क। तथा वडा नम्बर ८ का ३२ वर्षीय नर बहादुर बस्नेत पक्राउ परेको विवरणमा उल्लेख छ । पक्राउ परेका सबैलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप छानबिन गरिरहेको छ ।
तिहारको समयमा मनोरञ्जनका नाममा जुवातास खेल्ने गतिविधि हुन सक्ने भन्दै प्रहरीले जिल्लाका विभिन्न स्थानमा निगरानी बढाएको छ । सार्वजनिक स्थल तथा होटलहरूमा गैरकानुनी गतिविधि सञ्चालन भएको सूचना प्राप्त भएमा तत्काल प्रहरीलाई जानकारी गराउनसमेत आग्रह गरिएको छ ।
जुवातास खेल्ने गतिविधि कानुनविपरीत हुने भएकाले यस्ता कार्यमा संलग्न व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही हुने प्रहरीको भनाइ छ । होलेरीमा भएको पछिल्लो घटनाले चाडपर्वको समयमा स्थानीय क्षेत्रमा हुने गैरकानुनी गतिविधि नियन्त्रण गर्न प्रहरीको सक्रियता बढेको देखाएको छ ।
यद्यपि पक्राउ परेका व्यक्तिहरू दोषी ठहर भइसकेका छैनन् । घटनाको थप अनुसन्धानपछि उनीहरूमाथि कानुनी प्रक्रिया अघि बढ्नेछ ।