Butwal Today

तालिमपछि दृष्टिविहीनको अनुभव : दृष्टि कमजोर भएर के भयो, आत्मविश्वास बढ्यो

१० कार्तिक २०८३, मंगलवार
अ
अ+
अ-

चन्द्रौटा  ।

दृष्टिविहीनहरूले अवसर पाएको अवस्थामा असम्भव कुरालाई पनि सम्भव बनाउन सक्छन् भन्ने हाम्रो समाजमा थुप्रै उदाहरण छन् । उनीहरूलाई त्यो अवसरको खाँचो छ, जसले उनीहरूमा आत्मविश्वास बढाउन सकोस् ।

रुपन्देहीको सैनामैना नगरपालिका–८, भड्छाका नाथुप्रसाद चौधरीलाई पनि त्यो आत्मविश्वास पैदा भएको छ । भन्छन्– म दृष्टिविहीन भए पनि नेतृत्व गर्न सक्छु । केही साताअघि बुटवलमा भएको महिला तथा युवाका लागि भावी नेतृत्व तथा कार्यकारी सशक्तीकरण फ्लीट तालिमले दृष्टिविहीन सहभागीलाई नेतृत्वप्रतिको बुझाइसँगै समुदायका सवाल उठाउन सक्ने आत्मविश्वास विकास गरेको छ ।

नाथु भन्छन्– तालिम पाएपछि आत्मविश्वास अझ बढेको छ, धेरै नयाँ ज्ञान र अनुभव हासिल गर्ने अवसर पाएँ ।

उनका अनुसार नेतृत्व भनेको अगाडि उभिएर बोल्नु मात्र रहेनछ, समुदायका मानिसका समस्या सुन्ने, समस्या पहिचान गर्ने र समाधानका लागि पहल गर्ने जिम्मेवारी पनि नेतृत्व रहेछ ।

दृष्टिविहीन भए पनि समुदायमा सक्रिय रहेका चौधरीले तालिमले आफ्नो क्षमता र नेतृत्व सम्बन्धी बुझाइलाई थप फराकिलो बनाएको बताए । उनका लागि यो अवसरले अपाङ्गता भएका व्यक्तिले पनि नेतृत्व गर्न सक्छन् भन्ने आत्मविश्वास मात्र दिएन, समुदायका सवाललाई थप प्रभावकारी ढङ्गले उठाउने बाटोसमेत देखाइदिएको नाथुले सुनाए ।

यस्तै सैनामैना–६ की सरिता विक तालिमले दृष्टिविहीन महिलाहरूमा आत्मविश्वास थपिएको बताउँछिन् । भन्छिन्– महिलाहरूले आफ्ना समस्या अरूले उठाइदिने प्रतीक्षा गर्नुभन्दा आफैँ आफ्ना सवाल पहिचान गरी सम्बन्धित निकायसम्म पु¥याउन सक्नुपर्छ ।

खास गरी दलित महिलाले भोगिरहेका समस्या धेरै भए पनि त्यसलाई व्यवस्थित रूपमा उठाउने र समाधानका लागि निरन्तर पैरवी गर्ने अभ्यास कमजोर भएको उनको भनाइ छ ।

अर्की सहभागी रेजीना कार्कीले युवाको नेतृत्व विकासका लागि अवसर सिर्जना हुनुपर्ने बताइन ।

युवामा क्षमता र नयाँ सोच भए पनि निर्णय प्रक्रियामा उनीहरूको सहभागिता पर्याप्त हुन नसकेको उनको अनुभव छ ।

उनी भन्छिन्– ‘युवालाई नेतृत्व गर्न अवसर दिनुपर्छ । अवसर पाए युवाले समुदायका धेरै समस्या नयाँ तरिकाले समाधान गर्न सक्छन् ।

सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजनामा सञ्चालित तालिम सेन्टर फर इन्टरनेशनल स्टडिज एण्ड कोअपरेसन ९सेसी० को आर्थिक सहयोग तथा प्रो–पब्लिकको प्राविधिक सहयोगमा बुटवलमा तीन दिनसम्म सञ्चालन भएको थियो ।

तालिममा स्थानीय २६ जना फ्लीट लिडरहरूको सहभागिता रहेको थियो । उनीहरूले नेतृत्वको अवधारणा, महिला नेतृत्व, सामूहिक तथा रूपान्तरणकारी नेतृत्व, लैङ्गिक समानता तथा समता, सामाजिक समावेशीकरण, मानव अधिकार, विभेद र सामाजिक पूर्वाग्रह लगायतका विषयमा सिकाई हासिल गरे । आफ्नै समुदायमा देखिएका समस्या, अवसर र चुनौतीलाई नेतृत्वसँग जोडेर छलफल गर्ने तथा समाधानका लागि पहल गर्ने अभ्याससमेत गरे ।

समाजमा रहेको विकृति, विसङ्गति हटाउने अभ्यासलाई निरन्तरता दिन सके फिलिट लिडरहरूले समुदायस्तरबाटै नयाँ नेतृत्व निर्माण सकिने विश्वास आर्जन भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?