© 2026
बुटवल । खेत मलिलो हुने नाममा किसानले खेतमै पराल जलाउँदा वायु प्रदुषण बढेको छ । रूपन्देहीका पालिकाहरूले खेतमै पराल जलाउँदा बायु प्रदुषण बढेको भन्दै त्यसो नगर्न आग्रह गरेपनि त्यसको सुनुवाई भएको छैन ।
पालिकाहरूले सार्वजनिक सूचना नै जारी गरी खेतमा भएको पराल नजलाउन सूचना नै जारी गरेका छन् तर किसानले भने खेत मलिलो हुने भएकोले खेतमै पराल जलाउने गरेको किसानहरूको भनाइ छ ।
गाउँघरमा गाई भैंसी पाल्ने चलन हराउँदै गएकोले किसानलाई परालको आवश्यकता नपर्ने भएकोले समेत अहिले खेतमै पराल जलाउने क्रम बढेको छ ।
रूपन्देहीको कञ्चन गाउँपालिका–१ प्रगतिनगरका रामप्रसाद पौडेलले दुईवटा भैंसीलाई पराल खुवाउन पराल आवश्यक पथ्र्यो तर अहिले भैंंसी पाल्न छोडेपछि परालको काम नहुँदा खेतमै व्यवस्थापन गर्ने गरेको बताए ।
उनका अनुसार गाउँघरमा पछिल्लो समय गाईभैंसी पाल्ने चलन हराउँदै गएको छ । जसका कारण पराल आवश्यक नपर्दा किसानले खेतमै जलाउने गरेका छन् ।
अहिले किसानलाई धान भित्र्याउने माचो छ । यही माचोमा थ्रेसर लगाएको पराल गाईभैंसी भएका किसानले घरमा ल्याउने र नभएका किसानले खेतमै जलाउने गरेका छन् ।
रूपन्देहीको तिलोत्तमा नगरपालिकाले किसानले खेतमै परालमा आगो लगाउँदा वायु प्रदुषण बढेको भन्दै सूचना प्रकाशन गरेर त्यसो नगर्न अनुरोध गरेको छ तर किसानले भने नगरपालिकाको सूचनाको वास्तै गर्दैनन् ।
तिलोत्तमा नगरपालिकाका कृषि शाखा प्रमुख दोमलाल भुसालले सार्वजनिक सडक तथा सडक किनारमा थ्रेसर मेसिन प्रयोग गरी धान झाँट्ने, काट्ने कार्य नगर्न तथा खेतमा बाँकी रहेका पराल, ठुटा एवं अन्य कृषि अवशेषमा आगो नलगाउन नगरवासीलाई सचेत गराएको बताए । उनले यसका लागि नगर प्रहरीले किसानको खेत खेतमा पुगेरै गस्ती तथा अनुगमन गरेको जानकारी दिए ।
उता सैनामैना नगरपालिकाकी कार्यवाहक प्रमुख बिना रानाले नगरका किसानलाई अहिले धान भित्र्याउने व्यस्तता रहेको बताउँदै धान झाँट्ने मेसिनको प्रयोग बढेका कारण पराल खेतमै छोड्ने र त्यसमा आगो लगाइदिने काम किसानले नै गर्दै आएको बताइन् ।
उनले गत बर्षदेखि नै धान खेतको परालमा आगो नलगाउन सूचना प्रकाशित गरेर अनुरोध गरेपनि नियन्त्रण नहुँदा वायु प्रदुषणको समस्या बढेको बताइन् ।
उता वातावरण विज्ञ युवराज कँडेलले परालमा आगो लगाउँदा वायु प्रदुषण बढ्नुका साथै मानव स्वास्थ्यलाई समेत समेत हानिकारक रहेकोले आगो लगाउन नहुने बताए ।
उनले परालमा आगो लगाउनु भन्दा पराल कुहिएर बनेको मल बढी खेतीका लागि बढी लाभदायक हुने कुरा किसानलाई बुझाउनुपर्ने बताइन् ।