© 2026
बुटवल ।
कुनै समय बुटवल तथा आसपासका क्षेत्रमा तिहारका लागि आवश्यक फूलमालामा भारतकै भर पर्नुपर्ने अवस्था थियो । स्वदेशमा व्यावसायिक पुष्पखेती गर्ने किसान नहुँदा तिहारमा आवश्यक सयपत्री फूलसमेत भारतबाट आयात गर्नुपर्ने बाध्यता थियो ।
त्यही समयमा बुटवलका केही युवाले अब स्वदेशमै पुष्पखेतीको व्यावसायिक सुरुवात गर्ने अठोट गरे । त्यसका मुख्य योजनाकार थिए, कृषि विषय नै अध्ययन गरेका राजेश कुँवर ।
उनै कुँवरले कृषिमा स्नातकोत्तर अध्ययन पूरा गरेपछि विदेश नजाने, बरु स्वदेशमै पसिना बगाउने अठोटसहित कृषि क्षेत्रमा होमिए । उनलाई साथ दिने अर्का साथी थिए, कृषिमै स्नातकोत्तर गरेका सरोज भट्टराई । हाल दुवै जना कृषि विषय अध्यापन गराउँदै आएका छन् भने खेतीमा पनि पूर्ण जिम्मेवारीसहित लागिरहेका छन् ।
केही दिनयता आफूले अध्यापन गराउँदै आएको पक्लिहवा कृषि क्याम्पसमा बिदा भएका कारण कुँवर र एग्रो फरेस्ट्री कलेज, अर्घाखाँचीमा पर्व बिदा भएका कारण भट्टराई पनि अहिले कृषिमा पूर्णकालीन रूपमा लागेका छन् ।
बिदाको दिनमा उनीहरूको दिनचर्या बिहानैदेखि ढकमक्क फुलेका खेतका फूल टिप्ने, माला तयार गर्न स्थानीय महिलाको सहयोगमा काम गर्ने, तयार भएका माला कोल्ड चेम्बरमा राख्ने र मागअनुसार बजारमा पठाउने काममा बित्ने गरेको छ । खेतमा आउने दर्शकलाई घुमाउने, पुष्पखेतीका बारेमा जानकारी दिने र भारतबाट आउने मालाको आयात प्रतिस्थापन गर्ने आफ्नो अभियानमा सहकार्य गर्न आग्रह गर्ने काममा समेत उनीहरू सक्रिय छन् ।
बुटवल उपमहानगरपालिका वडा नम्बर १५, चम्कीपुरमा रहेको फोकस मल्टी एग्रो कन्सर्न एन्ड रिसर्च सेन्टरमा अहिले एक कठ्ठाभन्दा बढी क्षेत्रफलमा तिहारका लागि आवश्यक फूल लटरम्म फुलेका छन् । कर्मा ५५५, सुमती ओरेन्ज, टेनिस बल, बेङ्गला ओरेन्ज र अन्य दुई जात गरी आगा कम्पनीका तीनवटा जातका सयपत्री फूल फुलेका छन् ।
फार्मका सञ्चालक तथा प्रबन्धक एवं पक्लिहवा कृषि क्याम्पसका उपप्राध्यापक राजेश कुँवरका अनुसार अहिले सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट देशका विभिन्न स्थानबाट दैनिक दर्जनभन्दा बढी फोन फूलको मागका लागि आउने गरेका छन् ।
कृषिमा पढेलेखेका मानिसहरू कृषि पेसामा लाग्नु हुँदैन भन्ने पुरानो सोच परिवर्तन गरी कृषि अध्ययन गरेकाहरू नै कृषिमा लाग्न आवश्यक रहेको उनको भनाइ छ । त्यसो भएमा मात्रै कृषिमा वास्तविक क्रान्ति गर्न सकिने मान्यतासहित आफूहरू फूलखेतीका अतिरिक्त फलफूल, मोरिङ्ग र कागतीखेतीमा समेत लागेको कुँवर बताउँछन् ।
हाल फार्ममा तीन जनाले पूर्णकालीन रोजगारी पाएका छन् । यस वर्ष सयपत्री खेतीका लागि मात्रै युवाहरूले एक लाख ५० हजार रूपैयाँ लगानी गरेका छन् । त्यसबाट करिब पाँच लाख रूपैयाँको कारोबार गर्ने लक्ष्य रहेको फार्मका प्रबन्ध सञ्चालक कुँवर बताउँछन् । खर्च कटाएर करिब तीन लाख रूपैयाँ नाफा हुने अपेक्षा गरिएको उनको भनाइ छ ।
अहिले फूलको माग देशका विभिन्न स्थानबाट विभिन्न परिमाणमा आउने गरेको उनले जानकारी दिए ।
पाँच जना शेयर सदस्यको लगानीमा सुरु भएको ‘फोकस मल्टी एग्रो कन्सर्न एन्ड रिसर्च प्रालि, बुटवल रूपन्देही’ले बुटवल उपमहानगरपालिका वडा नम्बर १५ मा ३० कठ्ठा जग्गा भाडामा लिएर केही वर्षअघि मात्रै कृषि कर्म सुरु गरेको थियो ।
यसलाई अझै विस्तार गर्ने योजना उनीहरूले बनाएका छन् । जग्गा भाडामा पाएको अवस्थामा खेती विस्तार गर्ने योजना रहेको सञ्चालक राजेश कुँवर बताउँछन् । व्यावसायिक रूपमा सयपत्री खेती गर्दै आएका युवाहरूले तरकारी खेती र बिरुवा उत्पादनको कामसमेत गर्दै आएका छन् ।
कृषि क्षेत्रमा अध्ययन गरेका युवाहरूको पहल र उनीहरूको प्रत्यक्ष निगरानीमा उत्पादन भएका कृषि उपज शतप्रतिशत विषादीरहित रहेको ग्यारेन्टीसमेत फार्मले गर्दै आएको छ । फार्ममा नै पुगेर सामाजिक सञ्जाल, टिकटक, रिल्सलगायत मनोरञ्जनात्मक सामग्री बनाउनेहरूको संख्यासमेत बढ्दै गएको छ । विभिन्न स्थानबाट फार्म अवलोकन गर्न आउनेहरूको संख्या पनि बढिरहेको छ ।
तिहार तथा छठ पर्व नजिकिएसँगै बुटवल उपमहानगरपालिकाले नगरवासीलाई प्लास्टिकजन्य फूल तथा माला प्रयोग नगर्न र स्थानीय उत्पादनका फूल प्रयोग गर्न अपिल गरेको छ ।
स्थानीय पुष्प व्यवसायीलाई प्रोत्साहन गर्दै बुटवललाई फूल उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले नगरप्रमुख खेलराज पाण्डेयद्वारा जारी नगरवासीका नामको अपिलमा तिहार तथा छठ पर्वका अवसरमा प्लास्टिकजन्य फूल तथा माला प्रयोग गर्दा वातावरण प्रदूषित हुनुका साथै मानव स्वास्थ्यमा समेत असर पर्ने उल्लेख गरिएको छ । उपमहानगरपालिकाले प्लास्टिकका फूल तथा मालाको प्रयोगलाई निरुत्साहित गर्दै स्थानीय स्तरमा उत्पादित फूलको प्रयोग बढाउन आग्रह गरेको छ ।
यसबाट स्थानीय पुष्प व्यवसायीको उत्पादनले बजार पाउने र स्थानीय अर्थतन्त्रलाई समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
उपमहानगरपालिकाका अनुसार बुटवलका विभिन्न १७ वटा कृषि फार्मबाट माला बनाउन प्रयोग हुने फूल खरिद गर्न सकिने व्यवस्था गरिएको छ । स्थानीय उत्पादनको प्रयोगले वातावरण संरक्षणमा सहयोग पुग्नुका साथै स्थानीय किसान तथा व्यवसायीलाई प्रोत्साहन मिल्ने उपमहानगरको विश्वास छ ।
तिहारमा फूल तथा मालाको माग उच्च हुने भएकाले स्थानीय उत्पादनलाई प्राथमिकता दिन र वातावरणमैत्री ढङ्गले चाडपर्व मनाउन उपमहानगरपालिकाले नगरवासीलाई आग्रह गरेको छ ।