© 2026
काठमान्डौँ ।
साउदी अरेबियाको सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
दूतावासले विशेष सूचना जारी गर्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन नेपाली नागरिकलाई अनुरोध गरेको हो ।
दूतावासले जारी गरेको पाँचबुँदे अनुरोधमा साउदी अरेबियाका आधिकारिक निकायबाट जारी हुने सुरक्षा निर्देशन पूर्ण रूपमा पालना गर्न भनिएको छ । विशेषगरी सुरक्षा सतर्कतासम्बन्धी चेतावनी जारी भएका बेला बाहिर ननिस्कन आग्रह गरिएको छ ।
त्यस्तै, सामाजिक सञ्जालको प्रयोगमा विशेष सावधानी अपनाउन पनि दूतावासले नेपाली नागरिकलाई सचेत गराएको छ । आधिकारिक निकायबाट पुष्टि नभएका समाचार, सूचना, फोटो तथा भिडियो अरूलाई नपठाउन र फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालमा पोस्ट वा सेयर नगर्न अनुरोध गरिएको छ ।
हवाई यात्रा गर्ने तयारीमा रहेका नेपाली नागरिकलाई पनि सावधानी अपनाउन दूतावासले आग्रह गरेको छ । साउदी अरेबियाबाट नेपाल वा अन्य देशको यात्रा गर्नुअघि आफ्नो उडानको निर्धारित समय परिवर्तन भए–नभएको सम्बन्धित वायुसेवा कम्पनी वा आधिकारिक स्रोतबाट यकिन गरेर मात्र विमानस्थल जान भनिएको छ ।
सुरक्षा अवस्था वा अन्य कुनै कारणले आवश्यक परेमा रियादस्थित नेपाली राजदूतावास वा जेद्दास्थित नेपाली महावाणिज्यदूतावासमा तत्काल सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।