Butwal Today

सरकारले पहिलो त्रैमासिकमा १३५ परिवारलाई वितरण गर्‍यो लालपुर्जा

१५ कार्तिक २०८३, आइतबार
अ
अ+
अ-

काठमान्डौँ ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा १३५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको छ ।

भूमि समस्या समाधान समिति (ताहाचल) ले आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अर्थात् साउन १ देखि असोज मसान्तसम्मको अवधिमा १३५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको हो । मन्त्रालयको पहिलो त्रैमासिक प्रगति विवरणमा उक्त तथ्यांक उल्लेख गरिएको छ ।

सार्वजनिक प्रतिवेदनअनुसार वितरण गरिएका १३५ पुर्जामध्ये भूमिहीन दलितलाई ११, भूमिहीन सुकुम्बासीलाई ४१ र अव्यवस्थित बसोबासीलाई ८३ थान रहेका छन् ।

प्रतिवेदनमा भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि लगत सङ्कलन, प्रमाणीकरण र नापी नक्साको कामलाई तीव्रता दिइएको उल्लेख छ । यस अवधिमा भूमिहीन तथा अव्यवस्थित बसोबासीको यथार्थ विवरण सङ्कलनका लागि सञ्चालन गरिएको समितिको सूचना प्रणालीमा ५१ हजार ५१७ वटा निवेदन प्रविष्ट भएका छन् ।

प्रविष्ट निवेदनमध्ये भूमिहीन दलिततर्फ ७ हजार ७०, भूमिहीन सुकुम्बासीतर्फ ८ हजार ८३ र अव्यवस्थित बसोबासीतर्फ ३१ हजार ३१७ वटा रहेका छन् । त्यस्तै, विगतका आयोगका अधुरा तथा अपुरा काम पूरा गर्ने प्रयोजनका लागि ५ हजार १२७ वटा निवेदन दर्ता भएको प्रतिवेदनमा उल्लेख छ ।

जग्गा पहिचान तथा वितरण प्रक्रियालाई व्यवस्थित बनाउन समितिले पहिलो त्रैमासिकमा देशभरका विभिन्न स्थानमा १ हजार ९४७ कित्ता जग्गाको नापजाँच तथा नक्साङ्कन कार्य सम्पन्न गरेको छ ।

त्यसैगरी, काठमाडौँ उपत्यकामा भूमिसम्बन्धी समस्या समाधानका लागि समितिले भक्तपुर नगरपालिकासँग भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा वितरण र अव्यवस्थित बसोबासीको व्यवस्थापनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको छ । समझदारीपछि वास्तविक लगत सङ्कलनका लागि औपचारिक सूचनासमेत प्रकाशन भइसकेको प्रतिवेदनमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?